घाइते बस चालक भन्छन् - एक्कासी गाडी रङ साइडबाट आयो, बजार भएकोले छलाउन सकिनँ
Advertise Here Book Now

mainphotoकाठमाडौं : १० जनाको मृत्यु हुने गरी मकवानपुरको बस्तिपुरमा भएको दुर्घटनामा घाइते भएका एक बस चालक अरबिन मोक्तानले विपरीत दिशाबाट गलत साइडमा आएको बसका कारण दुर्घटना भएको बताएका छन्। 

उपचारका लागि काठमाडौँको त्रिविवि शिक्षण अस्पताल ल्याइएका उनले इमेज च्यानल टेलिभिजनलाई दुर्घटनाबारे यसो भने- 

हेटौडाबाट ११ किलोमिटर पर बस्तिपुर एउटा सानो बजार छ। त्यहाँ पुगेपछि एक्कासी रङ साइडमा विपरीत दिशाबाट मैले हाँकेको बस पट्टी आयो। मैले थाहा पाइहालेँ। एउटा गाडीको ड्राइभर भएपछि चाल पाइहालेँ। मैले ब्रेक हानेर आफ्नो साइड पट्टी लागेँ।

अलिकति सम्म परेको, समतल मैदान भएको भए मैले गाडी छलाउन सक्थेँ। तर त्यहीँनिर बजार र प्रतीक्षालय भएकोले मैले बचाउन सकिनँ।
 
विपरीत दिशाबाट आएको बसको ड्राइभर र यात्रुसँग विवाद भएर दुई तीन ठाउँमा फाल्न खोज्ने ठोक्काउन खोजेको थियो भनेर यात्रुहरुले नै भनेको सुनेँ। त्यो ड्राइभर पनि २५/२६ वर्षको छ रे भन्ने सुनेँ। 

राजधानीबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौँ आउँदै गरेको दुई यात्रुवाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडीमा ठोक्किएको थियो।  

राति दुई बजे भएको दुर्घटनामा ८ जनाको घटनास्थलमा, एकजनालाई उपचारका लागि लैजाँदै गर्दा र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए।

मकवानपुरका एसपी प्रकाशजंग कार्कीका अनुसार ज्यान गुमाउने मध्ये इलामबाट काठमाडौं आउँदै गरेको बसका ९ जना छन् भने एकजना काठमाडौंबाट विराटनगर जाँदै गरेका बसका यात्रु हुन्।

एउटा बसका ड्राइभर घाइते छन् भने अर्को बसका ड्राइभर फरार छन्।

प्रारम्भिक अवलोकनबाट तीब्र गति बस दुर्घटनाको कारण रहेको देखिएको एसपी कार्कीले पहिलोपोस्टलाई बताए। 

दुर्घटनामा घाइते ३२ जनालाई मकवानपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन पठाइएको घिमिरेले बताए।

‘यो खासै दुर्घटना हुने ठाउँ त होइन। तर ठूलो दुर्घटना भयो’, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘के कारणले दुर्घटना भयो अनुसन्धान गर्छौँ।‘ 

मृत्यु हुनेहरु
इलाम नगरपालिका–२ की सुजाता काफ्ले,
इलाम नगरपालिका–३ की रक्षा श्रेष्ठ
इलाम नगरपालिका–४ की इसा कार्की,
इलाम नगरपालिका–६ का प्रिजब दाहाल,
इलाम नगरपालिका–८ का रोशन भट्टराई,
बरबोटे धारापानीका प्रवीणराज आचार्य,
नामसालिङका मिलन अधिकारी
आस्था (थर खुलेको छैन)
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्