बालबालिकाले भने जलेश्वरमा चाहिन्छ ‘जेब्रा कर्सिङ्ग’
Advertise Here Book Now



राकेश प्रसाद चौधरी

महोत्तरी, ६ पुष ।

जलेश्वर नगरपालिकाका बालबालिकाले सफा र ट्राफिक चिन्ह भएको सडक, बालश्रम, बालविवाह, दुव्र्यशन र दुव्र्यवहार मुक्त शहर तथा मदिरा बिक्रीवितरण निषेधित विद्यालय क्षेत्रको परिकल्पना गरेका छन् ।

       बालबालिकाले आफूहरुबाट प्राथमिकतामा राखिएको काम तत्कालै हुनुपर्ने माग समेत गरेका छन् । जलेश्वर नगरपािलका कार्यालयले बार्षिक योजना छनौटका लागि आयोजना गरेको बाल भेलाले विभिन्न सवालहरु पहिचान गरि समाधानका लागि कार्यक्रम बनाउन निर्णय गरेको जलेश्वर नगरपालिका कार्यालयका सामाजिक विकास शाखाका प्रमुख बसन्त ठाकुरले बताए । बालबालिकाले विद्यालयमा नैतिक शिक्षा तथा अन्धविश्वास बिरुद्धको चेतना अभिबृद्धि हुनुपर्ने माग समेत तेर्साएका हुन ।

       बाल संरक्षण अधिकृत केआर बिजयले बालबालिकाले समाज र विद्यालय केन्द्रित समस्याहरु उठान गरेकोले यसको समाधान गर्न सम्बन्धित सरोकारवालाहरु सक्रिय हुनुपर्ने बताए । विद्यालयहरुमा जत्ति भने पनि छात्रा शौचालय नबनाएको तथा नगरमा पनि महिला शौचालय नभएकोले यसबारे नगरपालिका कार्यालयले समयमै सोच्नुपर्ने बाल कल्वका सदस्य शिखा चौधरीले बताए ।

       जलेश्वर नगरपािलका कार्यालयका लेखापाल राजेन्द्रप्रसाद चौधरीले बाल भेलाबाट आएका समस्याहरुको समाधानका लागि कार्यक्रम बनाइने तथा आफ्नो कार्यालयबाट हुन नसक्ने कामका लागि अन्य सम्बन्धित कार्यालयसँग आग्रह गरिने जनाए । काजल साह, बिटु पासवान, गौरब पाण्डे र अनुराग दुबेसहितका बाल प्रतिनिधिहरुले छोराछोरीबीचको बिभेद, सडकमा फोहरमैला मन नपर्ने भएकोले यसबारे जनचेतना फैलाउने प्रतिबद्धता जनाउनुका साथै नगरस्तरीय बाल कल्ब संजालका अध्यक्ष रोशन साहले जलेश्वरका सडकहरुमा जेब्रा कर्सिङ्ग भए विद्यालय जाने भाईबहिनीहरु सुरक्षित हुने बताए ।

       भेलामा ८ देखि १८ बर्ष उमेर समूहका बालबालिका सहभागी थिए । जलेश्वर नगरपालिका २०३९ सालमा स्थापना भएपनि यहाँका सडकहरुमा अझैसम्म ट्राफिक चिन्हहरुको ब्यबस्था गरिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्