सीके राउतलाई थप २० दिन थुनामा राखन आदेश
Advertise Here Book Now

फिरोज शेख लहान , २०७३ फागुन २२ - सिरहा जिल्ला अदालतले आइतबार चौथो पटक सीके राउतलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका राउतले मुलुक विखण्डन गर्ने गरी स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा पक्राउ परेका हुन्। राउतविरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दा लगाइएको छ। धनुषाधाम जनकपुर माछाबजारमा रहेको डेरा बाट प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान मार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको राउतलाई अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो। प्रहरीलाई राउत विरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते १० दिन म्याद थपेको थियो। चौथो पटक आइतबार २० दिनको लागि म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिएका छन्। राउतलाई पक्राउ गरी मुद्दा चलाएपछि रिहाईको माग गर्दै प्रदर्शन गर्नेहरुमध्ये सिरहा र लहानबाट पक्राउ गरिएका ८ जना विरुद्ध पनि प्रहरीले राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। मधेश केन्द्रित दलहरुले हरेक वर्ष मनाउने बलिदानी दिवसको अवसरमा गत माघ ५ गते लहानमा र्‍याली र कोणसभामा राउतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आधारमा धनुषा प्रहरीको सहकार्यमा माघ २० गते जनकपुरबाट पक्राउ गरी सिरहामा ल्याएर राउत माथि मुद्दा चलाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्