दुई चेपाङ बालकको उद्धार
Advertise Here Book Now
पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले उनीहरूलाई उद्धार गरी आश्रय दिएको हो ।
सञ्चारमाध्यममा चेपाङ बालबालिकाले गरिबीका कारण पढ्न र चाडपर्व मान्नसमेत नपाएको समाचार प्रकाशित भएपछि उनीहरूको उद्धार गरिएको केन्द्रले जनाएको छ ।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले मकवानपुरको विकट काकंडा गाविस–१ गाँउमै पुगी स्थानीय जितमानका चार छोरामध्ये आठ वर्षका राम बहादुर र नौ वर्षीय सत्यता चेपाङलाई उद्धार गरी केन्द्रमा ल्याएका हुन् ।
उद्धार गरिएका दुवै जनालाई स्थानीय पञ्चतेजज्योति राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो । सो केन्द्रमा यसअगाडि पनि विकट पहाडी बस्तीका विपन्न एवम् असहाय ७२ जना चेपाङ बालबालिका आवासीय रूपमा आश्रय लिई नजिकैको विद्यालयमा अध्ययन गरिरहेका छन् ।
विकटका विपन्न चेपाङ बालबालिकाले पढ्न नपाइरहेको अवस्थामा यस्ता विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सघाउने कार्य साह्रै नै प्रशंसनीय भएको पञ्चतेजज्योति राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले बताउनुभयो ।
चितवनको रत्ननगरस्थित मङ्गलपुरमा उक्त केन्द्र खोलिएको छ । यहाँ चितवनलगायत धादिङ, मकवानपुरलगायत जिल्लाका चेपाङ बालबालिका आवासीय रूपमा बसेर अध्ययनरत छन् ।

