होसियार! कतै तपाईंको ATM बाट पैसा झिकियोकी यस्ले ?
Advertise Here Book Now

टर्कीका नागरिक मेहत गुलेनको होटल कोठाबाट बरामद नगद र उनले रकम झिक्न बनाएका एटिएम कार्ड। काठमाडौं– एटिएम डाटा र पिन कोड चोरी गरी नक्कली एटिएम कार्ड बनाई अर्काको खाताबाट पैसा निकालेर ठगीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य ३१ लाख रुपैयाँ र ४२ वटा नक्कली एटिएम कार्डसहित पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न देशका ४२ वटा एटिएम कार्ड, २६ लाख नेपाली रुपैयाँ र ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) सहित टर्कीका नागरिक मेहत गुलेनलाई दरबारमार्गको होटल उडल्यान्डमा पक्रेको हो।
एक्लो व्यक्तिको प्रयासमा मात्र कार्डको डाटा र पिन नम्बर चोरी गरी नयाँ कार्ड बनाउन असम्भव हुने निष्कर्ष निकाल्दै ब्युरो अधिकारीले पक्राउ परेका गुलेन यस्तै ठगीमा सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य भएको निष्कर्ष निकालेको छ।
थाइल्यान्ड, कतार, भारत हुँदै नेपाल आएका उनले पछिल्लो समय नेपालका एपेक्स विकास बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटिएम मेसिन प्रयोग गरी थोरैथोरै मात्रामा नेपाली रुपैयाँ निकाल्दै आएका थिए। उनले विभिन्न विदेशी बैंकका नक्कली एटिएम कार्ड प्रयोग गरेको खुले पनि नेपाली बैंकका एटिएम भने फेला परेको छैन।
ब्युरो प्रमुख डिआइजी हेमन्त मल्ल यस्तो प्रकृतिको आर्थिक ठगी एक्लो व्यक्तिको संलग्नतामा मात्र सम्भव नहुने भएकाले पक्राउ परेका गुलेन यस्ता ठगीमा सक्रिय अन्तर्राष्ट्रिय सञ्जालको सदस्य भएको बताए। उनी नेपाल आउनुअघि विभिन्न देश गएको, अन्तर्राष्ट्रिय बैंकहरुको नक्कली एटिएम कार्ड बनाएर विभिन्न बैंकबाट रकम निकाल्ने उनको कार्यशैलीका आधारमा उनी यो अपराधमा एक्लै नभएको मल्लले बताए।
‘यस्तो प्रकृतिको अपराधमा विभिन्न देशका संगठित समूह नै सक्रिय हुन्छन्,' मल्लले नागरिकसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा उनी विभिन्न देश गएर नेपाल आएको देखिएको छ, अन्य पाटोबारे अनुसन्धान जारी छ।'
ब्युरोका अनुसार बैंकको एटिएममार्फत शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोले अनुसन्धान अगाडि बढाउँदा गुलेन शंकाको घेरामा परेका थिए। डिएसपी भीमबहादुर दाहालका अनुसार उनी कात्तिक २७ गते नेपाल आएर होटल याक एन्ड यतीमा बसेका थिए। दोस्रो दिन उनी त्यहाँबाट सरेर दरबारमार्गको होटल उडल्यान्डको कोठा नम्बर ३०१ मा बस्न गएका थिए।
प्रहरीले बरामद गरेको भ्रमण सूचीअनुसार उनी साउन र भदौमा २ पटक थाइल्यान्ड, साउनमै कतार, असोजको २४ देखि २७ सम्म भारतमा बसेर नेपाल प्रवेश गरेको खुलेको छ। अनुसन्धान अधिकारी दाहालका अनुसार उनले नेपाल बसाइमा विभिन्न बैंकमार्फत ५ हजारदेखि १५ हजारसम्म नेपाली रुपैयाँ निकालेर मनिचेन्जरमार्फत विदेशी मुद्रामा रुपान्तरण गर्दै आएका थिए। प्रहरीले उनको कोठामा छापा मार्दा २६ लाख नेपाली रुपैयाँ र ५ हजार अमेरिकी डलर फेला पारेको थियो।
उनीबाट फेला परेको अमेरिकी डलर उनले ठमेलमा गएर साटेको खुलेको ब्युरोको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार गुलेनले पेट्रोल पम्प, सपिङ मल लगायत स्थानमा गएर विशेष प्रकृतिको सफ्टवेयर प्रयोग गरी इलेक्ट्रोनिक म्याग्नेटिक स्ट्रिप कार्डमार्फत डाटा ट्रान्सफर गरेर नक्कली मास्टर कार्ड, भिसा र डेबिट कार्ड बनाउने गरेका थिए।
उनले त्यही कार्डमार्फत विभिन्न देशमा गएर थोरैथोरै परिणाममा रकम निकाल्दै आएका थिए। खाताबाट थोरै रकम निकाल्दा ग्राहकले खास्सै वास्ता नगर्ने भएकाले उनले एक पटकमा १५ हजारसम्म निकाल्ने गरेको प्रहरीको निष्कर्ष छ।
डिएसपी दाहालका अनुसार उनको साथबाट ४२ वटा विभिन्न कार्डसहित एक सयभन्दा बढी एटिएमको पिन नम्बर र डाटा फेला परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार नेपालका विभिन्न बैंकबाट ५० लाखसम्म नेपाली रुपैयाँ निकालेपछि त्यसलाई विदेशी मुद्रामा सटही गरी नेपालबाट दोस्रो देश जाने योजनामै रहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्