सरकारी लुट मन्त्रीको खाजा दुई महिनामा दुई लाख
Advertise Here Book Now


मन्त्रिपरिषद् बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डरबमोजिमका खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिनायता खाजाको मात्रै दुई लाख १३ हजार २० रुपैयाँ बिल उठेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्चमध्ये ७० प्रतिशतभन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको हो । सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीले गर्ने अन्य बैठकका लागि आवश्यक पर्ने खाजा गौतम खाद्य सप्लायर्सले उपलब्ध गराउँदै आएको छ ।
मन्त्रिपरिषद् कार्यालय लेखा शाखा स्रोतका अनुसार खाजाको प्रतिप्याकेट चार सय ५० रुपैयाँसम्म खर्च हुने गरेको छ । लञ्चमा भने प्रतिप्याकेट बढीमा ६ सय लाग्ने गरेको छ । स्रोतका अनुसार बालुवाटारमा हुने गरेका मन्त्रिपरिषद्बाहेकका अन्य बैठकमा पनि मन्त्रीहरूलाई खाजा दिइने गरिएको छ ।
बालुवाटारमा प्रधानमन्त्रीले गर्ने छुट्टै बैठक र स्वकीय सचिवालयका अन्य पदाधिकारी तथा कर्मचारीसँग गर्ने छलफलपछि दिइने खाजामा पनि अत्यधिक खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न आउने उनीनिकटका व्यक्तिहरूलाई पनि खाजा खुवाउने हुनाले बढी बिल आएको हुन सक्ने कार्यालयका एक अधिकारीले बताए । उनले भने, ‘मन्त्रिपरिषद् बैठकमा भन्दा बालुवाटारमा भएका अन्य बैठकमा दिइएको खाजाका कारण बढी बिल आएको हो ।’
के खाजा खान्छन् मन्त्री रु
मन्त्रिपरिषद् बैठक बस्दा मन्त्रीहरूले आफ्नो रुचिअनुसार खाजा खाने गरेका छन् । रुचिअनुसार मांसाहारी, साकाहारी तथा फलफूलको व्यवस्था गर्ने गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रीका लागि खाजा तथा खानाको व्यवस्थापन गर्न तीनजना हेटे ब्वाईको व्यवस्था गरिएको छ । खरिदार तहका ती कर्मचारीले बैठक चलिरहँदा मन्त्रीहरूको रुचिबारे जानकारी लिने र सोहीअनुसारको चिया तथा कफी, खाजा तथा खानाको व्यवस्थापन गर्ने गर्छन् ।
कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक लामो समय बसेको अवस्थामा मन्त्रीहरूले ‘हेभी’ खाजा खाने गरेका छन् । ‘हेभी’ खाजामा मन्त्रीको रुचिअनुसार भेज र ननभेज दुवै व्यवस्था गर्ने गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भेज खाजाको प्याकेटमा पकौडा, मिठाइ, स्यान्डविच, केरा, स्याउलगायतका फलफूल राख्ने गरिएको छ । खाजासँगै मन्त्रीका रुचिअनुसार चिया तथा कोल्डड्रिंक्स पनि उपलब्ध गराइने कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार ननभेज खाजामा चिकेन रोस्ट तथा मस्मलगायतको व्यवस्था गर्ने गरिएको छ । दिउँसोको समयमा बस्ने बैठकहरूमा मन्त्रीहरूले प्याकिङ खाजा खाने गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्