जनकपुर पुगेर निशा अधिकारीले सिके राउतलाई भेटिन
Advertise Here Book Now



काठमाडौं—नायिका निशा अधिकारीले जनकपुर पुगेर स्वतन्त्र देशको वकालत गरिरहेका सिके राउतलाई भेटेकी छिन् । १४ असारमा उनले सिके राउतलाई भेट्नुका साथै एक पत्र समेत थमाएर फर्किएकी छिन् ।

निशाले आखिर देश टुक्राउने भाषण दिदैं हिड्ने सिकेलाई किन भेटिन त ? उनले सिकेलाई थमाएको पत्रमा के लेखिएको छ ? निशाले आफूले सिके राउतलाई भेटेर मेलमिलाप र समझदारीमा आउन आग्रह गरेको बताइन् ।

सिंहदरबारका पर्खालका सेतो भित्तामा रातो रंग छ्यापेर चर्चामा आएका इशान र नायक कर्मा सहित जनकपुर पुगेकी निशाले राउतलाई समझदारी र एकताका लागि आग्रह मात्र गरिनन्, राष्ट्रिय भावका साथ लेखिएको एक भावुक पत्र पनि उनलाई थमाउन भ्याइन् ।

क्षमा अभियान नाममा सिके राउतलाई थमाइएको पत्रमा निशा अधिकारी, कर्मा र इशानले हस्ताक्षर समेत गरेका छन् । पत्रमा मधेशमा राज्य र समाजको तर्फबाट भएका विभेदका लागि क्षमा याचना गर्दै त्यो ब्यवहारिक परिवर्तनसहितको क्षमायाचना नै राष्ट्रिय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्ने उल्लेख छ ।


निशाले बुझाएको पत्र-



दाज्यू चन्द्रकान्तजी, 

सहानुभूति, करूणा र भाइचाराको सन्देश लिई आज हामी स्वदेशको अस्तित्वबारे चिन्तित काठमाडौंवासी युवा तपाई सामु आएका छौं । हाम्रो बुझाइमा स्वदेश भनेको भूगोलमात्र नभई भावना हो । हाम्रो वरीपरीको सम्पूर्ण वातावरण हो । दुई मित्र भेट्दाको हर्ष स्वदेश हो । हिड्दा हिडदैं साटिएको हाँसो स्वेदश हो । प्रकृतिका अनेक सुन्दर ध्वनी तथा हिमाल डाडा र फाँटका रमणीय संगठनबीच शान्तिको प्रत्याभूति स्वदेश हो । एक अर्काबीच रहेको विश्वास, भाइचार र प्रेम स्वदेश हो ।

आज सद्भाव र एकता संकटमा परेको अवस्था छ । त्यसैले नै हामी अत्यन्तै चिन्तित छों । हिजो हामीले कहाँ थियौं ? र भोलि हामी कहाँ जाँदैंछौं । स्थापनाकालदेखि सिंहदरबारको वास्तविक प्रवृति र नीति—दमन, हिंसा, दम्भ र विभेदले स्वदेशलाई कहाँ लग्दैंछ ? स्वेदश बचाउन हामीले के गर्दैछौं ? आम मधेशी दाजुभाई दिदीबहिनीले आफ्नो देशमा खेपिरहेको ब्यवहारिक, सामाजिक र राजनीतिक विभेदकै कारण स्वदेश दिनानुदिन कमजोर बन्दैं गएको छ । लाखौं निराश जनताको मनमा सन्देश पैदा भएको छ—के नेपाल राष्ट्रमा हाम्रो भविष्य छ ? यस यथार्थलार्इ नजरअन्दाज गर्नु र दमन हिंसाबाट समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु गलत हो । त्यसैले दुःख लाग्दो परिस्थिति सिर्जना र निष्कर्षहीनतालाई निरन्तरता दिनेछ । मधेश आन्दोलनलगायत यस युगमा भएका अनेक संघर्ष साक्षी छन् । हिंसाले प्रतिहिंसा जन्माउँछ । दम्भले दम्भ । तर सहानुभूतिले विश्वास र प्रेम सम्मानले समाधान ।

दाज्यु, आज तपाईं त्यस नैराश्ष्य र यथास्थितीबाट उन्मुक्तिको चाहनाको प्रतीक बन्नु भएको छ । हाम्रो समाजमा तपाईंले झेल्नुपरेका विभेद अन्यायबारे पढ्दा हामी लज्जित भयौं । त्यस्तो विभेद कसैमाथि नहोस भनी आफ्नो ठाउँबाट सक्दो पहल गर्दागर्दै पनि त्यो अपर्याप्त भइरहेको छ । त्यसैले हामी तपाई समक्ष क्षमा माग्न आएका हौं । हामी हाम्रो समाज र सरकारबाट तपाईं र बृहतर मधेश समुदायमाथि जान अन्जान ढंगले गरिएका विभेदका लागि क्षमा याचना गर्न चाहन्छौं । हाम्रो विश्वास छ कि ब्यवहारिक परिवर्तनसहितको क्षमायाचनाबाट नै राष्ट्रिय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ ।

दाज्यु, तपाईंजस्ता विद्धत र अविचलित नेता नेपालमा कमै छन् । त्यसैले तपाईं समक्ष हामी एउटा विनम्र आग्रह राख्न चाहन्छौं । स्वदेश बनाउने जिम्मेदावरी हामी सबैको काँधमा आएको छ । स्वदेश बचाउन अहिंसाको मार्गमा दृढ रहौं, तपाई अघि सर्नुहोस । गलत नीति र प्रवृतिका कारण नेपाल राष्ट्रमा अपनत्व पाउन एवं विश्वास गर्न नसकेका लाखौं जनले तपाईंमा आशाको किरण देखेका छन् । हामी मधेशी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान पहुँच नभएका खस आर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायतलाई ब्यवहारिक सामाजिक र राजनीतिक रुपले सम्मान दिलाउने प्रयास गर्न प्रतिवद्ध छौं । त्यसका लागि हरसम्भव प्रयत्न गर्न तत्पर छौं । सबल र शान्त स्वदेशमै मधेशी पहाडी, हिमाली—सबै नेपालीको हित छ । हामी छुटेर नभई मिलेर अघि बढौं । तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरु मिली सुल्झाउने संस्कृति स्थापित गरौं । सिंहदरबारलाई दमन, हिंसा, दम्भ र विभेदको साटो करुणा, भाइचारा र सहानुभूतिको परोपकारी मार्गमा ल्याई सबैलाई समेट्ने ब्यवस्था स्थापित गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । स्वदेश बचाउन यो अनिवार्य छ । स्वदेश बचाउन तपाईंको भूमिका जरुरी छ ।



सुझावको अपेक्षासहित


जय नेपाल
निशा, कर्म, इशान

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्