'धोकेबाज' भन्दै अन्धाधुन्ध छुरा प्रहार गरे रितु माथि
Advertise Here Book Now

२०७१ मंसिर २२ सोमबार नेपाली समय १० : ४३ : ५८ बिहान 

 काठमाडौंको मैतीदेवी-पुरानो बानेश्वर सडकबाट धोबिखोला पुल नतर्दै दाहिने मोडिँदा धोबीखोला तिरैतिर एकलास बाटो छ। दिउँसै पनि निकै कम मानिस हिँड्ने।

 
मूल सडकबाट देब्रे मोडिएर करिब दुई सय मिटर अघि हिँडेपछि दाहिनेपट्टी छ फ्रेन्ड्स एण्ड फ्यामिली गर्ल्स होस्टेल। छोटकरीमा लेखिएको छ 'एफ एण्ड एफ होस्टेल'।
 
यही होस्टेलमा बस्दै आएकी धनुषा जिल्ला तुलसीयाही जब्दी गाविस ४ निवासी २० वर्षकी रितु महासेठको शनिबार बिहान करिब साढे १० बजेतिर हत्या भयो। घटनाका प्रत्यक्षदर्शी थिए - उनका दुईजना साथी- अनुपा र कञ्चन।
 
रितुको कमलो शरीरमा हत्याराले अलिकति पनि माया नदेखाई अन्धाधुन्ध छुरा प्रहार गर्‍यो, रगतपच्छे घाइतेलाई झाडीमा फाल्यो र पैदलै दक्षिणतिर लाग्यो।
 
रितुकी एक साथी दौडिँदै होस्टेलतिर लागिन्, अर्की साथी चिच्याउन। केही बेरमा मान्छेहरु जम्मा भए। रितुको घाइते शरीर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइयो। त्यहाँबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। केही घण्टामै चिकित्सकले रितुलाई मृत घोषित गरे।
 
घटनाको २४ घण्टा बितिसक्दा पनि राजधानीमा दिनदहाडै भएको यो हत्याकान्डबारे खासै कभरेज नभइरहेको बेला पहिलोपोस्ट सम्वाददाता आइतबार दिउँसो तीन बजे घटनास्थल पुगे। बाटोको छेऊमा सुकेको रगतको टाटा देखिन्थे। बाटोबाट दाहिनेपट्टी रहेको खाली जमिनमा रहेको झाडीमा पनि सुकेको रगतका टाटा थियो।
 
रितुको रगतपच्छे शरीर ट्याक्सीमा हालेर अस्पताल पठाउने मध्येका एक थिए, आलोक घोरासैनी। 'चिच्याएको सुनेपछि हामी हतारहतार तल झर्‍यौँ। झाडीमा उनी छटपटाइरहेकी थिइन्। उनी साडी र ब्लाउजमा थिइन्, कतै पार्टीमा जान लागेझैँ', उनले भने, 'त्यसपछि मान्छेहरु जम्मा भए। होस्टलबाट अरु पनि आए। ट्याक्सीमा चढाउँदा नै आधा घण्टा बितिसकेको थियो।'

 
घाइतेको पाखुरा, कोखा र पेट तीन ठाउँमा गम्भीर घाउ देखेको घोरासैनीले बताए।
 
घोरासैनीले भने झैँ रितु होस्टलमै बस्ने एकजना साथीको बिहेमा जाँदै थिइन्। होस्टलमा बस्ने अरु पनि बिहेका लागि निस्कँदै थिए तर उनी र अरु दुईजना अलि अगाडि निस्के। होस्टलबाट केही मिटर अगाडि उनलाई मात्र ताकेर पटकपटक छुरा प्रहार भयो।
 
काठमाडौंमा पढ्न आएकी छोरीको हत्या भएको खबरले विक्षिप्त बाबुआमा र केही आफन्त आइतबार काठमाडौं आएका छन्। रितुकी आमा रेखा शिक्षण अस्पतालको पोस्टमार्टम वार्ड बाहिर दिनभर अर्धचेत अवस्थामा रोइरहेकी थिइन्। उनका बाबु के गर्ने के नगर्ने अन्यौलमा थिए। न उनी छोरीको शव जलाउन लैजान सक्थे,न कसैलाई केही भन्न नै।
 

लाशमाथि एमाले राजनीति

परिवारका सदस्य मृतकको शव जलाउन तयार नै थिए। तर त्यही बीचमा शिक्षण अस्पतालमा लाशमाथि राजनीति गर्नेहरु आइपुगे। उनीहरुले हत्यारा पत्ता नलागेसम्म लाश उठाउन नदिने घोषणा गरे। परिवारका मान्छेसँग पनि उनीहरुले कुरा गरे र तत्काल अन्तिम संस्कार नगर्न सहमत गराए।
 
नेकपा एमालेका नेता रघुवीर महासेठकी श्रीमती जुली महतो आफै अस्पताल आएर मृतकका परिवारलाई 'ढाडस' दिएकी थिइन्। 'सहयोग' को वाचा गरेकी थिइन्। संघीय सद्‍भावना पार्टीका अनिल झा पनि शिक्षण अस्पताल पुगेका थिए।
 
'हामी आजै आर्यघाट लगेर अन्त्येष्टि गर्न चाहन्थ्यौँ। जे हुनु त भैगयो। किटानी जाहेरी दिइसकेका छौँ। प्रहरीले आफ्नो काम गर्ला। लाश के का लागि अड्काउने?', मृतकका एक आफन्त भन्दै थिए। तर आवाज 'राजनीति' गर्नेहरुकै चर्को भयो।
 
'भोलि पनि लाश नउठ्न सक्छ', भन्दै उनीहरु आइतबार साँझ पोस्टमार्टम वार्डबाट बाहिरिए। रितुकी आमाको रोदन रोकिएको थिएन।
 
 

दुई दिनदेखि कलेज गएकी थिइनन्

धनुषाको श्री वैद्यनाथ देवनारायण जनता माविबाट २०६६ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण रितुले भारतको हाइयर सेकेन्डरी एजुकेसन बोर्ड दिल्लीबाट यही वर्ष ८४ प्रतिशत प्राप्ताङ्कसहित उच्च मावि उत्तीर्ण गरेकी थिइन्। त्यसपछि पढ्नलाई उनी काठमाडौँ आइन्।
 
रितु काठमाडौंको पुरानो बानेश्वरस्थित कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फरमेसन टेक्नोलोजीमा बिबिए पहिलो सेमेस्टर अध्ययनरत थिइन्। उनी कलेज भर्ना भएको एक महिनामात्र भएको थियो।
 
'म यो कुरा सुनेर 'सक' छु। ऊ सोझी थिइ', कलेजका अकाउन्ट अफिसर अमित पाण्डेले भने, 'बोलीचाली/लवाइ सबै सामान्य। मैले पत्याउनै सकिरहेको छैन।'
 
पाण्डेका अनुसार रितु गएको बिहीबारदेखि नै कलेज आएकी थिइनन्। कलेज भर्नापूर्व भरिएको फारममा उनले आफ्नो रुचिबारे उल्लेख गरेकी छन्- वाचिङ मुभी (फिल्म हेर्ने), सिंगिङ (गाउने) र भिजिटिङ (घुम्ने)।
 
फिल्ममा धेरै रुची भएकोले नै होला, फेसबुकमा उनले प्रोफाइल पिक्चर पनि भारतीय अभिनेत्री तथा मोडल जेनेलिया डिसुजाको राखेकी थिइन्। होस्टल इञ्चार्ज शारदा भट्टराईका अनुसार उनी फेसबुक प्रोफाइलमा नाम 'चेन्ज' गरिरहन्थिन्। रिट्ज महासेठ नाम राखिएको फेसबुकमा सार्वजनिक रुपमा देखिने गरी उनले कुनै पनि फोटो राखेकी छैनन्।
 

धोकेबाज... धोकेबाज..

रितुलाई छुरा प्रहार गर्नेले धोकेबाज धोकेबाज भन्दै छुरा प्रहार गरेको प्रत्यक्षदर्शी तथा रितुकी होस्टल पार्टनर अनुपा राजवंशीले बताइन्। 'उसले धोकेबाज धोकेबाज भन्दै चक्कुले हिर्कायो',  अनुपाले भनिन्, 'मलाई पर्सनल कुरा थाहा छैन। कुनै समस्यामा परेजस्तो उसको मुहारबाट देखिन्नथ्यो।'
 
उनीहरु एफ एण्ड एफ होस्टेलमा डेढ वर्षदेखि सँगै थिए। तर कोठा छुट्टाछुट्टै। 'पर्सनल कुरा हुँदैनथ्यो। तर ऊ एकदम सामान्य थिइ' अनुपाले भनिन्।
 

किटानी जाहेरी

मृतकका बाबु शम्भु महासेठले गाउँकै पप्पु पूर्वेले छोरीको हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएका छन्। मृतकका मामा सञ्जिवकुमार महतोका अनुसार विदेशमा रहेका पप्पु गएको नोभेम्बर १ मा नेपाल आएका थिए।
  
पप्पु र रितुको घर सँगसँगै छ। रितुको शव रहेको त्रिवि शिक्षण अस्पतालमा रहेका आफन्तहरुका अनुसार दुवै एउटै स्कूलमा सँगै पढेका हुन्।  
 
उनीहरुले पप्पुले पहिले पनि फोन गर्ने धम्क्याउने गरेको आरोप लगाएका छन्। महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी सन्तोष खड्काले पीडित पक्षबाट किटानी जाहेरी परेको र अनुसन्धान जारी रहेको बाहेक अरु प्रतिक्रिया दिन मानेनन्।

Sourcepahilopost

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्