भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर
Advertise Here Book Now
जनकपुर, कार्तिक १६ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थलमार्गबाट हुने सार्वजनिक भइसके पनि जीर्ण र अस्तव्यस्त रहेका नगरभरका सडक व्यवस्थित बनाउन थालिएको छैन ।उनी नेपाल प्रवेश गर्ने भनिएको सीमावर्ती भिट्ठामोड-जलेश्वर-जनकपुर सडक अस्तव्यस्त छ । कालोपत्रे उक्किएर खाल्डैखाल्डा छन् । सडकमा धुलो, ढुंगा र पुराना इँटा मात्र देखिन्छ । २२ किलोमिटरको यात्रा तय गर्न सार्वजनिक यातायातका साधनलाई करिब दुई घन्टा लाग्छ । नगर क्षेत्रका सडकको अवस्था पनि उस्तै छ । बस स्ट्यान्डबाट जानकी मन्दिर जाने तीन बाटामध्ये परिक्रमा सडक सबैभन्दा सजिलो हो । त्यसमा पनि खाल्डैखाल्डा छन्, पानी जमेको छ ।
मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी सडक मार्गबाट मंसिर ९ मा जनकपुर आउने र हेलिकप्टरमा काठमाडौ जाने परराष्ट्र मन्त्रालयले बताइसकेको छ । उनी हवाई मार्गबाट पटना आउने र त्यहाँबाट मोटरमा जनकपुरसम्म आउने कार्यक्रम छ ।
उनको भ्रमणलाई दृष्टिगत गरी आवास तथा भौतिक योजना मन्त्रालयले भिट्ठामोड-जलेश्वर-जनकपुर सडक मर्मत र स्तरोन्नतिका लागि पर्याप्त बजेट उपलब्ध गराउने बताए पनि बुधबारसम्म त्यसबारे डिभिजन सडक कार्यालयलाई जानकारी दिइएको छैन । बजेट उपलब्ध गराइए पनि एक महिनाभन्दा कम समयमा २२ किलोमिटर सडकको स्तरोन्नति हुने सम्भावना कम छ । यति छोटो समयमा सडकको मर्मतसम्भारसम्म गर्न सकिने डिभिजनल इन्जिनियर दिनेश अर्यालले बताए ।
सडक डिभिजनका अनुसार भिट्ठामोड-जलेश्वर-जनकपुरसँगै धनुषा, महोत्तरी र सर्लाहीका अन्य आठ सडक पनि भारतीय सहयोगमा निर्माण गरिने प्रस्ताव छ । तर, भारतीय निर्माण कम्पनी सम्पर्कविहीन रहेका कारण ती सडक अलपत्र छन् । भारतीय योजनामा परेका कारण नेपाल सरकारले ती सडकको मर्मतसम्भारका लागि बजेट छुट्याउने गरेको छैन ।
धनुषाका वीरेन्द्रबजार-यदुकुहा-महिनाथपु
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माका अनुसार मोदीको भ्रमण लक्षित गर्दै सर सफाइ र मठमन्दिर सिंगार्न सरकारसँग सात करोड रुपैयाँ मागिएको थियो । तर, सरकारले एक करोड मात्र उपलब्ध गराएको छ । 'यति थोरै रकमले सडक, बिजुली, सफाई र मठमन्दिर सिंगार्न सम्भव छैन,' शर्माले भने ।

