भ्रमण रद्दबारे गृह अनभिज्ञ, सम्बोधनस्थल खोजिदैं
Advertise Here Book Now

  ऑनलाइन सिरहा डटकम /जनकपुरधाम, ५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्दबारे गृहमन्त्रालयलगायत सम्बद्ध निकायहरु अनभिज्ञ रहेका छन् । भौतिक, योजना निर्माण तथा यातायात मन्त्री विमलेन्द्र निधिबाहेक अन्य कुनै पनि सरोकारवाला पक्षहरुलाई जानकारी रहेको छैन । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण कार्यक्रम रद्द गरिएको भन्दै सरकारको विरोधमा शुक्रबार जनकपुर बजार बन्द गरिएको छ । 
मोदीको धार्मिक भ्रमण तथा नागरिक सम्बोधन एवं स्वागत कार्यक्रम विफल बनाउन सरकारले नै विवादास्पद अभिव्यक्ति दिएको भन्दै एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले जनकपुर बन्द गरेको हो ।
यसैबीच जनकपुरको सुरक्षा अवस्थाबारे अनुगमन गर्न आएका गृह सचिव सूर्यप्रसाद सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगित नभएको जानकारी दिएका छन् । सिलवालले शुक्रबार जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै मोदीको भ्रमण तयारी भइरहेको समेत स्पष्ट पारे ।
गृहसचिव सिलवालले मोदीको नागरिक अभिनन्दनका लागि स्थान समेत खोजी भई शुक्रबारदेखि नागरिक अभिनन्दन तथा स्वागत मंच तयारी हुने बताएका छन् । भारतीय प्रम मोदीको भ्रमण ९ गते हुने र उहाँको नागरिक अभिनन्दन रंगभुमि मैदान १२ विघामै हुने गृह सचिव सिलवालले भने । उनले अहिलेसम्म पनि भारतीय पक्षबाट कुनै किसिमको कार्यक्रम स्थग्न तथा कार्यक्रम फेरबदलबारे औपचारिक वा अनौपचारिक जानकारी नआएको र हामीले आफ्नो तर्फबाट सुरक्षा सम्बन्धी तथा अन्य कार्यहरु जारी नै रहको समेत उनले स्पष्ट पारे ।
यसैवीच नेकपा एमाले समर्थित युवा संघ, नेपालका मधेस व्यूरो ईन्चार्ज तथा सचिवालय सदस्य संजीव झाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीकै कारणले मोदी भ्रमणबारे दुष्प्रचार भएको र जनमानसमा गलत अफवाह फैलिएकोले नागरिक अभिनन्दन तथा स्वागत तयारी समितिबाट राजीनामा दिनुपर्ने माँग गरे । उनले जनकपुरमा पत्रकार सम्मेलन गर्र्दै युवा संघका ईन्चार्ज झाले स्वागत समितिमा नेपाली कांग्रेस भित्रका एक गुटको मात्रै नेतृत्व गरेको भन्दै आफ्ना आसेपासेलाई समितिमा राखेर भारतीयय प्रम मोदी भ्रमणबारे विवादास्पद अभिव्यक्ति दिएका हुनाले तत्काल राजीनामा दिएर सर्वदलीय तथा नागरिक समाजको नेतृत्वमा समिति गठन गर्न समेत उनले माँग गरे । उनले मन्त्री निधीकै कारण भारतसंगको कुटनीति सम्बन्धमा दरार उत्पन्न भएको समेत आरोप लगाए ।
       भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले बिहीबार एक विज्ञप्ति जारी गरी मोदीको अभिनन्दन तथा स्वागत स्थलको विवादले भ्रमण रद्द भएको जानकारी गराएका थिए ।
सो पश्चात जनकपुरवासीहरु आक्रोशित हुदैँ शुक्रबार विहानै देखि मोर्चाका कार्यकर्ताले जनकपुरको मुख्य सडक खण्डमा नाराबाजी गर्दै लामो तथा छोटो दूरीका सवारी साधन आवागमन ठप्प पारी बजार समेत बन्द गराएका छन्  । मोर्चाको बन्दलाई मध्यनजर गर्दै जनकपुर क्षेत्रमा सयौंको संख्यामा सशस्त्र र नेपाल प्रहरी खटाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्