प्रहरीमा मिलापत्र गरेको एक घन्टामै श्रीमतीको हत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम/ बारम्बार फोन आएको विषयलाई लिएर भएको विवादमा एक युवकले श्रीमतीको हत्या
गरेका छन् । सिराहा घर भएका जाबिर अन्सारीले बिहीबार भक्तपुरमा श्रीमती
साहादाजी खातुनको हत्या गरेका हुन् । आपसी झगडा भएपछि बिहीबार बेलुका
उनीहरू बालकोट प्रहरी प्रभागमा मिलापत्र गरेर घर फर्किएका थिए । फर्कने
क्रममा श्रीमतीको मोबाइलमा अन्य युवकको फोन आएको भन्दै अन्सारीले बाटोमै
श्रीमतीको हत्या गरेर हनुमन्ते खोलामा फालेका थिए । प्रहरीले शुक्रबार
अन्सारीलाई पक्राउ गरेको छ । हत्यापछि कालोपुलस्थित भाउजूको डेरामा लुकेका
उनलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको
मोबाइलमा बारम्बार फोन आउने र त्यही विषयमा सधैँ उनीहरूबीच झगडा हुँदै आएको
थियो । पक्राउ परेका अन्सारीले आफूले श्रीमतीको हत्या गरेर फालेको
स्विकारेका छन् । महानगरीय प्रहरी वृत्त सानोठिमीका डिएसपी भीमकिरण बोगटीका
अनुसार शव फाल्न सहयोग गरेकी उनकी भाउजू सुनसरी घर भएकी मनिका चौधरीसमेत
पक्राउ परेकी छिन् । खातुनको शव खोलाछेउमा शुक्रबार भेटिएपछि प्रहरीले
अनुसन्धान अघि बढाएको थियो । महानगरीय अपराध महाशाखा टेकु र ठिमी वृत्तले
संयुक्त रूपमा अनुसन्धान गरी अन्सारीलाई दुई दिनभित्रै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले दुई वर्षअघि मात्र भागीविवाह गरेका थिए । उनीहरू
बालकोटस्थित पाथीभरा ब्याग उद्योगमा काम गर्दै आएका थिए । दुवैजना सोही
उद्योग परिसरमा रहेको कोठामा बस्दै आएका थिए । प्रहरीका अनुसार अन्सारी २०
वर्षका थिए भने खातुन ३० वर्षकी थिइन् । उमेरअन्तर धेरै भएकाले पनि
उनीहरूबीचको सम्बन्ध राम्रो थिएन । खातुनको मोबाइलमा विभिन्न युवकको
बारम्बार फोन आउने गरेको विषयमा पनि झगडा हँुदै आएको थियो । सिराहाको भदैहा
माइती भएकी अन्सारीसँग खातुनको तेस्रो बिहे थियो । गत बिहीबार पनि झगडा
चर्किएपछि उनीहरू बालकोटस्थित प्रहरी चौकीमा गएका थिए । चौकीमा मिलापत्र
गरेर दुवैजना घरतर्फ हिँडेका थिए । फर्कने क्रममा खातुनलाई फोन आएपछि फेरि
झगडा भएको र खेतमा कुटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । डिएसपी
बोगटीका अनुसार राति फेरि आएर खोलाको किनारमा शव फालेर अन्सारी भागेका थिए ।


