मोदीको जनकपुर भ्रमण रद्द
Advertise Here Book Now
काठमाडौं, मंसिर ४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणसहित मुक्तिनाथ र लुम्बिनीको पनि रद्द गरेका छन् । भारतीय दुतावासले मोदीले भ्रमण गर्न नसकिने भन्दै कार्यक्रम स्थगित गर्न परराष्ट्र मन्त्रालयलाई खबर पठाएको छ ।
दुतावासका अनुसार जी-२० सम्मेलन सकेर भारत फर्केका मोदीले सर्वप्रथम सार्कको कार्यक्रम तालिका मगाएका थिए । त्यहाँ जनकपुरमा भाषणको कार्यक्रम नभएपछि मोदीले कार्यक्रम रद्द गर्न लगाएका हुन् । यसैसँगै लुम्बिनी र मुक्तिनाथ पनि भ्रमण नगर्ने भारतीय दुतावसले जनाएको छ ।
मोदी जनकपुरमा भाषण गर्ने कार्यक्रमलाई निकै महत्वका साथ लिएका थिए । भारतीय राजदूतले यसबारेमा प्रधानमन्त्री सुशील कोइरालासमेतलाई भेटेर जानकारी गराएका थिए । त्यति बेला प्रधानमन्त्रीले आफूले यसलाई नरोकेको जवाफ भारतीय राजदूतलाई दिएका थिए । भारतीय दुतावास स्रोतले यसअघि नै मोदीले जनकपुरमा भाषण गर्न नपाए लुम्बिनी र मुक्तिनाथ भ्रमण पनि नगर्ने बताएको थियो ।
यसैबीच, लुम्बिनीमा हुने भनिएको मोदीको भ्रमणका बेला भारतीय दूतावासका कर्मचारी बस्न भन्दै बुकिङ गरिएका भैरहवाको र्याडिसन रिसोर्टका कोठाहरु विहीबार रद्द गरिएका छन् । यसबारेमा सरकारी अधिकारीले भने केही जानकारी दिएको छैन ।
निधिको आरोप
यता, नेपाली काँग्रेसका नेता एवं सभासद् विमलेन्द्र निधिले पनि मोदीको भ्रमण रद्द भएको जानकारी गराएका छन् ।
निधिले भ्रमण रद्द गर्नुमा २२ दलीय मोर्चाले जनकपुरमा आन्दोलन गरेको कारण सरकार पक्षले मोदीको भ्रमलाई रद्द गराएको बताएका छन् ।

मोदी जनकपुर आउन सम्पूर्ण तयारी पूरा भएको अवस्थामा एकीकृत माओवादी लगायत मधेशी दलहरुले गैरजिम्मेवार तरिकाले तयारीको विरोध गरेको र समानान्तर मञ्च बनाउने देखि समानान्तर मञ्च बनाउने चेतावनी दिएका कारण अतिवादी व्यवहारले मोदीको भ्रमण रद्द गरेको निधिले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
कुरा बाझियो
मोदीले जनकपुरको बाह्रविघामा सार्वजनिक भाषण गर्न पाउनुपर्छ भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेका थिए । त्यसपछि मोदीले आफू जनकपुरमा सार्वजनिक भाषण गर्न नपाए जनकपुरलगायत लुम्बनी, मुक्तिनाथको भ्रमण पनि रद्द गर्ने नेपाल सरकारलाई जानकारी गराएका थिए ।
सरकारले भ्रमण रद्द गराएको भन्दै जिल्ला स्तरिय २२ दलको मोर्चाले अनिश्चितकालिन जनकपुर बन्दको घोषणा गरेका छन् । स्थानीय नेताका अनुसार उनीहरुआज टायर बाल्नुका साथै नारा जुलुस गराउनुका साथै जनकपुर बन्द गराएका छन् । उनीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गर्ने भएका छन् । यता, एमाओवादी नेता रामचन्द्र झाले भोली प्रतिकात्मक आन्दोलन गर्ने र विवाह पञ्चमी सकिएपछि आन्दोलन गर्ने घोषणा गर्ने बताएका छन् ।
प्रचण्ड भन्छन्, ‘मैले त झन् बाह्र बिगामै गर्दा राम्रो हुन्छ भनेको थिएँ’
एमाओवादी अध्यक्ष प्रचण्डले विमलेन्द्र निधिको आरोप प्रति आपत्ति जनाएका थिए । रातोपाटीसँग कुरा गर्दै प्रचण्डले बिमलेन्द्र निधिसँग टेलिफोन कुराकानी गर्दा जानकी मन्दिरभित्र नागरिक अभिनन्दन गर्नुभन्दा खुला बाह्र बिगामै गरेको भए राम्रो हुने सुझाव दिएको बताए । ‘मैले नागरिक अभिनन्द गर्दा थोरै मानिस अँट्ने सानो ठाउँमा भन्दा पनि जनताको इच्छा अनुसार खुला मैदान गर्न सुझाव दिएको थिएँ । तर, वहाँले सुन्नु भएन ।’
- भारतीय दूतावास भन्छ, ‘मोदीको जनकपुर भ्रमण रद्द भएकोबारे थाहा छैन’

