लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ
Advertise Here Book Now

लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका र एक युवाको गहिरो चोट लागेको छ । उता बन्दको क्रममा १३ आन्दोलकारीलाई नियन्त्रणमा लिएका थिए । मधेश र मधेशीको विरोधमा क्रियाकलाप गर्दै आएका एमाले सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय कार्यालय लहानमा आन्दोलनकारीहरुले तोडफोड गरी आगजनी गरिएको छ । घोषित बन्दको कार्यक्रमलाई निरन्तरन्ता दिंदै बन्दको अवज्ञा गरेको भन्दै लहान स्थित रहेको एमालेको पार्टी कार्यालयको टेबुललगायतको फर्निचरमा आगजानी गरी क्षति पुरयाएको हो । बन्दलाई प्रभावकारी बनाउंनको निम्ति आन्दोलनकारीले हजारौंको संख्यामा र्याली प्रदर्शन गरेका छन् । प्रदर्शन अगाडि सडक अबरुद्ध गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लहानले सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजु), आन्दोलनका स्थानीय संयोजक कृष्णबहादुर यादव, संघीय समाजवादी फोरमका बैद्यनाथ साह, प्रयाग यादव, सत्यनारायण यादव, तमसपाका मनोज यादव, तमलोपाका रोशनकुमार यादव, दिनेश यादव, आलोककुमार यादव, गुलाब राईन, विजय यादव, दिलिप यादवलगायत १३ जनालाई नियन्त्रणमा लिएका थिए । आन्दोलनकारीको दवावपछि सांझ ६ः३० बजे उनीहरुलाई रिहा गरिएको छ । आन्दोलनलाई कडा पार्न निकालिएको जुलुश कोणसभामा परिनत हुनेक्रममा एमाले आवद्ध फलफूल पसलका व्यापारीले आन्दोलनकारीलाई गालीगलौज गरेका थिए । यसको प्रतिकार गर्नेक्रममा स्थानीय फलफूल पसलेले आन्दोलनकारी इटहर्वा निवासी हरेराम यादवलाई मुखमा ढुंगाले हिर्काउंदा ८ वटा टांका लागेको थियो । घाईते यादवलाई सद्भावना पार्टीका रोशन सिंहले हषिका पोलीक्लिनिक एण्ड डाईग्नोशिश सेन्टरमार्फत निःशुल्क उपचार गराएका छन् । आक्रोशित आन्दोलनकारीले फलफुल पसल तोडफोड गरेको छ । फलफूल पसलले बाटो अत्तिक्रमण गरि पसल संचालन गर्दै आएका छन् । सोहीक्रममा केही व्यक्ति मालपोत कार्यालय लहानमा ढुंगामुडा गरिएको छ । आन्दोलनकारीले जुलुस प्रदर्शन पश्चात एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको छ । अनाहकमा दूई बालिकामाथी प्रहरीको प्रहार
बन्दलाई कडा पार्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लहानले ठाउं ठाउंमा टायर बालेर सडक अबरुद्ध गरेको छ भने दूई बालिकालाई प्रहरीले अनाहकमा कुटपिट गरी घाईते बनाएका छन् । सांझ ६ः४५ बजेतीर लहान ३ कुशवाहा चौकमा स्थानीय महेश कुशवाहाका पांच र आठ बर्षीया प्रिया र प्रितिलाई रक्सी सेवन गरेका प्रहरीले कुटपिट गरी घाईते बनाएका छन् । विस्कुट र चक्लेट किन्न सडक पारी पसलमा गइरहेकी प्रिया कुशवाहालाई प्रहरीले लठीले हिर्काउंदा उनकी दायां हात भांचिएको छ । उपचारको लागि दुवै बालिकालाई लहान अस्पताल लगिएको छ । सिरहाका युवाहरुले माग गरे गृहमन्त्रीको राजिनामा
संयुक्त मधेशी यूवा विद्यार्थीको मोर्चाले सप्तरी घटनाको घोर विरोध गर्दै गृहमन्त्री विमलेन्द्र निधीको राजिनामा माग गरेका छन् । विद्यार्थी मोर्चाले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै सप्तरीको घटना गृहमन्त्रीको निर्देशनमा भएको भन्दै पदबाट राजिनामा दिन माग गरेका हुन् । मधेशलाई लक्षित गरी मेची–महाकाली अभियानको नाममा एमालेले सप्तरीमा नरसंघार गराएको र मधेशी मोर्चाको कार्यकर्तामाथि गोलि चलाउन सप्तरीका सिडियो उद्धव तिमिलसेनाले आदेश दिएको भन्दै विद्यार्थी मोर्चाले सिडियो सहित एसपी दिनेश लोहनी र सशस्त्र प्रहरीका एसपीलाई पदबाट बर्खास्त गर्न समेत माग गरेको छ । विज्ञप्ती प्रकाशित गर्नेहरुमा युवा मंच सिरहाका अध्यक्ष विरेन्द्र यादव विरु, समाजवादी यूवा फोरमका केन्द्रिय कोषाध्यक्ष संजिव यादव, तराई मधेश यूवा फ्रन्टका सिरहा जिल्ला अध्यक्ष सूर्य कान्त यादव, समाजवादी विद्यार्थी फोरमका इन्चार्ज दिनेश यादव, तराई मधेश विद्यार्थी फ्रन्टका चन्द्र शेखर सिंह, लोकतान्त्रिक यूवा फोरमका मनोज यादव र समाजवादी यूवा फोरमका बिरेन्द्र यादव रहेका छन् । जारी विज्ञप्तीमा मधेश र मधेशी विरोध गतिविधी गरिरहेका एमाले अध्यक्ष केपी ओलीलाई समेत कडा कारवाहीको माग गरेको छ भने आन्दोलनलाई निरन्तरन्ता दिन सम्पूर्ण मुक्तिकामी मधेशी जनतालाई आव्हान गरिएको छ । एमाले समर्थकलाई समाजिक बहिष्कारको चेतावनी मधेसी मोर्चा सप्तरीले एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ । मंगलबार सदरमुकाम राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरुको उपचार व्यवस्था गर्न माग गरेको छ । सोमबारको घटनाको विरोधमा मोर्चाले सप्तरीमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । मोर्चाले एमालेका समर्थकहरुलाई जिल्लामा सामाजिक बहिष्कार गर्ने समेत निर्णय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारलाई सात दिनको अल्टिमेटम प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा केही लचिलो बनेको छ । र, समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने नयाँ निर्णय फेरिएको छ । मोर्चाको सोमबार साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो । र, सभामुखलाई लिखित औपचारिक जानकारी तयारी स्वरुप मंगलबार ३ बजे बैठक राखिएको थियो । नेपाल बन्दसहित आन्दोलन कार्यक्रम
संघीय गठवन्धनले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । उसले २६ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ । गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीन वटै सुरक्षा प्रमुखलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे सोधपुछ गरेका छन् । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसँग गृहमन्त्री निधीले छलफल गरेका हुन् । करिब सवा घण्टा छलफलमा उपप्रधान एवं गृहमन्त्री आक्रोशित मुद्रामा थिए । गृहमन्त्रीले प्रश्न गरे, ‘तपाईँहरु सबै तालिम गरेको भन्नुहुन्छ, आन्दोलनकारीको टाउको र छातीमा मात्रै कसरी गोली लाग्यो ?’जवाफमा सशस्त्रका आईजीपी र नेपाल प्रहरीका निमित्त प्रमुखले स्थानीय प्रशासनको ऐनमा बसेर नै सोमबार गोली चलाउनु परेको जवाफ दिएका थिए । गृहमन्त्री निधिले सोधे, ‘परिस्थिति त्यस्तै परेको भए कम्मर मुनी गोली हान्न सकिँदैनथ्यो ?’ कहिलेकाँही परिस्थितिले तत्काल गोली चलाउनु पर्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले त्यति बेला गोली जतासुकै लाग्न सक्ने जवाफ दिएका छन् । स्थानीय प्रशासन ऐनले आन्दोलन र भीड नियन्त्रण बाहिर गएमा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई गोली चलाउन आदेश दिन सक्ने अधिकार दिएको छ । र, गोली हान्नैपरेमा कम्मरभन्दा मुनिमात्रै गोली चलाउन पाइन्छ । ‘हिजो परिस्थिति पनि नियन्त्रण बाहिर गएपछि घटना भयो,’ सुरक्षा प्रमुखहरुले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । गृह मन्त्रालयका प्रवक्ता गोविन्द पन्थीले पनि सुरक्षा निकायबाट परिस्थिति अनुसार गोली चलाउनु पर्ने अवस्था आएको जवाफ दिएको बताए । उनले भने, ‘तत्कालिन स्थितिमा परिस्थितिले नै गोली चलाउनु पर्ने अवस्था आएको सुरक्षा निकायले जवाफ छ । सप्तरीका सिडियो र एसपीलाई कारवाही गर्ने सरकारले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवकुमार तिमल्सिना र प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई कारबाही गर्ने भएको छ । स्रोतका अुनसार आजै साँझ बस्ने मन्त्रिपरिषद बैकठले उनीहरुलाई निलम्बनको कारबाही गर्ने तयारी गरेको हो । एमाले मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा मधेसी मोर्चा समर्थक चार जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरीका निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई गोली नचलाउंन निर्देशन दिँदादिँदै घटना भएको थियो । केन्द्रको आदेशविपरीत मोर्चा कार्यकर्तामाथि गोली चलाएको भन्दै तिमल्सिना र लोहनीमाथि कारबाही गर्न लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । मधेसी मोर्चाले समेत गैरकानुनी हत्यामा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्