मधेशी मोर्चा बनाउने सैद्धान्तिक सहमति
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , २८ कार्तिक । मधेशकेन्द्रित ६ दलहरूबीच मोर्चा बनाउने सहमति भएको छ । नयाँ संविधान जारी गर्ने समयसीमा नजिकिदैं जाँदा मधेशकेन्द्रित राजनीतिक दलहरूले मधेशको हकअधिकार सुनिश्चित गराउनका लागि संयुक्त रूपमा एउटा मजबुत मोर्चा बनाउने सैद्धान्तिक सहमति गरेका छन् । बिहीबार मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को संसदीय दलमा बसेको ६ मधेशी दलहरूको बैठकमा सरकारमा नजाने र मधेशको अधिकार सम्बोधन गराउन ठोस रूपमा प्रस्तुत हुने सामूहिक प्रतिबद्धता जनाएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी दलहरूको यस्तो प्रतिबद्धताबाट एकीकरणको सम्भावना बढेको प्रतिक्रिया दिएका छन् । मोर्चा बनाउने सैद्धान्तिक सहमति भएपनि त्यसको नाम के हुने अहिले निर्णय भइसकेको छैन । मधेशी दलहरूको बृहत् मोर्चा बन्नु एउटा सकारात्मक कार्य हो । तर, विगतमा जस्तै एकीकरण वा मोर्चाको राजनीति गरी सम्झौताको आडमा सिंहदरबार प्रवेश गर्ने राजनीति नहोस् भन्ने आम मधेशीको चाहना रहेको छ । मधेशी नेतृत्व यस विषयमा जानकार र सचेत पनि छन् । यो मोर्चा बनाउने निर्णयबाट मधेशमा एउटा सकारात्मक सन्देश गएको छ । सम्भावित मोर्चाबन्दीलाई सरकारमा जाने पूर्वाधार वा आन्दोलनको तयारीको रूपमा हेरिदैंछ । यस नयाँ बन्ने मोर्चामा अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई पनि सहभागी गराउने निर्णय भएको छ । बैठकमा फोरम लोकतान्त्रिकबाट विजय गच्छदार र जितेन्द्र देव, तमलोपाबाट महन्थ ठाकुर र हृदयेश त्रिपाठी, फोरम नेपालबाट उपेन्द्र यादव र लालबाबु राउत, सद्भावना पार्टीबाट राजेन्द्र महतो र लक्ष्मण लाल कर्ण, रामसपाबाट शरत्सिंह भण्डारी र प्रदीप शम्शेर र तमसपाबाट महेन्द्र यादव र रानी शर्मा तिवारी सहभागी भएका थिए ।
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्