सिरहा– जिल्ला भन्सार कार्यालय सिरहाको गस्ति टोलिले २० लाख मूल्य बराबरको लत्ता कपडा बोकेको गरको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर नेपालतर्फ ल्याइरहेको स. १ च १२८३ नम्वरको पिकप भ्यान, त्यसका चालक, गाडीमै रहेका अर्का एकजनालाई भन्सार कर्मचारीले सोमबार राती १ बजे सिरहा नपा २ छोटकीटोलबाट नियन्त्रणमा लिएको हो । सामान बरामद गरेको स्थानभन्दा करिव पाँच सय मिटरको दुरीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रहेको छ ।
भन्सार कार्यालयले सामानको मूल्याङ्कन कार्य गरिरहेका भएपनि २२ वटा पोकामा करिव २० लाख मूल्य बरावरको साडी, कर्ता सुरवाल, साना नानीहरुले लगाउने कपडा रहेको जनाएको छ । पक्राउ पर्नेमा गोलबजार २ का सवारी चालक रामपुकार साह र अर्का रौतहट, सोहर्नीया ३ का महेन्द्र साह रहेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार छलेर धेरै सामग्री नेपाल भित्रिने गरेको सूचना पाएपछि आफूहरुले गस्ति सुरु गरेको जिल्ला भन्सार कार्यालय सिरहाका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए । गस्ति शुरु भएदेखिकै सवैभन्दा ठूलो परिमाणमा सामान बरामद गरेको उनले बताए ।
जिल्ला भन्सार कार्यालयमा आर्थिक वर्ष सुरु भएपछि लक्ष्यअनुसार साउन महिनामा ६२ प्रतिशत र भदौ महिनामा ५६ प्रतिशतमात्र भन्सार असुली भएको जनाएको छ ।