हामीलाई विहार र युपी देखाउने ओली को हुन् ?
Advertise Here Book Now

हामीलाई विहार र युपी देखाउने ओली को हुन् ?

राजेन्द्र महतो

अध्यक्ष, सद्भावना पार्टी

राजेन्द्र महतोजी, आजकल कहाँ हुनुहुन्छ र केमा व्यस्त हुनुहुन्छ ?
झापा, मोरङ र सुनसरीको भ्रमण सकेर अहिले सर्लाहीमा छु । हाम्रो तीसदलीय मोर्चाले घोषणा गरेको आन्दोलनको तयारीमा जुटेको छु । त्यसअन्तर्गत मुख्यगरी प्रचारप्रसार, कार्यकर्ता प्रशिक्षण र परिचालन तथा विभिन्न आमसभा र कार्यकर्ता बैठकमा सहभागी भइरहेको छु ।
आन्दोलनको तयारीको क्रममा के के काम भइरहेको छ त ?
मधेसमा अहिले आन्दोलनको तयारीको क्रममा कार्यकर्ता बैठक र सभाहरु भइरहेका छन् । माघ २ गते देशभरि नै तीसदलीय मोर्चाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम भयो । ३ गते जिल्ला प्रशासन घेराउ छ । ९ गते जिल्लामा प्रदर्शन, नाराजुलस र विरोधसभासम्बन्धी कार्यक्रम छन् । भिषण आन्दोलनका कार्यक्रमको तयारी चल्दैछ । काठमाडौं आउने तत्काल त्यस्तो कुनै योजना छैन । आवश्यकता पर्‍यो भने जुनसुकै बेला पनि आउनसकिन्छ । तर अहिले सकभर मधेसमै बसेर आन्दोलनमा लाग्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु ।
तपाईंहरुलाई पनि आन्दोलनको रहर लाग्दोरहेछ है । के कस्तो उपलब्धि प्राप्तिका लागि आन्दोलन गर्दै हुनुहुन्छ नि ?
rajendra-mahato-postअहिले हामीले जुन आन्दोलन घोषणा गरेका छौं, यो बाध्यात्मक अवस्था हो । यो मधेसी जनता, मधेसका पार्टी र तीसदलीय गठबन्धनको रहर होइन ।
जब सबै कुरा लुटिन थाल्छन् अनि त्यसलाई मान्छेले बचाउन खोज्छन् । जनताले विगतका विभिन्न आन्दोलनमा लडेर, मरेर जुन एजेण्डा स्थापित गरेका थिए, ती एजेण्डा संविधानसभाबाट सम्बोधन हुने छाँटकाँट देखिएको छैन । विगतमा माओवादी जनयुद्धपछि बाह्रबुँदे सहमति र विस्तृत शान्ति सम्झौता भयो । त्यतिले पनि नपुगेर मधेस विद्रोह र मधेस आन्दोलन भयो । मधेसमा ५३ जना सहिद भए । त्यसपछि मात्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको रोहबरमा मधेसी मोर्चासँग आठबुँदे सहमति गरे । त्यसपछि थरुहट, जनजाति र दलित आन्दोलन पनि भयो । ती विभिन्न आन्दोलनका क्रममा राज्यपक्षले आन्दोलनरत पक्षसँग सहमति गरेको थियो । ती सबै सहमति/सम्झौताको एउटैमात्र मर्म के थियो भने संविधानसभाबाट ती सम्पूर्ण वर्ग र समुदायका हकअधिकार सुनिश्चित गरिनेछ । त्यही मर्मअनुसार हामीले पनि राज्यले विगतमा विभिन्न शोषित पीडित पक्षसँग गरेका सम्झौताको आधारमा नयाँ संविधान जारी गर्नपर्ने भनिरहेका छौं । 
तर संविधान निर्माणको घडीमा आज ती तमाम सम्झौतालाई बेवास्ता गरेर संविधान बनाउने दुस्प्रयास गरिँदैछ । त्यसैले जनताका अधिकारका लागि लड्ने राजनीतिक संगठनका लागि आन्दोलनमा जानु बाध्यकारी भइसकेको छ । कांग्रेस र एमालेले अहिले दुई तिहाइको बलमा जसरी संविधान निर्माण गर्न खोज्दैछन्, यस्तो अवस्थामा हाम्रो लागि संघर्ष गर्नुको विकल्प छैन ।
तपाईं भन्दै हुनुहुन्छ, कांग्रेस र एमालेले दुई तिहाइको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता परिवर्तनका सबै मुद्दा छाडिरहेका छन् । तर उनीहरुले यी सबै मुद्दाको सम्बोधन नयाँ संविधानमा गरिने बताउँदै आएका छन् नि । कसको कुरा मान्ने ?
जब सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले संघीयताको कुरा उठाए, एक प्रवृत्तिका मान्छेहरुले उनलाई विखण्डनकारी भने । जब मधेस आन्दोलन भयो, त्यस आन्दोलनबाट समग्र मधेस एक प्रदेशको माग उठ्यो । अनि पछि थरुहट आन्दोलन भयो र मधेसमा दुई प्रदेश हुनुपर्ने अवस्था आयो । आज मधेसमा दुई प्रदेशको माग हुँदा पनि मधेस विखण्डन हुने कुरा उनीहरुले गरिरहेका छन् ।
उनीहरु संघीयता दिन चाहन्छन्, तर जुन प्रयोजनका लागि संघीयताको माग उठेको हो, संघीयताले त्यो प्रयोजन पूरा गर्नुपर्‍यो नि । जुन मधेसीले संघीयताका लागि विद्रोह गरे, ती मधेसीलाई संघीयताअन्तर्गत आफ्नै शासन र प्रशासनको अनुभूति भएन भने त्यस्तो संघीय प्रदेशको के काम ?
त्यसैले मधेसको धर्तीमा स्वायत्त मधेस प्रदेश बन्नुपर्दछ, जसले उनीहरुलाई स्वायत्तता र अधिकार देओस् । मधेसको भूभाग खोसेर पहाडको प्रदेशमा मिलाउने काम गर्नु हुँदैन । झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर र चितवनको थरुहट क्षेत्रलाई मधेस प्रदेशबाट खोस्ने काम हुँदैछ । यस्तो भयो भने मधेस प्रदेश कहाँ बन्ने ?
तपाईले झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा राख्नुपर्ने भनेपछि केपी ओलीले विहार र युपीको भूभाग मिलाएर मधेस प्रदेश बनाउन किन भने होलान् ?
जब हामी वार्तामा बस्छौं र विगतका भएका सम्झौताअनुसार मधेसमा मधेस प्रदेश र थरुहट प्रदेश निर्माण गर्ने माग गर्छौं । अनि उनीहरुले विहार र युपी देखाउँछन् ।
मधेस प्रदेश हामीले मधेसमा नै बनाउँछौं । हामीलाई विहार र युपी देखाउने केपी ओली को हुन् ? के उनीहरु मधेसलाई युपी विहार ठान्छन् ? के उनीहरु मधेसीलाई भारतीय ठान्छन् ? अनि आफूलाई असली नेपाली ठान्छन् ? नेपाल र भारत बन्नुभन्दा पहिलेदेखि मधेसको धर्तीमा बसोवास गर्ने मधेसीलाई भारतीय भन्न अलिकति पनि हिच्किचाउँदैनन् उनीहरु । तिमीहरु भारतीय हौ भनेर हर्क गुरुङले पनि हामीलाई भने । त्यसपछि नागरिकताको लडाइँ लड्यौं । मधेसको अधिकार, सम्मान र पहिचानका लागि हामीले लगातार लडाइँं लडिरहेका छौं ।
मधेसका जनताका कहीँबाट आएका होइनन् । केपी ओलीहरु आफै कुमाउ, गढवाल, कन्नौज र राजस्थानबाट आएका हुन् । बाहिरबाट आएका ती व्यक्ति आज यहाँका असली शासक बनेका छन् । असली धर्तीपुत्रलाई विदेशी करार गरेर उनीहरुलाई अहिलेसम्म अधिकार दिएका छैनन् । उनीहरुमाथि उपनिवेश लादेका छन् । उनीहरुको राष्ट्रियता, भाषा, संस्कृति र पहिचानमाथि आक्रमण गरिएको छ । उनीहरुलाई सेना, पुलिस र निजामती सेवालगायत सरकारी निकायबाट वञ्चित गरिएको छ । मधेसीको दुर्भाग्य त्यो दिन सुरु भयो, जुन दिन मधेसको भूभागलाई नेपालमा गाभियो । त्यही दिनदेखि भौगोलिक एकीकरण त भयो तर भावनात्मक एकीकरण हुन सकेन । भावनात्मक एकीकरणका लागि जब हामी स्वायत्त मधेस प्रदेशको कुरा गर्छौं अनि हामीलाई विहार र युपी देखाइन्छ । त्यसैले हामीले फेरि लड्नुको विकल्प छैन ।
संघीयताबारे मधेसका ६ वटा जिल्लाबारे जुन विवाद छ, त्यसमा तपाईं मधेसी नेताहरु लचक भएर कसरी समाधान खोज्नुहुन्छ ?
हाम्रो आग्रह त पूरै मेचीदेखि महाकालीसम्म, भारतीय सीमानादेखि चुरे क्षेत्र र भित्री मधेसलाई मधेस–थरुहट प्रदेशमा राख्नुपर्दछ । यस अतिरिक्त, सहमतिका लागि बीचको बाटो भनेको मधेसका जिल्लाको उत्तरी पहाडी बसोवासवाला क्षेत्रलाई पहाडको प्रदेशमा मिलाउन सकिन्छ । र, तल्लो भूभागलाई थरुहट–मधेस प्रदेशमा राख्न सकिन्छ । खासगरी थारु र राजवंशीलगायतका मधेसका आदिवासी÷जनजातिहरुको हकअधिकार र पहिचान जोगाउन झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर र चितवनको दक्षिणी भूभागलाई मधेस–थरुहट प्रदेशमै राख्नुपर्दछ ।
तपाईहरु आन्दोलनको कुरा गर्दै हुनुहुन्छ । तर प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक र अनौपचारिक रुपमा बारम्बार तपाईंहरुलाई वार्ताका लागि आह्वान गरिराख्नुभएको छ । वार्ताका लागि आउनुपर्‍यो नि ?
हामी वार्ताविरोधी होइनौं । तर ‘वार्ताका लागि मात्र वार्ता’ भए त्यसको कुनै अर्थ छैन । ५÷६ महिनादेखि हामीले वार्ता नै गरिरहेका थियौं । तर मधेसमा प्रचलित ‘बात रहे पञ्चके आ खुट्टा रहे दरे पर’ भन्ने उखानजस्तै कांग्रेस र एमालेले वार्ता पनि गर्ने र कुरा आफ्नै लागु गर्न खोजे त्यस्तो वार्ताको कुनै औचित्य छैन । यसर्थ जसरी पनि दुई तिहाइ बहुमतको आधारमा संविधान बनाइछाड्ने मनस्थितिका साथ वार्ता भयो भने त्यस्तो वार्ता हुनुभन्दा नहुनु नै बेस । त्यसैले कांग्रेस र एमालेले दुई तिहाइको दम्भ त्याग्नुपर्‍यो, अनिमात्र सार्थक वार्ता हुन्छ ।
वार्तामा आउनका लागि हामी तयार छौं । तर केका लागि वार्ता ? सहमतिमा संविधान निर्माण गर्ने सुनिश्चितता भए मात्र हामी वार्तामा बस्छौं । त्यसैले हामी वार्तामा बस्नुभन्दा पहिले कांग्रेस र एमालेले सहमतिमा संविधान निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्दछ र संविधान निर्माणको बहुमतीय प्रक्रिया रोक्नुपर्छ ।
तपाईहरुको मागलाई ध्यानमा राख्दै सुशील कोइराला र केपी शर्मा ओलीले संविधान निर्माण प्रक्रिया रोक्न सभाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई आग्रह गरे । त्यही आग्रहअनुसार नेम्बाङले अहिले अनिश्चित कालका लागि प्रक्रिया स्थगित पनि गर्नुभएको छ । अब पनि आउनुहुन्न वार्तामा ?
(हाँस्दै) अहिले उहाँहरुले बहुमतीय प्रक्रिया स्थगित गर्नुभएको छ । भोलि वार्तामा बोलाएर उहाँहरुले ‘हाम्रो कुरा मान्नुस्, नत्र हामी फेरि प्रक्रिया सुरु गर्छौं’ भन्ने अडान लिए भने हामीले के गर्ने ? वार्ताका लागि आह्वान भनेको आन्दोलन भाँड्ने सत्तारुढ पार्टीहरुको चाल पनि हुनसक्दछ । दबाबमूलक आन्दोलनबिना कांग्रेस र एमालेले हाम्रो कुरा सुन्नेवाला छैनन् । हेर्नुस्, भूलचुकमा कांग्रेस र एमालेले दुई तिहाइको जुन म्याण्डेट पाएको भन्दैछन्, त्यो जनताको म्याण्डेटलाई जनताले परिवर्तन गर्नेछन् । अब तत्काल निर्वाचन त हुँदैन । त्यसैले जनताले सडकको बलमा आफ्नो म्याण्डेट परिवर्तन गर्नेछन् । जब जनता सडकमा ओर्लिनेछन्, अनिमात्र कांग्रेस र एमाले सहमतिमा संविधान बनाउन तयार हुनेछन् ।
तपाईजस्ता विपक्षी मोर्चाका नेताहरुले सहमतिमै संविधान निर्माणका लागि आन्दोलनको विकल्प नभएको बताउँदै हुनुहुन्छ । के पहाड र मधेसका जनता त्यसका लागि तयार छन् त ?
जनता आन्दोलनका लागि एकदम तयार छन् । किनभने, दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले विभिन्न प्रलोभनमा पारेर जनताको मत प्राप्त गरे तर आज ती पार्टी जनताको पक्षमा संविधान लेख्न तयार छैनन् । यसकारण तीसदलीय मोर्चाका कार्यकर्ता र समर्थकमात्र होइनन्, कांग्रेस र एमालेलाई भोट हाल्ने जनता, शुभचिन्तक र समर्थक पनि आक्रोशित छन् र पश्चाताप गर्दैछन् । ती जनता हाम्रो आन्दोलनमा आउन पनि तयार छन् । अहिले हाम्रो आन्दोलनमा विपक्षी मोर्चाका समर्थकभन्दा कांग्रेस र एमालेका कार्यकर्ता र समर्थक लागिरहेका छन् । अतः मधेसमा आन्दोलनको मनस्थिति तयार भइसकेको छ ।
मधेसी मोर्चामा दुई धार देखिएको छ । तपाई र उपेन्द्र यादव आन्दोलनलाई एकमात्र विकल्प देख्नुहुन्छ भने विजय गच्छदारलगायत बाँकी नेताले वार्तामाथि बढी जोड दिइराख्नुभएको छ । यस्तो किन ?
यदि मधेसी मोर्चामा दुई वटा धार छन् भने यो दूभाग्यपूर्ण हो । वार्ताविरोधी हामी पनि छैनौं । मैले र उपेन्द्रजीले पनि वार्ता हुनुहुँदैन भनेर भनिरहेका छैनौं । तर मधेसको धर्तीबाट वार्तामा जानुपर्छ भन्ने साथीहरुलाई मैले के भन्न चाहन्छु भने वार्तामा गएर धोका नखानुस् । बडो मुस्किलले अहिले जनता आन्दोलनको मनस्थितिमा पुगेका छन् । हामीले आन्दोलन छाडेर फेरि वार्तामा गयौं र त्यहाँ धोका खाएर फेरि आन्दोलनको आह्वान गर्‍यौं भने जनताले हामीलाई माफ गर्नै छैनन् ।
एकातिर आन्दोलन चलोस् र अर्कोतिर वार्ता पनि होस् भन्ने चाहनुहुन्छ तपाईं ?
होइन, म त आन्दोलनको विकल्प देख्दिनँ । त्यसैले म आन्दोलन चलोस् र वार्ता पनि होस् भन्ने पक्षमा छुइनँ । सत्तारुढ मोर्चासँग अनौपचारिक कुराकानी गर्नुमा कुनै रोक छैन । सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता नआएसम्म वार्ता होइन, मात्र आन्दोलन जारी राख्नुपर्छ । अतः आन्दोलनलाई रोकेर वार्तामा जानु र धोका खानु आत्मघाती हुनेछ ।
विपक्षी मोर्चामा रहेका नेताहरुमध्ये प्रचण्ड र गच्छदारमाथि अलि बढी आशंका र प्रश्न गर्ने गरिन्छ । यिनीहरु अलिकति ढुलमुले र आवश्यकताभन्दा बढी लचकदार भएर प्रस्तुत हुने नेताको रुपमा पनि हेर्न थालिएको छ नि ।
साथ दिएसम्म, धोका नदिएसम्म उनीहरुलाई भरोसा गर्नुपर्दछ । जुन दिन उनीहरुले धोका दिनेछन्, त्यो दिन खुलेआम भन्नुपर्ने हुन्छ कि उनीहरुले जनतालाई धोका दिए । सबै नेताको गतिविधि जनताले पनि मूल्यांकन गरिरहेकै छन् । प्रचण्डजीसँग मेरो दैनिकजसो कुराकानी भइरहेको छ । उहाँले ठोस रुपमै आन्दोलनको कुरा गरिराख्नुभएको छ । तसर्थ मेरो विचारमा प्रचण्ड र गच्छदारमाथि आशंका गर्नुपर्ने अवस्था आएको छैन र त्यस्तो अवस्था आउने पनि छैन । अहिलेको अवस्थामा आन्दोलनलाई छोडेर सत्ता र भत्ताबारे सोच्नु जघन्य अपराध हुनेछ ।
दुई तिहाइ गणितको आधारमा संविधान जारी गर्न खोजे तपाईहरु संविधानसभाबाट राजीनामा पनि दिनुहुन्छ ?
उनीहरुले संख्याको बलमा संविधान निर्माण गर्न खोजे संविधानसभामा हाम्रो उपस्थिति औचित्यहीन हुनेछ । त्यस्तो अवस्थामा संविधानसभाबाट राजीनामा दिएर सम्पूर्ण रुपमा जनताको बीचमा जानेछौं र आन्दोलनलाई अझ उचाइमा पुर्‍याउने छौं । कांग्रेस र एमालेले हामीलाई राजीनामा गर्ने परिस्थितितिर धकेल्न सक्छन् । त्यस्तो परिस्थितिलाई हामीले सहर्ष स्वीकार गर्नेछौं र एउटा लामो लडाइँ लड्न जनताको बीचमै जानेछौं ।

प्रस्तुति–कुमार अमरेन्द्र                                   स्रोत :ई-समता  

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्