सप्तरीमा तिन महिना भित्र ६ जनाको हत्या
Advertise Here Book Now
सप्तरीमा तिन महिना भित्र ६ जनाको हत्या । ऑनलाइन सिरहा डटकम
अरुण कुमार यादव
राजविराज २१ कर्तिक ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीको आयोजनामा सरोकारवाला निकायबीच नेपाल मानवअधिकार वर्षपुस्तकको त्रैमासिक पूर्वसमीक्षा कार्यक्रम राजविराजमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीले अदालतका बारेमा लेख्नै नहुने भनेर डराउनु नपर्ने बताए । अदालतको मर्यादा राखेर तथ्यगत कुरा प्रकाशन गर्न, गुनासो गर्न डराउन नपर्ने भन्दै न्यायाधीश अधिकारीले मानवअधिकारको संरक्षण अदालत, प्रहरी, प्रशासनलगायत समाजका सबै क्षेत्रबाट गर्नु पर्नेमा जोड दिए ।
स्रेस्तेदार नवराज दुलालले अदालत, प्रहरीमा दर्ता हुन नसकेका तर समाजमा व्याप्त दाइजो, बोक्सी, बालविवाह जस्ता कुप्रथाका कारण भइरहेका हिंसाका घटनाहरू समेत वर्षपुस्तकमा समावेश गनुपर्ने बताए ।
स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले मानवअधिकार उल्लंघनका घटना न्यून गर्न जिल्ला विकास समितिले स्थानीयस्तरमा सचेतना, जनजागरण अभियानका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । डिएसपी केदार ढकालले उर्मिलादेवी मण्डलको हत्याराहरू चाँडै पक्राउ पर्ने बताउँदै अपराध र मानवअधिकारको विषयलाई अलग गरी हेर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले आन्दोलन, भ्रष्टाचार, स्वास्थ्य, शिक्षा जस्ता विषयलाई मानवअधिकारसँग जोडेर घटना संकलन गर्नुपर्ने सुझाव दिए । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले महिला, बालबालिका हिंसाका घटनामा संलग्न दोषीलाई र त्यस्ता घटना मिलाउनेलाई समेत कारबाही हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सन् २०१४ को जूलाईदेखि सेप्टेम्बरसम्म जिल्लामा ६ जना महिला र बालकको हत्या, दुई बालिकाको बलात्कार, एक बालिका र तीन महिलामाथि बलात्कार प्रयास, कथित बोक्सीका चार, राज्यबाट धम्कीरकुटपिटका तीन, घरेलु हिंसाका २०, घरनिकालाका १४ र बहुविवाहका एक गरी ६२ ओटा घटनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा घरपरिवारकै सदस्यहरूबाट महिला, बालकको हत्या तथा छिमेकीहरूबाट बलात्कारका घटना भएको उल्लेख छ ।
पुनरावेदन अदालत बार एकाइका अध्यक्ष महेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणपति भुवनेश्वर आचार्य, सशस्त्रका डिएसपी निरकृष्ण अधिकारी, राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला न्यायाधिवक्ता हिमालय त्रिताल, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार महासंघका निवर्तमान अध्यक्ष धिरेन्द्र प्रसाद साह, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, बालअधिकार अधिकृत पुनम चौधरी, पूर्व प्रधानाध्यापक मीना ठाकुर, शिक्षिका मन्जु श्रेष्ठ, पारालिगल अभियान केन्द्रकी अध्यक्ष ज्ञानु भट्टराई, जिल्ला वार एकाईका उपाध्यक्ष गिरीशचन्द्र झा, कानुनी सहायता अधिवक्ता रामप्रसाद गौतम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठक, पत्रकार हेमशंकर सिंहलगायतकाले मानवअधिकार उल्लङ्घनका दोषीलाई कारबाही र पीडितलाई न्यायको प्रत्याभूतिका लागि सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन क्रेस नेपालका कार्यक्रम संयोजक राजेश लोहनीले गरेका थिए ।

