राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, ०३ असोज । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । जनजागृती प्राथमिक विद्यालय मिर्चैया १ मठडाहीकुटीका एक शिक्षकले घरमै वसिवसि तलव खाने गरेको पाईएको छ । तीन कक्षा सम्म पढाई हुने सो विद्यालयका एक मात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डलले विद्यालयमा उपस्थित नभएपनि शिक्षा कार्यालयबाट नियमित रुपमा तलव खाने गरेको खुलासा भएको छ । मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको विद्यालयका अध्यक्ष समेत रहेका बुलन मण्डलले गुनासो गरे । शिक्षक मण्डल गाउँकै भएकोले राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको अध्यक्ष मण्डलले बताए । नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । तीन वटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी रहेको भएपनि १२÷१५ जना विद्यार्थी मात्र नियमित आउने गरेका ठाकुरले बताए । शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाई दिन जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएकोले स्थानीयहरु आक्रोश व्यक्त गरे । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा यहाँ पनि गुनासो आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको प्रतिक्रया दिए । दलित वस्तिको मध्य भागमा रहेको उत्तः विद्यालयमा अध्यनरत विद्यार्थीहरु दलित मात्र रहेको बताइएको छ ।
परिचर ठाकुर पुजा गराउनमा व्यस्त ।
सिरहा संचारकर्मीहरुको एक टोलीले विद्यालयमा पुगेपछि विद्यालय खाली रहेको थियो । परिचर ठाकुर विद्यालय नजिकैको एक घरमा भगवानको पुजा गराउँनमा व्यस्त रहेका थिए । हिलो र पानी भरिएको विद्यालयको प्रङ्गणमा भने भैंसी चरिरहेको थियो । यति मात्र कहाँ हो र विद्यालमया पढाई नभएपछि विद्यार्थीहरुले माछा मार्न कोदालो वोकेर हिडेका थिए ।
भौतिक भूर्वाधार निर्माणको रकम झ्वाम
विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइएको छ । कक्षा कोठा निर्माणको लागि आव ०६५÷६६ र ६६÷६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणको लागि एक लाख ५० हजार दिएको भएपछि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ । जिल्ला शिक्षा कार्याल सिरहाका भौतिक योजना प्रमुख यन्जिनियर दिनेश कुमार यादवले काम सम्पन्न गरी फरछ्यौट गर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कुनै वास्ता नगरेको बताए । कक्षा कोठाकोलागि जग बनाई फलामे पाइप ठड्याएर पाँच बर्षदेखि अरु काम नगरेको बताइएको छ । खाली फलामे पाइममात्र ठड्याएका कारण पाइमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताउनु भयो ।
दलित छात्रवृतिमा अनियमितता ।
राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले गुनासो गरेका छन् । यता, शिक्षक मण्डलले आफ्नो बिद्यालयमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको प्रतिक्रया दिए । शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई दिएको उनले दाबी गरे । यता शिक्षा कार्यालयको रेकर्डमा आव ०७२÷७३ मा ५१ जना विद्यार्थीको लागि छात्रवृति वापत २० हजार चार सय र पाठ्यपुस्तक बापत सात हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।





