टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना (फोटो फिचरसहित)
Advertise Here Book Now

काठमाडौं, फाल्गुन २० - टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएको हो । टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भएको पहिलो पटक हो ।
काठमाडौंको मौसम बुधबार पनि खुलेको छैन । सेतो कुहिरोले भिजिबिलिटी कम भएको विमानस्थल स्रोतले जनाएको छ ।
मौसममा खरावी हुँदा काठमाडौंबाट हुने उडान केही दिनयता प्रभावित हुँदै आएका छन् ।
जहाजमा २ सय ४८ जना यात्रु थिए । उनीहरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो । जहाज अहिले पनि चौरमा छ । जहाजमा सामान्य क्षति भएको छ ।
टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति भएको थियो ।
टर्किस एयर गन्तव्यका हिसावले विश्वको चौथो ठूलो विमान कम्पनी हो । नेपाल-टर्कीबीच सन् २०१० मा हवाई सम्झौता भएको थियो ।
तस्बिरहरुः हेमन्त श्रेष्ठ/ईकान्तिपुर




