मध्यरातबाट पेट्रोल साढे २ र डिजेल २ रुपैयाँ सस्तो
Advertise Here Book Now

mainphotoकाठमाडौं : नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाएको छ।

निगमले मगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो। भारतीय आयल निगम (आईओसी)ले मंगलबार नै नयाँ मूल्यसूची निगमलाई पठाएको थियो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एकसय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

यसअघि पेट्रोलको भाउ एक सय २५ रुपैँया ५० पैसा र डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ थियो।

नयाँ मूल्य कायम भएपछि निगमको मासिक नाफा ५१ करोड २३ लाख रुपैँया हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

यसअघि निगमलाई खाना पकाउने ग्यासलाई प्रति सिलिन्डर ५ सय ११ रुपैयाँ नोक्सान रहेकोमा अब दुईसय ९० रुपैयाँ ७६ पैसा मात्र नोक्सान हुनेछ। ग्यासमा नोक्सान घटेपछि निगमको नाफा बढेको हो।

अन्तर्राष्ट्रिय बजार र भारतमै ग्यासको भाउ घटेको छ। यसअघि निगमको नाफा मासिक १८ करोड ३७ लाख रुपैयाँ थियो। सरकारले असोज १३ गतेबाट अटोमेसन प्रणालीमा जाने निर्णय गरेपछि पाचौँ पटक मूल्य घटेको हो।

यसअघि संचालक समितिको बैठक समयमा हुन नसकेको भन्दै निगमले पटक पटक भाउ घटाउन ढिलाइ गरेको थियो। तर अघिल्लोपटक भाउ घटाउने बेलामै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले भारतबाट नयाँ मूल्यसूची आउने बित्तिकै भाउ घटाउन निर्देशन दिएपछि निगमले यसपटक भने समयमै मूल्य समायोजन गरेको हो। यसपटक निगमले संचालक समिति बैठक नबसी मूल्य समायोजनको निर्णय गरेको हो।

'हामी आफैंले मूल्य समायोजनको निर्णय गरेका हौं,' घिमिरेले भने, 'अबदेखि यसैगरी मूल्य निर्धारण हुन्छ।'

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्