नेता र सभासद्ले मात्र गर्न पाउने मोदीको अभिनन्दन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकमजनकपुरधाम, २ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका क्रममा गरिने नागरिक अभिनन्दन कार्यक्रममा राजनीतिक दलका नेतामात्र सहभागी हुने भएका छन । सार्क सम्मेलनका अवसरमा जनकपुरबाटै नेपाल प्रवेश गर्ने इच्छा व्यक्त गरेका मोदीको सम्बोधन सुन्न लाखौं सर्वसाधारणको भीड हुनसक्ने अनुमान गरिएकाले उनको भाषणलाई नागरिक अभिनन्दनका रूपमा छोट्ट्याइएको जानकारी भौतिक निर्माण तथा यातायातमन्त्री विमलेन्द्र निधिले दिए । नागरिक अभिनन्दन कसले गर्ने भन्ने अनिश्चित रहे पनि बारादेखि मोरङसम्मका सम्पूर्ण सभासद्, मन्त्री, पूर्वसभासद्, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका केन्द्रीय नेता, सुरक्षा अधिकारी, उद्योगी, व्यापारी, धनुषा र महोत्तरीका पार्टी प्रमुख र सुरक्षा अधिकारीलाई मात्र सम्बोधन गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । सरकारका तर्फबाट औपचारिक रूपमा मंसिर १ गतेदेखि स्वागत समिति निर्माण गरी तयारी थालिने र सर्वसाधारणलाई विभिन्न चोक र टोलमा टेलिभिजनमार्फत कार्यक्रम हेर्ने व्यवस्था गरिने जनाइएको छ । मंसिर ७ गतेदेखि १२ गतेसम्म जनकपुरमा मनाइने रामजानकीको विवाह महोत्सवका क्रममा आउने मोदीको स्वागतको भव्य तयारी भइरहेको छ । जनकपुरलगायत सम्पूर्ण मिथिलाञ्चल क्षेत्रको विकासका लागि १५ अर्बको योजना पेस गरेकोमा भारतीय दूतावासमार्फत पाँच अर्बसम्मको घोषणा मोदीले गर्ने प्रतिबद्धता आफूहरूले पाएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले बताए । रंगभूमि बाह्रबिघा मैदानमा गरिने स्वागत कार्यक्रम स्थगित गरी जानकी मन्दिरमा पूजा र दर्शन गराई मन्दिर प्रांगणमै नागरिक अभिनन्दन गर्ने योजना रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए ।

