सिरहामा मध्यान्हसम्म ठूला दलका एउटै उम्मेदवारी परेन
Advertise Here Book Now

सिरहा,कात्तिक १६ गते : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आज सिरहामा पनि मनोनयनपत्र दर्ता सुरु भएको छ । सिरहा सदरमुकामस्थित चन्द्र मावि परिसरमा खडा गरिएको निर्वाचन कार्यालयमा मनोनयन दर्ता सुरु भएको हो ।


बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ । तर मध्यान्ह १२ बजेसम्म दुई उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार मध्यान्ह १२ बजेसम्म क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट पलासदेवी यादब स्वतन्त्र र रामभवन कापर नेपाल समाजवादी पार्टी (लोहियाबादी)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार कसलाई बनाउनेबारे टुंगो नलागेकाले काँग्रेसको उम्मेदवारी दर्ता साँझसम्म हुने अनुमान गरिएको छ । बाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रलाई उम्मेदवारी दर्ता गर्न दिउँसो २ बजेको समय तोकिएको छ । २ बजे अगाडि नै राजपा र संघीय समाजवादी फोरमको समय तोकिएपनि अहिलेसम्म कोही उम्मेदवार उम्मेदवारी दिन आएका छैन् ।

विगतको निर्वाचनमा मनोनयन दर्ताको दिन उल्लेख्य भिड देखा पर्ने गरेपनि आजको मनोनयन दर्ता कार्यक्रममा सिरहा सदरमुकाममा खासै चहलपहल तथा भिड देखा परेको छैन । मनोनयनपत्र दर्ता गराउने स्थलमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार कुल ३ लाख ४४ हजार ३७० मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र रहेको थियो । तर मतदाता संख्या बढेपछि ५ मतदान केन्द्र थप गरेर यो निर्वाचनका लागि कुल ४३६ मतदान केन्द्र तोकिएको छ । source:AP

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्