प्रदेशसभाको पोशाक : दौरासुरुवाल, सुटपाइन्ट र साडीचोलो
Advertise Here Book Now

पोखरा २१ माघ । प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ ।

प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन शुरु गरिसकिएको छ ।
बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकमा सहभागी हुन प्रदेश नं ४ अन्तर्गतका जिल्लाबाट कतिपय प्रदेशसभा सदस्य पोखरा आइसकेका छन् भने कतिपय आउने क्रममा छन् ।
प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन् । सोमबारको बैठकको प्रक्रियालगायत विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक सम्पन्न भएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए । सर्वदलीय बैठकले प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गर्नाका साथै पोशाकलगायत विषयमा सहमति कायम गरेको बताइएको छ ।
ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट पाइन्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ । लगभग एक घण्टा १५ मिनेट समयावधि अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्परानुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्ति रहेको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सर्वदलीय सहमति गरिएको सहसचिव बुढाथोकीले जानकारी दिए

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्