एमाओवादीलाई सहमतिमा आउन नेता नेपालको आग्रह
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /विराटनगर, २८ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका लागि सबै दलहरुलाई लचकता अपनाउन र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई गैरजिम्मेवारपूर्ण र उत्तेजनामूलक अभिव्यक्ति नदिई वार्ताद्वारा सहमतिको बिन्दु खोज्न आग्रह गर्नुभयो ।
जातीयताको आधारमा सङ्घीय राज्य दिएर मुलुकलाई टुक्रा–टुक्रा गर्न नपाइने उल्लेख गर्दै उहाँले भौगोलिक र जातीय एकतालाई ध्यानमा राखी आधुनिक सुसंस्कृत राज्य निर्माणका लागि सबै अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।
नेपालमा हुन गइरहेको सार्क सम्मेलनअगावै संविधान निर्माणको विषयमा दलहरुबीच सहमति हुुनु आवश्यक रहेको आँैल्याउदै नेता नेपालले यस विषयमा विदेशी नेताहरुको उपदेश सुन्नु नपरोस् र हामी आफ्नो समस्या समाधान गर्न सक्षम छौँ भनि सन्देश दिनका लागि एक्यबद्ध हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि दलहरुबीच अविलम्ब सहमतिका साथै संविधानको विषयमा तीव्र गतिमा कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घीय राज्यको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा जनमत सङ्ग्रह आवश्यक नरहेको स्पष्ट पार्नुहुँदै नेता नेपालले सबै धर्म समान रहेको नीतिलाई मुलुकले अङ्गिकार गरेको विचार प्रकट गर्नुभयो ।
उहाँले नेकपा (एमाले) पार्टी एकताबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले पार्टीभित्र अझै सुधारको आवश्यकता देखिएकाले एकलौटी निर्णय सच्चयाउनुपर्ने, गुटबन्दी अन्त्य गर्नुपर्ने र क्षमताअनुसार पार्टीभित्र जिम्मेवारी दिनुपर्ने सुझाव प्रकट गर्नु भयो ।
संविधान निर्माणको सन्दर्भमा जनताको राय सुझाव सङ्कलनका लागि नागरिक समन्वय समितिलाई सरकारले रु सात अर्ब निकास गर्न लागेको चर्चा भइरहेको सन्दर्भमा उहाँले यस अघि पनि यस कार्यका लागि रु चार अर्ब खर्च भइसकेकाले यस्ता रकम निकासा नगर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।

