सशस्त्र समूहहरुको मोर्चा घोषणा, संघर्ष गर्ने चेतावनी (विज्ञप्तिसहित)
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  २८ कार्तिक । सरकारसँग वार्ता गरिसकेका नेपालका ६ वटा सशस्त्र समूहहरुले मोर्चा घोषणा गरेका छन् । शुक्रबार मधेश मिडिया हाउसमा ती सशस्त्र समूहहरुले सामूहिक रुपमा संघर्ष गर्ने जनाएका छन् । सो घोषणा कार्यक्रममार्फत् ‘सहमति कार्यान्वयन संघर्ष समिति’ नामक मोर्चा सार्वजनिक गर्दै राज्यले सशस्त्र समूहहरुसँग वार्ता गरेर सहमतिहरु लागू नगरेको गुनासो गरेका छन् । 
मोर्चाको संयोजक संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति पार्टी (अध्यक्ष विवश विद्रोही) र प्रवक्तामा संयुक्त जातीय मुक्ति मोर्चाका संगठन विभाग प्रमुख अविरल छन् । कार्यक्रममा मोर्चाले ९ बुँदे माग प्रस्तुत गरेको छ । मोर्चाका संयोजक विद्रोहीले आफूहरुको मागलाई राज्यले बेवास्ता गरे आगामी दिनमा शान्तिपूर्ण रुपमा सशक्त आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । मोर्चाले पक्राउ परेका कार्यकर्ताहरुलाई अभिलम्ब रिहाई गर्नु पर्ने र आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने माग गरेको छ । 
मोर्चामा संयुक्त जातीय मुक्ति मोर्चाका संगठन विभाग प्रमुख अविरल, किराँत जनजादी वर्कर्स पार्टी (अध्यक्ष संकेनमा किराँती), मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी (अध्यक्ष रणवीर सिंह), संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति पार्टी (अध्यक्ष विवश विद्रोही), जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (अध्यक्ष मनोजकुमार मण्डल ‘सुभाष’) र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (रविदत्त मिश्र) छन् । 
 
संयुक्त प्रेस विज्ञप्ति
प्रिय पत्रकार मित्रहरू, 
नेपाली जनताहरूको भाग्य निर्माण गर्न सुन्दर, शान्त, स्वच्छ तथा समुन्नत नयाँ नेपालको परिकल्पना गर्दै महान् क्रान्तिकारी यात्रा पार गरी हामी अनेकौं उतार–चढावको बाबजुद राजनीनितक परिवर्तनको शिलशिलामा जनसंविधान बन्ने वा नबन्ने गम्भिर संकटको घडीमा पुगेका छौं । नेपाली जनताहरूको त्याग, तपस्या र बलिदान पूर्ण संघर्षबाट प्राप्त संघीय लोकतानित्रक गणतन्त्रको उपलब्धिहरूलाई रक्षा गर्दै बषौंदेखि कायम जातिय, वर्गीय, क्षेत्रिय, लैंगिक, राजनीतिक, सामाजिक लगायतका सम्पूर्ण विभेदहरूलाई अन्त्य गर्नको निमित्त देशका विभिन्न भू–भागमा विज्ञानसम्मत एजेन्डा लिएर भूमिगत आन्दोलन जारी रहेको र केही संगठनहरू वार्तामा आइसकेको कुरा हामी सबैलाई सर्वविदितै छ । विगतका दिनहरूमा विभिन्न सशस्त्र भूमिगत संगठनहरू र राज्य पक्षबिच विभिन्न चरणमा वार्ता भएको कुरा पनि यहाँहरूलाई अवगत नै छ यसरी राज्य र सशस्त्र भूमिगत संगठनहरूबीच विभिन्न चरणमा वार्ता हुँदा राज्य पक्षद्वारा कार्यान्वयन नभएको कारणले उक्त सहमतिहरू अबिलम्व कार्यान्वयनको निमित्त सरकारलाई दबाब दिने उद्देश्यले निम्न लिखित सशस्त्र भूमिगत संगठनहरू बीच मोर्चाबन्दी भएको कुरा अवगत गराउन चाहन्छौं र वार्तामा आईसकेका अन्य संगठनहरूलाई यस मोर्चामा आबद्ध हुन समेत अनुरोध गर्दछौं । साथै यो मोर्चाको नाम सहमति कार्यान्वयन संघर्ष समिति राखी संयोजकको रूपमा संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति मोर्चाका अध्यक्ष श्री विवश विद्रोही ज्यूलाई चयन गरेको समेत अवगत गराउँदछौं । 
मोर्चाको साझा मागहरू निम्नअनुसार हुनेछ ः
१) संघीय राज्य निर्माण गर्दा — ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, भाषिक आधारमा घोषणा गर ।
२) सूची प्रणालीको माध्यमबाट चक्रीय प्रणालीद्वारा कार्यकारी राष्ट्रपति हुने संवैधानिक ग्यारेन्टी गर ।
३) जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीसहितको राज्य व्यवस्था निर्माणका लागि संवैधानिक ग्यारेन्टी गर ।
४) राज्यमा पूर्ण लोकतन्त्रको बहाली गर ।
५) सशस्त्र संगठनहरूसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर ।
६) जेल जीवन बिताइरहेका मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई बिना शर्त अविलम्ब रिहा गर ।
७) सशस्त्र आन्दोलन भएको चरणमा सहादत प्राप्त गरेका नेता तथा कार्यकर्ताहरूलाई राष्ट्रिय शहीद घोषणा गरी उचित क्षतिपूर्ति देउ ।
८) सशस्त्र आन्दोलनमा लागेका मोर्चाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई राज्यले भरणपोषणको व्यवस्था गर ।
९) क्ष्ीइज्ञटढ मा सम्झौता भएअनुसार स्थानीय साधन स्रोतको असली मालिक स्थानीय जनताहरू नै हुन् । सो बमोजिम संवैधानिक ग्यारेन्टी गर ।
हाम्रा विज्ञानसम्मत मागहरूलाई राज्यद्वारा बेवास्ता गरेमा आउने समयमा शान्तिपूर्ण सशक्त आन्दोलन मोर्चाले गर्ने घोषणा गर्दछ ।
 
मोर्चाबन्दी भएका सशस्त्र भूमिगत संगठनहरूको नामावली ः
१. मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी (अध्यक्ष, रणवीर सिंह)
२. संयुक्त जातीय मुक्ति मोर्चा (संगठन विभाग प्रमुख, अविरल)
३. किराँत जनवादी वर्कर्स पार्टी (विद्रोही समूह) (अध्यक्ष संकेनमा किराँती)
४. संयुक्त क्रान्तिकारी तराई मधेश मुक्ति पार्टी (अध्यक्ष, विवश विद्रोही)
५. जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (अध्यक्ष, मनोजकुमार मण्डल ‘सुभाष’)
६. संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (अध्यक्ष, रविदत्त मिश्र राजगुरू)
 
अन्त्यमा माथि उल्लेखित सम्झौता भएबमोजिमको हाम्रा साझा प्रतिबद्धता तपाई बुद्धिजीबी पत्रकारहरू मार्फत् आम नेपाली जनताहरूलाई अवगत गराउँदै संयुक्त प्रेस वक्तव्य जारी गरेका छौं ।
 
धन्यवाद ।
 
..................
संयोजक
विवश विद्रोही
सहमति कार्यान्वयन संघर्ष समिति

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्