होटल–रिसोर्टभन्दा बाहिर निस्किनु पर्छ १६ दिने अभियान(विचार)
Advertise Here Book Now

स्नेहा झा / महिला हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान मनाइदै गर्दा देशको अति संवेदनशील क्षेत्र राजधानी काठमाडौंमा दिउँसै एक युवतीको हत्या हुन्छ । महिला हिंसा विरुद्ध शुन्य सहनशिलताका नारा मुलुकभर लगाइरहँदा धनुषा जिल्लाकी २० वर्षीया रितु महासेठमाथि सात ठाउँमा छुरा घोपी निर्ममता पुर्वक हत्या हुन्छ । हत्या भएको चार दिन बितिसक्दासमेत सुरक्षा संयन्त्रले सत्यतथ्य पता लगाउन सकेको छैन भने अपराधी नियन्त्रणभन्दा बाहिर छ ।
महिला हिंसाको अवस्था नेपालमा मात्र नभई अन्य मुलुकहरुमा पनि यस्तै छ । विवाह पञ्चमीमा छिमेकी मुलुक भारतमा मेला भर्न गएकी बर्दियाकी मुक्त कमलरी किशोरीको सामूहिक बलात्कार गरियो । सीमावर्ती बहराइचको बिछियास्थित कटरियानजिक चार भारतीय नागरिकले उनको बलात्कार गरेर हत्याको प्रयास गरे ।
गढिमाई मेलामा भारतीय एक महिलाको सामूहिक बलात्कार गरिएको घटना पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा नै भएको हो । भारतीय महिलाको बलात्कारका सबै अपराधी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
१६ दिने अभियान चलिरहँदा देशका विभिन्न भागमा भएका यी नमुना घटना मात्र हुन् जुन मिडियामा आयो । तर यस्ता कैयन घटनाहरु छन् जो कोठाभित्र र जंगलझारीमै दबिएका छन् । राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाँईका अनुसार महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु भएयता मात्रै पनि महिला आयोगमा ५० भन्दा बढी उजुरी परिसकेका छन् ।
मिडियामा नआएका र समाचार नबनेका अरु कति घटना होलान् ? अरु कति पीडित होलान् जसको पिडाको साक्षी कोही छैन । वर्षभरी नै हुने महिला हिंसाका घटनाहरुको त के कुरा गर्नु । महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको पनि २४ वर्ष बितिसक्यो । अझ नेपालमा त अन्तर्राष्ट्रिय दिवसको १६ दिन मात्र नभएर वर्षै भरी महिला हिंसा विरुद्धका कार्यक्रमहरु सञ्चालन भइनै रहन्छन् ।
महिला हिंसाका विरुद्ध र महिला अधिकारका लागि कार्यरत संस्थाहरुको पनि बाक्लै उपस्थिती छ । सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय भएर लागिपरेका छन् महिला हिंसा निर्मूल पार्न तर पनि महिला हिंसाका घटना भने वर्षेनी बढ्दो छ । यति धेरै संघ–संस्था क्रियाशिल रहँदा–रहँदै पनि किन महिला हिंसाका घटना न्यून हुन सकेको छैन त ?
नेपालमा महिला हिंसाका घटना दिनानुदिन बढ्दै जानुमा यहाँको कानुन कार्यन्वयनमा पनि कमजोरी देखिन्छ । कमजोर कानुनी व्यवस्था र भएको कानुनको पनि उचित कार्यान्वयन नहुँदा महिला हिंसाका घटना बढ्दै गएका छन् । अधिकांश मुद्दामा प्रहरीले अपराधीको पहिचान गर्न सक्दैन र अपराधीको पहिचान भईहाले पनि कसुर अनुसारको सजाय दिइदैन । बलात्कारजस्ता महिला हिंसाका घटनाको कानुन आपैmमा विभेदकारी पनि छ । आर्थिक–राजनीतिक चलखेलले पनि अपराधी उम्काइन्छ । अर्को विकराल समस्या ‘मिलापत्र’ पनि हो । एकै परिवार वा एकै गाउँठाउँको भएकोले हिंसा ढाकछोप र दोषी उम्काउने सजीलो उपाय मिलापत्र पनि हो ।
मंसिर २० गते राजधानीजस्तो संवेदनशील क्षेत्रमा दिउँसै एक युवतीको हत्या हुनुले प्रहरी प्रशासनको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ । कतिपय घटनामा त प्रहरी आपैm पनि दोषी हुन्छन् । गढिमाई मेलामा कतिपय महिलाले प्रहरीहरुले नै यौन दुव्र्यवहार गर्ने गरेको बताएका छन् ।
यता महिला हकअधिकार वा मानवअधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको कार्यशैली महिला हिंसा न्यूनिकरण गराउनुभन्दा पनि नारा लगाउनुमा बढी केन्द्रित छ । समाजमा अभैm पनि एउटा ठूलो वर्ग छ जुन शिक्षा र चेतनाबाट कोसौं टाढा छ । उनीहरुसम्म महिला हिंसा विरुद्धका नाराहरु पुग्दैपुग्दैन । महिला हिंसाका अधिकांश घटनामा पीडित गरीब, अशिक्षित वा सामाजिक रुपमा कथित तल्लो जातका वा दलित हुने गर्छन् । हुन त धेरै ठाउँमा शिक्षित र सम्पन्न महिलाहरु पनि महिला हिंसाका घटनाको शिकार नभएका होइनन् । सामाजिक र आर्थिक रुपले पछाडि परेका यो वर्गलाई जबसम्म शिक्षा र आर्थिक सुदृढिकरणको बाटोमा ल्याउन सकिदैन उनीहरु हिंसाको शिकार भइनै रहन्छन् ।
जबसम्म समाजभित्र महिलालाई हेर्ने सकारात्मक दृष्टिकोण बढ्दैन तबसम्म महिला हिंसाका घटनाहरु बढी नै रहन्छन् । महिला हिंसा विरुद्धका जति पनि कार्यक्रमहरु हुन्छन् त्यसमा सहभागी हुनेहरु अधिकांश महिला अधिकारप्रति र महिला हिंसाका विरुद्ध सजग व्यक्तिहरु नै हुन्छन् । हिंसाका लागि संवेदनशील क्षेत्रहरुमा शिक्षा र चेतना पुग्न नसकेको वर्गलाई जबसम्म यस्ता कार्यक्रमहरुले छुँदैन तबसम्म हिंसा न्यूनिकरण हुने सम्भावना क्षिण मात्र रहन्छ ।
यस प्रसंगमा राष्ट्रिय महिला आयोगले हालै सञ्चालनमा ल्याएको वक्तित्वकला प्रतियोगितालाई भने सान्दर्भिक मान्न सकिन्छ । चेतनाको विकास सानै उमेरदेखि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै महिला आयोगले पाँचै विकासक्षेत्रका पाँच/पाँच जिल्लामा विद्यालय स्तरमा छात्र र छात्राहरुबीच महिला हिंसा न्यूनिकरणका लागि सचेत नागरिकको भूमिका विषयक वक्तित्वकला आयोजना गरिरहेको छ । आयोगकी प्रवक्ता हुमागाँई भन्छिन्, ‘प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आ–आफनो परिवारलाई मात्र पनि आफना विचार र अनुभव बाँडेको खण्डमा ठूलो संख्यामा महिला हिंसा विरुद्धको सन्देश पैmलिनेछ ।’ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि जारी राख्ने उनको भनाई छ ।
महिला हिंसाका विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै सन्धि र सम्झौताहरु भएका छन् । नेपालमा पनि महिला हिंसाका विरुद्ध आवाज उठाउने र महिला अधिकारका लागि जागरुक वर्गको ठूलै संख्या छ । तर जबसम्म ती आवाजहरुर शहरका गल्ली र होटल–रिसोर्टबाट बाहिर निस्केर गाउँ–गाउँ र घर–घरसम्म पुग्न सक्दैन तबसम्म महिला हिंसाका घटना न्यून हुन सक्दैन ।

