रु दुई अर्ब पचास करोडको लागतमा चिनी उद्योग
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ,असाढ़ १४,लहान  सिरहाको चन्द्रोदयपुर गाविसको चोहर्वामा करिब रु अर्ब ५० करोडको लागतमा स्थापना गरिएको हिमालय सुगर मिल्स सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।

दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ् गरी तीन हजार मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आगामी मङ्सिर १ गतेदेखि परीक्षण उत्पादन गर्ने गरी उपकरण जडानको काम भइरहेको छ । मिल्सका उखु प्रबन्धक अरूणकुमार सिंहका अनुसार पुस १ गतेदेखि चिनी उत्पादन सुरु गरिनेछ । चोहर्वा–सिरहा सडकखण्डमा पर्ने उक्त उद्योग ५८ बिघाहा क्षेत्रफलमा फैलिएको छ ।

नेपालको अन्य जिल्लामा सञ्चालनमा रहेका ११ वटा चिनी उद्योगमा नरहेको प्रशोधन गर्ने नयाँ प्रविधिको प्लान्ट आफ्नो उद्योगमा जडान गरिएको सिंहले बताउनुभयो । उद्योगमा रु पाँच करोडको लागतमा नयाँ प्रविधिबाट चिनी प्रशोधन गर्ने नयाँ ‘प्लान्ट’ जडान गरिएको छ । “उद्योगमा जडान गरिएको पाँच मेगावाट क्षमताको टर्वाइनबाट उखु क्रसिङ् गरेपछि उमाल्दा निस्किने बाफबाट बिजुली समेत उत्पादन गरी उद्योग सञ्चालन गर्न सकिनेछ” उहाँले भन्नुभयो ।

उद्योगबाट हुने चिनी उत्पादनसहित तौल, क्रसिङ्, उमाल्ने, चिनी प्रशोधनसहित सबै विभाग ‘कम्प्युटराइज’ प्रविधिमा आधारित भएकाले बढीमा ३०० जनासम्म मजदुरले काम गर्ने उहाँको भनाइ छ । उद्योगपति सरेशप्रसाद सर्राफ र शशि अग्रवालको साझेदारीमा उक्त मिल सञ्चालनको तयारीमा रहेको हो । रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्