आजबाट काठमाडौँ देखि वनारस सम्म बस सेवा सुरु
Advertise Here Book Now


काठमाडौँ, २१ फागुन, धार्मिक र सांस्कृतिक महत्व रहेको काठमाडौँ र वनारसबीचको सिधा बस सेवाको विधिवत् शुभारम्भ गरिएको छ । बस सेवाको आज शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आदिकालदेखि सम्बन्ध रहँदै आएको काठमाडौँ र वनारसको सिधा बस सेवाले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भयो ।

“काठमाडौँ–वनारस, जनकपुर–अयोध्या र लुम्बिनी– गयाबीचको सम्बन्धले नेपाल र भारतलाई सदियौँदेखि धार्मिक र सांस्कृतिक रुपमा नजिक ल्याउँदै आएको छ”– मन्त्री निधिले भन्नुभयो “यसबाट नेपाल र भारत दुवै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनेछ ।”
    
सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल–भारत सम्बन्धलाई थप आयाम दिन काठमाडौँ–वनारस सिधा बस सेवा फलदायी हुने विचार व्यक्त गर्नुभयो । “नेपालको पशुपतिनाथ र भारतको विश्वनाथबीच पौराणिककालदेखि रहँदै आएको सम्बन्धलाई सिधा बस सेवाले थप सुदृढ बनाएको छ”– राजदूत रायले भन्नुभयो ।
   
शुभारम्भ गरिएको ना ५ ख ३९६९ नम्बरको मञ्जुश्री यातायातको बस आज साँझ ७ बजे पहिलोपटक काठमाडौँको नयाँ बसपार्कबाट वनारसका लागि यात्रु लिएर गुड्नेछ । ३५ जना सिट क्षमताको वातानुकूलीत सुविधा सम्पन्न बसमा पहिलोपटक वनारस यात्राका लागि २५ जना यात्रुले टिकट लिइसकेको र बेलुकीसम्म थप यात्रु बढ्न सक्ने नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

बसका चालक दिनेश लामा पहिलोपटक काठमाडौँ–वनारस सिधा बस सञ्चालन गर्ने अवसर आफूले पाएकोमा अत्यन्त खुसी लागेको बताउनुहुन्छ । पहिलोपटक बस वनारस जाने भएकाले बसको सजावटमा मात्र रु १५ हजार खर्च गरिएको उहाँले जानकारी दिनुभयो । 
  
काठमाडौँदेखि वनारसको दूरी ६०४ किमी रहेको छ । बसबाट पुग्न १६ घन्टा लाग्ने र भाडादर रु दुई हजार १४४ कायम गरिएको छ ।
   
काठमाडौँबाट दैनिक एउटा बस वनारस जाने र वनारसबाट पनि दैनिक एउटा बस काठमाडौँ नेपालका यातायात व्यवसायीले सञ्चालन गर्नेछन् । भारतीय बस पनि दैनिक एउटा वनारस– काठमाडौँ र काठमाडौँ–वनारस ओहोरदोहोर गर्ने बस सेवा शुभारम्भका अवसरमा जानकारी गराइएको थियो ।

यसअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनका अवसरमा मङ्सिर ९ गते नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा काठमाडौँ–दिल्लीबीचको सिधा बस सेवाको शुभारम्भ गर्नुभएको थियो । 

नयाँ दिल्लीको लागि अहिले स्वयम्भूबाट दैनिक एउटा बस जाने र एउटा दिल्लीबाट काठमाडौँ आउने गरेको महासङ्घका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयो ।

निकट भविष्यमै पर्यटकीय नगरी पोखराबाट नयाँदिल्लीका लागि सिधा बस सेवा सञ्चालनको तयारी भइरहेको पनि उहाँले बताउनु भयो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्