तराईका आठ जिल्लाको शैक्षिक सूचकांक सबैभन्दा कम : शिक्षा मन्त्री यादव
Advertise Here Book Now
आइतवार राजविराजमा सघन साक्षर सप्तरी अभियान–२०७१ अभिमुखिकरण कार्यक्रम उद्घाटनका अवसरमा बोल्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् । विद्यालय प्रशासन र व्यवस्थापन समिति बीच तालमेल नभएका कारण त्यसको प्रत्यक्ष प्रभाव विद्यालयको शैक्षिक वातावरणमा परेको भन्दै मन्त्री यादवले यसप्रति ध्यान पुर्याउन समेत आग्रह गरिन् ।
सबैका लागि शिक्षा अन्तर्गत सन २०१५ भित्र सबैलाई साक्षर बनाउने नीति आएको कारण सबैले मिलेर यसलाई सघाउनुपर्ने मन्त्री यादवको भनाई छ । शैक्षिक क्षेत्रमा हुने गरेका अनियमितता र कमी कमजोरीले जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकांश कर्मचारी यसअघि अख्तियारमा तारेख लिँदै गरेको अवस्थाले जिल्लाको शैक्षिक क्षेत्र प्रभावित भएको भनि आफूले समेत जानकारी पाएको स्पष्ट पार्दै उनले अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिईन् ।
तराईमा गरीब समेतको पहुँच पुग्ने गरी स्तरीय नमूना आवासिय विद्यालय बनाउने सोच रहेको जानकारी दिँदै मन्त्री यादवले त्यसो भएमा तराईको शैक्षिक स्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । वर्तमान संविधानसभाबाटै सहमतिको संविधान आउनेमा आफू विशवस्त रहेको भन्दै काँग्रेस कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले यसका लागि सबै दलहरु जिम्मेवारी बोध गरेर लाग्नुको विकल्प नरहेको दावी गरिन् ।
सोही कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले सप्तरी जिल्लामा अझैं एक लाख २ हजार व्यक्ति निरक्षर रहेको तथ्यांक प्रस्तुुत गर्दै त्यसैलाई मध्यनजर गरी सघन साक्षर अभियान सञ्चालन गरिएको स्पष्ट पारे । केन्द्रका उप–निर्देशक प्रेम भट्टराईले १५ देखि ६० वर्षका निरक्षर समुदाय, विद्यालय बाहिरका बालबालिका, ड्रपआउट भएका युवा, किशोर, किशोरी लक्षित गरेर कार्यक्रम सञ्चालन भएको बताए ।
स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश कुमार खतिवडा, नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष फूलेश्वर कुमार मण्डलले पनि मन्तव्य व्यक्त गरेका थिए ।