संरक्षणको पर्खाइमा पौराणिक 'कमलदह
Advertise Here Book Now



बिनय यादव, सिरहा, २१ माघ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरा, सुदरपुर र ननुवाको बिचमा अबस्थित पौराणिक एवम् ऐतिहासिक महत्त्व बोकेको कमलदह संरक्षणको पर्खाइमा रहेको छ ।
दहको उचित संरक्षण र व्यवस्थापन नहुँदा हाल कमलदहमा माछा पालन र पशु चौपाया एवम् चरण क्षेत्रको मात्र रजाई हुन थालेको छ । छाडा रुपमा छोडिएका पशु चौपायाकालागि दिनहुँ पानी पिउने स्थल र माछा पालन क्षेत्र बन्न थालेपछि कुनैबेला आँखाको नयन जस्तै देखिने कमलदहको पानी समेत धमिलो बन्ने गरेको छ ।
अति लोपोन्मुख तथा महत्वपुर्ण कमल फूलको नामले परिचित कमलदहलाई नेपालकै धार्मिक स्थलहरु मध्ये एक प्रसिद्ध धार्मिक स्थलको रुपमा लिने गरिन्छ । पौराणिक कथन अनुसार कमलदहको कञ्चनजल र पानी माथि तैरिएका पुरनका पात र कमलका फुलहरुले मोहनी लगाउने भएकै कारण यस ताललाई कमलको दह अर्थात 'कमलदह' भनिएको पाइन्छ ।
झण्डै करिब १२ बिघा क्षेत्रफल ओगटेको कमलदहमा दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । यस दहमा प्रत्येक नयाँ, चाडपर्व तथा विदाको बेला घुमफिर तथा पिक्निक मनाउनेहरुको घुइँचो लाग्नुको साथै प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन भक्तजनको निकै ठूलो भीड र सो दिनदेखि तिन दिनसम्म ऐतिहासिक ठुठिया मेला लाग्ने गरिन्छ । हेर्न आउने प्रायजसो पर्यटकहरुले कमलको जरा र फलहरु लग्ने गर्दछन् । खासगरेर कमलको जरा र फलको सेवन गर्नाले जन्डिस तथा अन्य रोगहरु पनि निको हुने विश्वास गरिन्छ । तर, पछिल्लो समय कमलदहको उचित संरक्षण तथा प्रबर्द्धनमा सम्बन्धित निकायले ध्यान नदिँदा यो पौराणिक दह पशु चौपायाको क्षेत्र र माछा पालनको रूपमा प्रयोग हुन थालेपछि बिस्तारै पुरनका पात र कमलका फुल लोप हुन थालेका छन् ।
संरक्षणको पर्खाइमा रहेको पर्यटकहरुलाई आकर्षित गर्नसक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहलाई अब आधुनिक तरिकाले भौतिक पुर्वाधारको निर्माण गरि चौतर्फी विकास र सबल व्यवस्थापन गर्न सकेमा धार्मिक पर्यटकीय स्थल तथा उपयुक्त हुने कमलदहका महन्थ राजदेव राउतले बताउँछन् । स्थानीय बासिन्दाहरुले पनि तालको संरक्षणका लागी सबै सरोकारवालाले चासो दिनुपर्ने बताए । उनीहरूले स्थानीयहरु पनि उत्तिकै लाग्नुपर्नेमा जोड दिए ।
आन्तरिक तथा बाह्य पर्यटनका लागि कमलदहको संरक्षण र विकासका लागि विभिन्न निकायले पटक-पटक थुप्रै अभ्यासहरु संचालन नगरेका होईनन् । ती सबै अभ्यासहरु कमलदहको पानीमाथी तैरिदै पशु चौपायका लागि पानी पिउने स्थल र माछा पालन क्षेत्रमा परिणत हुन पुगे । तर, अबको मिर्चैया नगरपालिकाले भने कमलदहलाई पर्यटकीय स्थल बनाउन भौतिक पुर्वाधारको निर्माण गरि व्यवस्थितगर्ने योजना अघि सारेको छ ।
कमलदह त एउटा ज्वलन्त उदाहरण मात्र हो । प्रदेश नं. २ मा रहेका थुप्रै तालतलैया र ऐतिहासिक मान्यता बोकेका पर्यटकिय स्थलहरुको संरक्षणमा भने कुनै उल्लेख्य प्रगति हुन सकेको छैन । यदि यी सम्पदाहरुको उचित व्यवस्थापन र संरक्षण गर्दै उपयोग गर्न सक्ने हो भने सबैभन्दा धेरै नागरिक गरिब रहेको प्रदेश नम्बर २ केही वर्षभित्रै समृद्ध बन्न सक्नेछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्