
विराटनगर, फागुन २४ : आफ्नै कोठामा मृत फेला परेका विराटनगर–१९ का ३४ वर्षीय राजेश साहलाई आफ्नै श्रीमतीले हत्या गरेको स्थानीयवासीले आरोप लगाएका छन् । साहलाई उनकै श्रीमतीले हत्या गरेको स्थानीयवासीको आरोप छ । मृतक साहको शव गएराति १ बजे आफ्नै ओछ्यानमा सिरकले छोपेको अवस्थामा फेला परेको थियो । विराटनगर जुटमिलमा काम गर्दै आएका साहको शवको मुचुल्का र पोष्टमार्टमपछि प्रहरीले परिवारलाई हस्तान्तरण गरेपछि आइतबार दिउ“सो उनको स्थानीय मण्ठापोखरी परिसरमा सद्गत गरिएको छ । उनका १० वर्षीय छोरा जेम्स साहले दागबत्ती दिए । आफ्नै ओछ्यानमा सिरकले छोपिएको अवस्थामा भेटिएका साहको घाटीमा तीन–चार ठाउँमा डोरीले बेरिएको झैं गहिरो निलडाम स्पष्ट देख्न सकिन्छ । मृतककी श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भने पनि स्थानीयले घटनास्थलमा त्यस्तो कुनै प्रमाण फेला नपरेको दाबी गरे । गएराति श्रीमान–श्रीमतीबीचमा भनाभनसमेत भएको स्थानीयको भनाइ छ । मृतक साहको घाँटीमा निलडाम देखिएकाले हत्या भएको र हत्यामा श्रीमतीको हात भएको हुनसक्ने स्थानीयको आरोप छ । विराटनगरको रघुपति जुटमिलमा काम गर्ने साह फोरम लोकतान्त्रिकका ट्रेड युनियन सभापतिसमेत रहेको स्थानीयले बताएका छन् । स्थानीयवासीले मृतकको श्रीमतीको चालचलनमा प्रश्न उठाउदै घटनालाई आत्महत्याभन्दा हत्याको रुपमा हेरेका छन् । २०५८ सालमा प्रेमपछि मागीविवाह भएको साह दम्पतीको १ छोरा र १ छोरी छन् । मृतककी श्रीमती सुशीला साहले घरमै मदिरा पसल सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ । मृतकका छोरा जेम्सले समेत घटना भएको राति ३ जना भारतीयहरुले घरमा मदिरा सेवन गरेर गएको बताए ।