'मोदीले भाषण गर्ने र साइकल बाँड्ने होइन'.........................
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम

राज्य व्यवस्था समितिमा सरकारको जवाफ..........
कार्तिक २७ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीर्थाटनका क्रममा सार्वजनिक भाषण गर्ने कार्यक्रम नरहेको सरकारले जनाएको छ ।
Narendra D Modi.pngसार्क तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको संसद्को राज्यव्यवस्था समिति बैठकमा बिहीबार सांसदहरूका प्रश्नको जवाफमा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमले यस्तो जानकारी दिएका हुन् ।
सार्क सम्मेलनका क्रममा नेपाल आउने मोदीले मुक्तिनाथ, लुम्बिनी र जनकपुरको भ्रमण गर्ने कार्यक्रम छ । 'उहाँले जान्छु भनेपछि हामीले रोक्ने कुरा आएन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद विशाल भट्टराईले भने, 'भ्रमणका लागि सरकारले राम्रो सुरक्षा व्यवस्था मिलाएको छ ।'
बैठकमा सहभागी सांसदहरूले जनकपुर भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक भाषण दिने, साइकल र पुस्तक वितरण गर्ने कार्यक्रम तय भएको भन्ने समाचारबारे जिज्ञासा राखेका थिए । छिमेकी सरकार प्रमुखले यस्तो कार्यक्रम गर्नु कूटनीतिक मर्यादाविपरीत हुने उल्लेख गर्दै सांसदहरूले त्यससम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासबारे सरकारको ध्यानाकर्षण गराएका थिए । 'पत्रपत्रिकाले के-के लेख्छन् लेख्छन्,' जवाफमा प्रधानमन्त्री कोइरालाले भनेका थिए ।
गृहमन्त्री वामदेव गौतमले सार्क सम्मेलनमा आउने राष्ट्रप्रमुखलाई नगरपालिकाले अभिनन्दन गर्ने अभ्यास रहेको उल्लेख गर्दै जनकपुरमा पनि त्यस्तै कार्यक्रम मात्र हुन लागेको बताए । 'चर्चामा आएजस्तो उहाँले भाषण पनि गर्नु हुन्न, साइकल र किताब-कापी पनि बाँड्नु हुन्न,' गौतमले भने । मोदीजस्तो अन्तर्राष्ट्रिय ख्याति भएको नेताले मुक्तिनाथ, लुम्बिनी र जनकपुरजस्ता तीर्थस्थलको भ्रमण गर्दा ती क्ष्ाेत्रको अन्तर्राष्ट्रिय प्रचार हुने र धार्मिक पर्यटन प्रवर्द्धन हुने उनको भनाइ थियो ।
सार्क सम्मेलनको तयारी मोदीमय भएको टिप्पणी गर्दै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले उनले जस्तै राजधानी बाहिरको भ्रमण र कार्यक्रममा अन्य अतिथिले पनि सहभागिताको चाहना राखेमा के गर्ने भन्ने प्रश्न उठाएका थिए । जवाफमा गृहमन्त्री गौतमले सार्कका अन्य अतिथिले पनि यस्तो भ्रमणको चाहना गरे सरकारले आवश्यक व्यवस्था गर्ने बताए । गौतमका अनुसार श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे पनि लुम्बिनी भ्रमणमा जानेछन् ।
समिति सदस्य रवीन्द्रप्रताप शाहले सार्कको कार्यक्रम र सम्झौतामा राष्ट्रिय सहमति जुटाउन सरकारलाई आग्रह गरे । सत्तापक्षले मात्र ती प्रक्रिया अघि बढाउँदा अर्को पक्षले विरोध जनाउने उल्लेख गर्दै उनले अतिविशिष्ट अतिथिहरूको भ्रमण कार्यक्रममा समेत राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । 'नत्र एउटा पक्षले स्वागत गर्ने कार्यक्रममा अर्कोले विरोध गर्न सक्छ,' उनको भनाई थियो । सार्क सम्मेलनमा हुने सन्धि राष्ट्रहितमा हुनेमा सांसदहरूलाई आश्वस्त पार्दै प्रधानमन्त्री कोइरालाले अनावश्यक शंका नगर्न आग्रह गरे ।
छलफलमा सहभागी रमेश लेखक, गंगालाल तुलाधर, युवराज ज्ञवाली, इन्दिरा न्यौपानेलगायत सांसदहरूले अतिविशिष्ट पाहुनाको सुरक्षा र ट्राफिक व्यवस्थापन गर्दा सर्वसाधारणको दैनिक जीवनलाई अप्ठ्यारो नपार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले राजधानीको सडक सरसफाइ र रंगरोगनका लागि समेत सार्क कुर्नुपरेको उल्लेख गर्दै हरेक वर्ष शिखर सम्मेलन आयोजना गर्नुपर्ने व्यंग्यात्मक सुझाव दिएका थिए । जवाफमा गृहमन्त्री गौतमले हरेक वर्ष नेपालले मात्र सार्क सम्मेलनको आयोजना गर्ने व्यवस्था नभएको र गर्न पनि नसकिने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्