​युएनडिपी भन्छ- ‘काठमाडौँका पुरुषको एकभन्दा धेरै यौन साथी’
Advertise Here Book Now

mainphotoकाठमाडौँ : काठमाडौँका पुरुषहरुको एकभन्दा धेरै यौन साथी हुने गरेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को एक अध्ययनले देखाएको छ।
 
‘नेपाली मास्कुलिनिटिज एन्ड जेन्डर बेस्ड भ्वाइलेन्स’ शीर्षकको अध्ययन प्रतिवेदनले पुरुषहरुको स्वभावै धेरै यौन साथी बनाउने खालका हुने र यौन सम्बन्धका लागि पैसा खर्च गर्न समेत पछि नपर्ने मान्यता अधिकांशमा भएको देखाएको छ।
 
यद्यपि महिलाले यौन सम्बन्धका लागि पैसा तिर्ने अथवा विवाहअघि यौन सम्बन्ध राख्ने र व्यभिचार भने स्वीकार गर्न नसकिने धारणा धेरैमा देखिएको छ।
 

विवाहअघिको यौन सम्बन्ध बारे

विवाहअघिको यौन सम्बन्धबारे प्रतिवेदनमा पुरुष र महिलाबारे अलग अलग धारणा देखिएको छ। विवाहअघि पुरुषले महिलासँग यौन सम्बन्ध राख्नु स्वीकार्य भएको विचार काठमाडौँ उपत्यकाका ४१ प्रतिशतले राखे।
 
तर महिलाले विवाहअघि यौन सम्बन्ध राख्ने सम्बन्धमा भने ४७ प्रतिशतले स्वीकार्य नभएको धारणा राखे। स्वीकार्य भन्नेको संख्या १९ प्रतिशत मात्र थियो जबकि पुरुषको मामिलामा अस्वीकार्य भन्नेको संख्या २३ प्रतिशत थियो।
 

विवाहपछिको यौन सम्बन्ध बारे

विवाहित पुरुषले अरु महिलासँग यौन सम्बन्ध राख्नु स्वीकार्य हुने कि नहुने भन्ने प्रश्नमा उचित हुने धारणा राख्ने २१ प्रतिशत छन्। महिलाको मामिला आएपछि भने यो संख्या खुम्चिएर ७ प्रतिशतमा झरेको छ।
 
विवाहपछि पुरुषले अरु महिलासँग यौन सम्बन्ध राख्‍नै नहुने धारणा ३६ प्रतिशतको छ। विवाहित महिलाले परपुरुषसँग यौन सम्बन्ध राख्न नहुने धारणा ५६ प्रतिशतको छ।
 

उमेर र यौन सम्बन्धी धारणा

कम उमेरकाभन्दा धेरै उमेरका मानिसहरु यौन सम्बन्धका विषयमा अनुदारवादी देखिएका छन्। धेरै साथीहरुसँग यौन सम्पर्क गर्नु उचित हुने धारणा काठमाडौँका १५ देखि २० वर्ष उमेर समूहका ६३ प्रतिशतले राखेका छन् भने ५० वर्ष नाघेकाहरुसम्म आइपुग्दा यो संख्या ३८ प्रतिशतमा झरेको छ।
 
३० देखि ४० वर्ष उमेर समूहका पनि ३८ प्रतिशतले नै यस्तो धारणा राखेका छन्।
 

हिंसाबारे धारणा

प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका ६० प्रतिशतले महिलाको शारीरिक बनौटबारे टिप्पणी गर्नुलाई हिंसात्मक कार्य भएको विचार व्यक्त गरेका छन्।

त्यस्तै ८१ प्रतिशतले कोही पनि केटी वा महिलालाई उसको मञ्जुरी बिना छुनु हिंसा हुने विचार व्यक्त गरेका छन्।

अपरिचित मात्र होइन, आफ्नै श्रीमती वा साथीसित पनि उनको मञ्जुरी बिना शारीरिक सम्बन्ध कायम गर्नुलाई ८९ प्रतिशतले हिंसा ठहर्‍याएका छन्। सडक वा सार्वजनिक यातायातमा केटाले केटी जिस्क्याउनुलाई ७७ प्रतिशतले हिंसा मानेका छन्।

‘सर्वेक्षणमा समेटिएका तराईका सहभागीहरुलाई लैङ्गिक आधारमा हुने हिंसाका बारेमा कम जानकारी भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ।

यौन हिंसाबाट पीडितहरु

काठमाडौँ उपत्यकाका ४० प्रतिशत महिलाले आफूहरु यौन हिंसाबाट पीडित भएको बताएका छन्। तराईमा यो संख्या अझ बढेर ५७ प्रतिशत छ।   
काठमाडौँ उपत्यकाका १६ प्रतिशत पुरुषले पनि आफूहरु यौन हिंसाबाट पीडित भएको बताएका छन्। तराईमा यो संख्या २६ प्रतिशत छ।
 
काठमाडौँ उपत्यकामा ३१ प्रतिशत निम्न मध्यमवर्गीय र १५ प्रतिशत मध्यमवर्गीयले यस्तो हिंसा अक्सर भोगेको बताए। तराईका भने ३० प्रतिशत निम्न मध्यमवर्गीय, र २१ प्रतिशत मध्यमवर्गीयले यस्तो हिंसा भोगेको बताए।  
 

‘मर्दको दसवटी?’

धेरै पढेको र आर्थिक स्तर उच्च भएकाहरुले भने प्राकृतिक रुपमै पुरुषहरु धेरै यौन साथी हुने भन्ने धारणालाई कम स्वीकार गर्ने देखियो।
 
यही मेसोमा विश्वविद्यालयका एक उपप्राध्यापकको यस्तो भनाई पनि प्रतिवेदनमा समेटिएको छ,
“एक पटक मैले मेरी पत्नीलाई सोधेँ, के तिमी अरु पुरुषसित यौन सम्पर्क गर्नेबारेमा सोच्छौ?  उसले भगवान कसम छैन भन्दै कसम खाइन्। तर मैले उनलाई स्पष्ट रुपमा भनेँ, म चाहिँ अरु केटीबारे सोच्छु है। पुरुषहरु प्राकृतिक रुपमै बढी आक्रामक हुन्छन्। यो जिनका कारण हुने हो। यौन सम्पर्कका लागि पुरुषले पहल लिनु स्वभाविक हो। मेरो विचारमा हिंसाको परिभाषा परिवर्तन हुनुपर्छ। नयाँ परिभाषा अनुसार पुरुषले महिलालाई छुन, अझ प्रशंसा गर्न समेत हुँदैन। तर यदि उनीहरुले महिलाको प्रशंसा गरेनन् भने रोमान्टिक सम्बन्ध कसरी अघि बढ्छ? र महिलाले पनि पुरुषलाई नामर्द ठान्नेछिन् यदि उसले आफूलाई प्रस्ताव गरिनन् भने।“

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्