National
»
होली अर्थात यौन पर्व : भीम र द्रौपदीको समागम!
होली अर्थात यौन पर्व : भीम र द्रौपदीको समागम!
Advertise Here Book Now
भक्तपुर : फागुन शुक्ल अष्टमीको दिनदेखि यहाँ सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यहाँका बासिन्दाले यौन पर्वका रुपमा एक सातासम्म मनाएका छन्। भीमसेन गुठीका गायजुहरुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’–अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजदेखि बिदाइ गरेका छन्। भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको हो। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखिएको थियो। आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन हुने परम्परा छ। काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएका थिए। संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगु भनिने बताउँछन्। चिर स्वायगु अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा रहेको छ। घुमाइएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउँछन्। बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ। झुन्ड्याइएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्छ। यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा मान्दै भीमसेन र द्रौपदीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ। चिर स्वायगु अर्थात् लिङ्ग झुन्ड्याइएपछि यहाँका नेवार समुदायले भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागुपूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने गर्छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्छ। -रासस -
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्