सुस्तायो खुला दिशामुक्त क्षेत्र घोषणा अभियान २६ गाविसहित सदरमुकाम नै घोषणा हुन बाँकी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम चौतारा, मंसिर २ – जिल्लामा कुनै बेला खुला दिशामुक्त क्षेत्र घोषणा गर्न होडबाजी नै चलेको थियो । तर अहिले यो क्रम पहिलेको तुलनामा निकै सुस्ताएको छ । एकताका खुला दिशामुक्त क्षेत्र घोषणा गर्न तम्सिने संघसंस्थाहरु केही महिना अघिदेखि सुस्ताएका हुन् । जिल्लालाई सन् २०१५ भित्र खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखिए पनि यो सम्भावना निकै नै कठिन बन्दै गएको छ । हालसम्म ४९ गाविस र चौतारा नगरपालिका अन्तर्गत पीपलडाँडा, कुविण्डे र ईर्खु मात्र घोषणा भएको छ । अझैं २६ गाविस र सदरमुकाम चौतारा घोषणा हुन बाँकी छ । यसरी नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सुस्ताउँदै जाने हो सन् २०१५ भित्र जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा नहुने सरोकारबालाहरु बताउँछन् । जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न ३७ गाविस जिम्मा पाएको सेवक नेपाल र जनहीत ग्रामिण सेवा समितिले हालसम्म २६ गाविस मात्र घोषणा गरेको छ । जनहीतले २०६९ सालबाट काम सुरु गरेको हो । त्यस्तै ३५ गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने जिम्मा पाएको सिडिसिएफले २३ गाविस मात्रै घोषणा गरेको छ । ‘चाडपर्वको कारण यो क्रम सुस्ताएको हो’ सिडिसिएफका कार्यकारी निर्देशक गोबिन्द सापकोटाले भने ‘अब हामीले कार्तिक महिनामा नै दुई गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दैछौ ।’ सापकोटाको अनुसार कार्तिक महिनामा चार गाविस घोषणा हुने लाईनमा रहे पनि दसैं र तिहारमा गाविस सचिवहरु घर गएकाले दुई गाविस मात्र घोषणा हुने बताए । एउटा शौचालय निर्माणका लागि स्थानीयहरुले ५ हजारदेखि ५० हजारसम्म खर्च गरेका छन् । आर्थिक हैसियत हुनेले त बनाएकै छन् नहुनेहरुले पनि जायजेथा बेचेर वा ऋण लिएरै भए पनि शौचालय निमार्ण गरेका छन् । कतिपयले जग्गा र सुन बेचेरै चर्पी निर्माण गरेका छन् । जिल्लाका हिमाली गाउँ हेलम्बुका बासिन्दाहरुले त निमार्ण जनशक्तिको अभाव भएपछि एउटा शौचालय निर्माणका लागि ५० हजारसम्म खर्चेका छन् । उनीहरुले ठेकदारमार्फत शौचालय निर्माण गर्दै आएका छन् ।
