‘सरकार ! सुत्केरी गराएको कति पैसा तिर्नुपर्ने हो?’
Advertise Here Book Now

सिरहा गुडीगाउँका एक दलितको प्रश्न
सिरहाका शत्रुधन अस्पतालबाहिर गुनासो राख्दै। तस्बिरः खिलानाथ ढकाल/सेतोपाटी
श्रीमतीलाई सुत्केरी गराउन भनेर हिँडेका सिरहा गुडीगाउँ–१० का शत्रुधन अछामी विराटनगर बसेको एक महिना पुग्न लागेको छ। 
माघ २८ गते श्रीमती पवित्रालाई सुत्केरी ब्यथाले च्याप्यो। 
 
श्रीमती लिएर शत्रुधन हतार–हतार विराटनगरस्थित नोबेल अस्पताल आइपुगे। 
 
सामान्य अवस्थामा शिशु जन्माउन पवित्रा असमर्थ भइन्। 
 
फागुन ५ गते पवित्राको पेट चिर्नुप¥यो। छोरा जन्मियो।
 
बच्चा सकुशल जन्मिए पनि स्वास्थ्य अवस्था राम्रो थिएन। 
 
डाक्टरले तुरून्तै एनआईसियुमा राखेर उपचार गर्नुपर्छ भन्दिए। तर अस्पतालले एनआईसियु बेड ‘अभाव रहेको’ भन्दै अन्तै लैजान सुझाव दियो। 
 
पवित्रा श्ययामा एक्लै भइन्। शत्रुधनले डाक्टरले सुझाए बमोजिम शिशु लिएर विराटनगरकै ग्रीनक्रस चिल्ड्रेन अस्पताल गए। 
 
बच्चालाई तीन दिन एनआईसियुमा राखियो। तीन दिन एनआईसियुमा बच्चालाई स्वस्थ बनाउन उक्त अस्पतालले ४९ हजार ९ सय ८० रूपैयाँ विभिन्न शीर्षकमा लियो। 
 
‘अरू तीस हजार रूपैयाँ औषधी गर्दा सकियो,’ शत्रुधन भन्छन्, ‘ऋण खोजेर अहिलेसम्म उपचार गराइरहेको छु।’ 
 
टाँका खोल्न भनेर फागुन १२ गते पवित्रालाई अस्पतालले डाकेको थियो। पवित्राको पेट चिरेको स्थानको घाउ निको भएनछ। 
 
पवित्रा पुनः अस्पताल (नोबेल) भर्ना भइन्।
 
फागुन २२ गतेसम्म नोबेलले त्यतिकै राखिदियो। विस्तारै निको हुन्छ भन्दाभन्दै एक दिन, दुई दिन गर्दै समय बित्दै गयो। 
 
नोबेलमा डाक्टरले पवित्राको रेखदेख त सित्तैमा गर्दिएका छन्, तर औषधी आफैंले खरीद गर्नुपरेको छ। 
 
‘यत्रो दिनसम्म किन निको भएन ?,’ शनिबार आफन्तले यसरी अस्पतालमाथि प्रश्न सोझ्याए। 
 
‘टाँका राम्ररी लागेको रहेनछ,’ डाक्टरको भनाइ उद्धृत गर्दै शत्रुधन भन्छन्, ‘फेरि अप्रेसन गर्नुपर्छ।’
 
‘बच्चा झिक्दा टाँका राम्ररी नमारेका कारण घाउ बल्झिएको बल्झियै गर्दाेरहेछ,’ उनी भन्छन्, ‘यही निहुँमा हात हालहालको स्थिति भयो।’
 
समयमै प्रहरी पुगेर अप्रिय घटना हुन पाएन। तर डाक्टरले डिस्चार्ज गर्दिन्छु भनेर शत्रुधनलाई धम्क्याइरहेका छन्। 
 
‘सुत्केरी गराउने बहानामा मैले एक लाख २० हजारभन्दा बढी तिरिसकेको छु,’ उनी भन्छन्, ‘म अब कहाँ लैजाऊँ सुत्केरी  श्रीमती लिएर ?’ 
 
सामान्य आर्थिक अवस्थाका शत्रुधन। 
 
पाँच वर्षअघि पवित्रालाई पहिलोपटक सुत्केरी गराउँदा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पचपन्न हजार रूपैया“ तिरेका थिए। 
 
‘त्यो ऋण उकास्न उनलाई कम्ती समस्या परेको थिएन,’ शत्रुधन भन्छन्, ‘दोस्रो सन्तान जन्माउँदा पनि उही हालत दोहोरिएको छ।’ 
 
अस्पतालमा लामो समय बस्नुपरेका कारण सुत्केरी श्रीमतीलाई राम्ररी स्याहासुसार गर्न पनि पाएका छैनन्। 
 
नोबेल अस्पताल आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने अस्पताल हो। यहाँ प्रसूति गराउन आउने आमाहरूले निःशुल्क उपचार पाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 
 
मातृ शिशु कार्यक्रमलाई सरकारले धेरैभन्दा धेरै बजेट छुट्याउने गरेको छ। जनस्वास्थ्य कार्यालयका अनुसार ४५ दिनसम्मको अवधिलाई सुत्केरी अवस्था मानिन्छ। यो समयमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने अस्पतालले आफूकहाँ आएका सुत्केरीको निःशुल्क उपचार गर्नुपर्छ। 
 
‘४५ दिनसम्मको अवधिसम्मलाई सुत्केरी अवस्था मानिएकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने कुनै पनि अस्पतालले निःशुल्क उपचार गर्नुपर्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु वेङदेन भन्छन्, ‘त्यो अस्पताललाई निःशुल्क उपचार गर भनेर सरकारले पैसा दिइरहेको छ, औषधीको पनि पैसा लिन पाइँदैन।’ 
 
नोबेल अस्पतालले प्रसूति गराउँदा विभिन्न बहानामा गैरकानुनी शुल्क उठाइरहेको बिरामीले आरोप लगाउने गरेका छन्। स्वास्थ्य नीतिअनुसार आमा सुरक्षा कार्यक्रम पाएका अस्पतालले बिरामी भर्ना गरेको शुल्क पनि उठाउन पाउँदैनन्। 
 
जनस्वास्थ्य कार्यालय मोरङबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निजी क्षेत्रको अस्पताल नोबेलमात्र हो। यो कार्यक्रम सञ्चालनबापत उपचार प्रकृति हेरेर दुई हजारदेखि ७ हजार रूपैयाँ सरकारबाट बुझ्छन्। त्यसमा प्रसूति उपचार सबै निःशुल्कसहित पाँच सय भत्ता पनि दिनुपर्ने नियम छ। 
 
पैंतालीस दिनसम्म निःशुल्क पाउनुपर्ने सेवामा पैसा खर्चेको खर्चै गर्नुपर्दा शत्रुधनलाई अन्याय महसुस भइरहेको छ। 
 
‘सरकार सुत्केरी गराएको कति पैसा दिनुपर्ने हो तिमीलाई ?,’ शत्रुधनको प्रश्न छ, ‘म एउटा सामान्य दलितले सुत्केरी गराउन लाख रूपैयाँ लिएको ऋण कसरी फिर्ता गर्ने ?’
 
सप्तरी कञ्चनपुर नगरपालिका–६ का किशोर साह पनि शत्रुधनकै नियति भोग्दैछन्। 
 
माघ २४ गते श्रीमती मीनालाई भर्ना गराए। २६ गते अप्रेसन गरेर बच्चा निकालियो। 
 
३० गते अस्पतालले डिस्चार्ज दियो। 
 
टाँका खोल्न चार गते भर्ना हुँदा अप्रेसन गरेको स्थानमा इन्फेक्सन भएको भनेर डाक्टरले फेरि अप्रेसन गर्नुपर्ने बताए। 
 
गत बिहीबार मीनाको दोस्रोपटक अप्रेसन भएको छ। पछिल्लो उपचार गर्दा किशोरले ३५ हजार रूपैयाँ औषधीबापत अस्पताललाई तिरेका छन्। सरकारी नीतिअनुसार औषधीका नाममा यो पैसा अस्पतालले लिनै पाउँदैन। 
 
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले कतिपय विरामीबाट यस्तो गुनासो आउने गरेको तर आफूहरुले बारम्बार सम्बोधन गर्ने गरेको बताए। ‘आमा सुरक्षा कार्यक्रमको नीतिअनुसार रहेर हामीले निःशुल्क उपचार गरिरहेका छौं,’ दाहाल भन्छन्, ‘उहाँ (पवित्रा)को प्रकरण सामान्य थियो, हामीले यस विषयमा चासो लिएर गुनासो सम्बोधन गरिसकेका छौं।’ आमा सुरक्षा कार्यक्रममा ठगिएको महसुस भए अस्पताल प्रशासनमा आएर गुनासो राख्न उनले आग्रह गरेका छन्। 
 
जनस्वास्थ्य प्रमुख वेङदेनका अनुसार सुत्केरी गराउँदा (अप्रेसन)नै गरे पनि त्यति जोखिम मानिँदैन। ‘सुत्केरी गराउने कुरा भनेको साधारण हो, यसमा कुनै पनि किसिमको कम्प्लिकेशन आउँदैन,’ उनी भन्छन्, ‘यस्तो भएको हो भने लापरबाही भएको हुनुपर्छ, हामी छानविन गर्छौं।’  -setopati

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्