प्रदेश २ मा प्रदेशसभा बैठकको तयारी पूरा
Advertise Here Book Now

जनकपुरधाम, २० माघ- प्रदेश २ को प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् । जनकपुरको विगतमा शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेशसभाको भवन बनाइएको छ ।
जनकपुरको शैक्षिक तालिम केन्द्रको दोस्रो तलामा सभामुख र पहिलो तलामा उपसभामुखको निवास बनाइएको छ । दुवैको कार्यालय भुइँतलामा छ । मुख्यमन्त्री, मन्त्रीहरुको कार्यालय र निवासका लागि जनकपुर चुरोट कारखाना (जचुकालि)का भवन धमाधम व्यवस्थापन हुँदैछन् ।
जचुकालिको ३३ बिघा जग्गामध्ये २५ बिघा उद्योग मन्त्रालयले गृह मन्त्रलायलाई प्रदेश सरकारको संरचनाका लागि दिएको छ । त्यहाँ पहिले नै निर्माण भएका भवनमा कार्यपालिका लागि छुट्याइएको छ । शहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर गंगाप्रसाद यादवका अनुसार मुख्यमन्त्रीको अवासका लागि जचुकालिको गेष्ट हाउस मर्मतसम्भार भइरहेको छ ।
जचुकालिकै क्षेत्रीय बिक्री–वितरण केन्द्रको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउन लागिएको छ । भवनमा अहिले रङरोगनको कार्य भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिए । यादवका अनुसार प्रदेश सरकारको मन्त्रीको अवासका लागि जचुकालिका निर्देशक बस्ने १३ वटा क्वार्टरको मर्मतसम्भार भइरहेको छ ।
प्रदेश प्रमुखको आवास जचुकालिका महाप्रबन्धक बस्ने अवासलाई तोकिएको छ ।त्यसैगरी, मुख्यसचिव, सचिव र कर्मचारीहरूको आवास जनकपुर चुरोट कारखानाका विभिन्नस्तरका क्वार्टर भवनमा व्यवस्था गरिँदै छ । अहिले भवनहरूको मर्मतसम्भार, लाइट तथा रङरोगनको काम भइरहेको यादवले बताए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आह्वान गरेको प्रदेशसभा अधिवेशन माघ २१ गतेदेखि शुरु हुँदैछ ।
पहिलो बैठकका लागि अन्तरिम कार्यविधि, सभामुखको निर्वाचन मिति घोषणा लगायतका कार्यसूची तय भएका छन् । सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीका अतिरिक्त सदस्यहरूको ड्रेसकोड निर्धारण, परिचयपत्र तथा लोगो, सभाकक्षमा सिट निर्धारण, दर्शक तथा विशेष पास, ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानल निर्माण, कार्यव्यवस्था परामर्श समिति गठन लगायतका विषयमा छलफल भएको छ ।
बैठकले संघीय संसद् सचिवालयले पठाएका सहसचिव वंशीराज पौडेललाई तत्काल प्रदेश सचिवालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको छ । 
ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानलमा सभामा प्रतिनिधित्व गर्ने सबै दल र एकजना स्वतन्त्र सांसदलाई समेत सहभागी गराई ७ सदस्यीय बनाउने समझदारी भएको छ । १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाउन पनि दलहरू सहमत भएका छन् ।
संसदीय अभ्यासमा बैठक सञ्चालनमा सभामुखलाई सहयोग गर्न यस्तो समिति बनाइन्छ । सभाका सदस्यहरूले आफूमध्येबाट एकजना सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्छन् । प्रदेशसभाको सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुखको निर्वाचनपछि मात्रै उपसभामुख निर्वाचनको मिति घोषणा हुनेछ ।
यस्तो छ 'ड्रेस कोड'
बैठकले सभामुख, उपसभामुख तथा प्रदेश सभा सदस्यले आ–आफ्नो सांस्कृतिक पहिचान दर्शाउने गरी पोशाक लगाउने र साथमा कफी (खैरो) रङको कोट वा बन्डी लगाउनुपर्ने अनिवार्य व्यवस्था भएको छ । प्रदेशसभामा खटिने मर्यादापालकले सरकारले निर्धारण गरेको नीलो रङको कोट र पाइन्ट तथा सेतो रङको सर्ट लगाउनुपर्ने निर्णय भएको पनि सचिव पौडेलले जानकारी दिए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बिहीबार सम्पन्न सर्वदलीय बैठकले कफी रंगको कोटलाई ‘ड्रेसकोड’ तोक्ने निर्णय गरेको हो । प्रदेशसभा बैठक व्यवस्थापनमा खटिने मर्यादापालकहरू भने सफारी सुटमा देखिनेछन् । सांसदहरूको लोगोमा जानकी मन्दिरसँगै मधेसको खेतबारी झल्किने तस्बिर राखिने भएको छ ।
प्रदेश सांसदहरूले प्रयोग गर्ने लोगो पछि निर्धारण गरिनेछ । तर, बैठकमा फोरमका प्रदेशसभा सदस्य रामआशिष यादवले माथि जानकी मन्दिर, तल हरियो फाँट र किसानको फोटो झल्किने गरी लोगो तयार गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका तीनरतीन जना सांसद सहभागी थिए । ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सहसचिव वंशीराज पौडेलसहितका प्रदेश प्रमुख कार्यालयका अन्य कर्मचारीहरू पनि सहभागी थिए । बैठकमा प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ को मस्यौदामा समेत छलफलभएको थियो ।
प्रदेश संसद् सञ्चालन हुने शैक्षिक तालिम केन्द्रको सभाकक्ष सानो भएकाले प्रवेश पास प्राप्त सर्वसाधारणका लागि केन्द्र परिसरमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइने तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईंले बताए ।
प्रदेश सभा सञ्चालनका लागि सभामुखको निर्वाचन नभएसम्म पाँच सदस्यीय अध्यक्षमण्डल गठन गर्नुपर्ने हुनाले त्यसका लागि पाँच दलबाट एक–एकजनाको नाम मागिएको छ । बैठकमा उपस्थित प्रदेश सांसदहरूलाई प्रदेश सभामा कसरी बस्ने, कसरी आफ्ना भनाइ राख्ने विषयमा समेत प्रशिक्षण दिइएको पौडेलले बताए । बैठकमा उपस्थित सांसदहरूले पार्टीका अन्य सांसदहरूलाई सो विषयमा जानकारी गराउनेसमेत निर्णय भएको उनले बताए ।
प्रदेश सभाको पहिलो रोमा बढी सिट ल्याउने पार्टी, दोस्रो रोमा दोस्रो हुने पार्टीका सासदहरूले बस्ने निर्णय भएको छ ।
प्रदेश सभाको पहिलो बैठकको १५ दिनभित्र प्रदेश सभामुख छनोट गर्नुपर्ने प्रावधान रहेको छ । त्यसका लागि १३ सदस्यीय कार्य–व्यवस्था परामर्श समिति र प्रदेश सभा सञ्चालनसम्बन्धी नियमावली मस्यौदा समिति गठन गर्ने विषयमा समेत बैठकमा छलफल भएको सचिव पौडेलले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्