किन डराए ओली जनकपुर आउन
Advertise Here Book Now
पुरन साह/जनकपुरधाम/२३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुरक्षाका कारण अन्तिम समयमा जनकपुरधाम आउने कार्यक्रम रद्द गरेका छन् । आज(शनिबार) भईरहेको एमाले धुनषाको छैठौं जिल्ला अधिवेशनको प्रमुख अतिथि ओली थिए । तर आज अन्तिम समयमा ओली नआएर महासचिव इश्वर पोखरेललाई पठाउने भएका छन् ।एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साहका अनुसार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम अध्यक्ष केपी ओलीको थियो । तर प्राविधिक कारणले ओली जनकपुरधाम आउन असमर्थ रहेको साहले बताए । उनले भने, ‘उद्घाटन समारोहमा अध्यक्ष ओली आउने कुरा आज विहनसम्म फिक्स थियो तर दिउँसो एका एक महासचिव पोखरेल आउने जानकारी पाएको छु ।’
जनकपुरवासीद्धारा प्रतिकारको तयारी
मधेशीहरुको चर्को आलोचना गर्ने एमाले अध्यक्ष ओली जनकपुरधाम आउने जानकारी पाएपछि जनकपुरवासीहरु ओलीको प्रतिकारको तयारीमा जुटेका थिए । मधेशवादी दलका नेता तथा कार्यकर्ताहरु ओलीको प्रतिकारका लागि बाँसको भाटा तथा कालो झण्डा देखाउने तयारी गरेका थिए ।
यता मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय युवा कमिटिहरुले पनि समर्थन गर्दै ओलीको प्रतिकारका लागि तयारी गरिरहेका थिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दलहरुले ओलीलाई कालो झण्डा देखाउनेदेखि अधिवेशन उद्घाटन स्थलमा तोडफोडसम्मको तयारी गरेको जनाइएको छ । सद्भावना पार्टीका स्थानीय एक नेताले भने, ‘एमाले पार्टी कार्यलय तथा अधिवेशन स्थलमै प्रतिकार गर्ने हामीले तयारी गरेका थियौं तर ओली डराएर मधेशमा पाईला टेकेनन् । मधेशीलाई युपी र विहार देखाउने ओली आज जनकपुरधाममा पाईला टेकोको भए ....।’
केही महिनाअघि एमाले सिरहाको अधिवेशनमा समेत ओली प्रमुख अतिथि भएर आउने पक्का भएको थियो तर सिरहाबासीहरु प्रतिकारका लागि सडकमै ओर्ले पछि ओली काठमाडौं विमान स्थलबाटै फर्किएका थिए ।

