ऑनलाइन सिरहा डटकम , ५ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले धेरै शंका–उपशंका उब्जिए पनि निर्धारित मिति माघ ८ मै नयाँ संविधान जारी हुने दोहोर्याएका छन् ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको २४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले केही पक्षले संविधान लेखनमा अवरोध गरे पनि निर्धारित समयमै नयाँ संविधान जारी गर्ने बताए । ‘अर्को पक्षले संविधान जारी गर्न अवरोध सिर्जना गर्दै छन्’, उनले भने, ‘तर, त्यो अवरोधलाई हटाएर भए पनि संविधान जारी हुन्छ ।’
उनले आफू जुन बाटो हिँडे पनि लक्ष्य प्राप्ति गर्दै आएको उल्लेख गर्दै संविधान निर्माण पनि आफ्नो लक्ष्य भएकाले पूरा गर्ने बताए । उनले दुईपटक क्यान्सरलाई परास्त गरेको स्मरण गर्दै भने, ‘म दुईपटक क्यान्सरलाई परास्त गरेर तपाईंहरुको माझमा आएको खतरनाक मान्छे हुँ’, उनले भने, ‘त्यसैले संविधान नबनाई म भाग्दिनँ ।’
उनले चाँडै संविधान जारी गरेर आफू प्रधानमन्त्री पद छाड्न तयार रहेको पनि स्पष्ट पारे । ‘निर्धारित मितिमा संविधान जारी गरेर म प्रधानमन्त्री पद छाड्न तयार छु’, उनले भने, ‘यो कुरा प्रचण्ड र ओलीजीलाई भनेको छु । मलाई यो झमेलामा धेरै बस्नु छैन ।’


