नेपालकाे विजयी सुरुवात, ज्ञानेन्द्र र अनिलको कीर्तिमानी साझेदारी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम, असार २५ - नेपालले विश्व ट्वान्टी–२० छनोटमा राम्रो सुरुआत गरेको छ । उत्तरी आयरल्यान्डमा उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो । नेपाल र अमेरिकाको ट्वान्टी–२० मा यो पहिलो आधिकारिक भेट थियो ।

टस जितेर ब्याटिङ रोजेको अमेरिका बेलफास्ट स्थित स्टोरमोन्टमा निर्धारित २० ओभर खेली १ सय २१ रनमा अलआउट भयो । ज्ञानेन्द्रले ५२ रन बनाएपछि नेपालले २ बल अगाडी लक्ष्य पुरा गर्‍यो । ट्वान्टी–२० का सवै संरचनामा ज्ञानेन्द्रको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । गत वर्ष बंगलादेशमा नेपालले विश्व ट्वान्टी–२० मा पहिलो खेल खेल्दा ज्ञानेन्द्रले हङकङविरुद्ध ४८ रन बनाएका थिए ।

ज्ञानेन्द्रले ४३ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । १६औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र आउट भए, जति खेर नेपालको खातामा ९१ रन थियो । अन्तिम २ ओभरमा नेपाललाई १३ रन चाहिन्थ्यो । विनोद भण्डारी १९औं ओभरको पहिलो बलमा ८ बलमा ७ रन बनाई आउट भए । नेपालले त्यो ओभरमा ५ रनमात्र बनाउन सकेपछि अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो ।

कप्तान पारस खड्काले अन्तिम ओभरको पहिलो बलमा चौका, दोस्रोमा २ र तेस्रोमा १ रन प्रहार गरी खेल बराबरीमा ल्याए । चौथो बलमा लेगबाईमा १ रन आएसँगैं नेपालले खेल जितेको थियो । पारस १७ बलमा २ चौका प्रहार गरी २१ र शरद भेषावकर ३ बलमा २ रन बनाई नटआउट रहे ।

तर ओपनिङमा नेपालको समस्या यथावत रहयो । सागर पुन पहिलो ओभरमा चौकासहित ६ रन बनाई आउट भए । नेपालले फर्ममा नरहेका सुवास खकुरेलको स्थानमा अनिल मण्डललाई खेलाउने आश्चार्यपूर्ण निर्णय गरेको थियो । त्यही नै नेपालको लगातार पतन विकेट रोक्ने बहादुरी निर्णय बन्यो । सन् २०१० मा अमेरिकाविरुद्ध नै डिभिजन ५ मा नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका अनिलले ४२ बलमा १ चौका प्रहार गरी २९ रन बनाए ।

अनिलले ज्ञानेन्द्रसँग दोस्रो विकेटमा जोडेको ७९ बलमा ७८ रनले नेपालको विजय आधार तयार पारेको थियो । विश्व ट्वान्टी–२० छनोटमा २० खेल खेलेको नेपालको यो सवैभन्दा ठुलो साझेदारी हो । यसअघि सुवास खकुरेल र ज्ञानेन्द्रले २०१३ मा केन्याविरुद्ध ७७ रन जोडेका थिए ।

बोर्डको आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट निलम्बनमा रहेको अमेरिकाले यसअघि निकै राम्रो सुरुआत गरेको थियो । ४ ओभरमा अमेरिकाले ४१ रन जोडिसकेको थियो । त्यसमा उनीहरुले करण केसीको २ ओभरमा २७ रन प्रहार गरेको थियो । सागरले आक्रामक सुरुआत गरेका ओपनर फहाद बाबरलाई आउट गरे । बाबरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रन बनाए ।

सोमपालले अमेरिकाको दोस्रो विकेट लिएपछि तथा सागर पुन, वसन्त रेग्मी र पारस बलिङमा आएसँगैं नेपालले रनमा अंकुशमात्र लगाएन नियमीत विकेट पनि लिन लाग्यो । शक्ति र वसन्तले ३–३ तथा सोमपालले २ विकेट लिए । कुनै विकेट नलिए पनि पारसले ३ ओभरमा १० रनमात्र दिए । म्यान अफ द म्याच शक्तिले ४ ओभरमा १६ रनमात्र खर्चे । वसन्तले ४ ओभरमा २४ रन दिए । विश्व ट्वान्टी–२० छनोटमा नेपालबाट सर्वाधिक विकेट लिने क्रममा देब्रेहाते स्पिनरद्वय वसन्तले २८ र शक्तिले २२ विकेट लिइसकेका छन् ।

ओपनर अकिम डडसनले अमेरिकाबाट ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ३९ रन बनाए । शक्तिले उनलाई १३औं ओभरको पहिलो बलमा आउट गरे । उनले सोही ओभरमा जापेन पटेललाई पनि आउट गरेपछि अमेरिका पतन भएको थियो । तीब्र बलर सोमपालले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सागरले ३ ओभरमा १९ रन खर्चे । नेपालले शनिबार नामिबियासँग खेल्ने छ । नामिबिया शुक्रबार आयोजक आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्