७ लाख ४० हजारको चेक चोरेर ‘लिभिङ टुगेदर’ मा खर्च
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम,आफू काम गर्ने लैनचौरस्थित ह्याप्पी इन्टरनेसनल कम्पनीको चेक चोरेर नबिल बैंकबाट सात लाख ४० हजार रुपैयाँ निकालेको आरोपमा गोरखा देउरालीका १९ वर्षीय समीर देवकोटा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले १५ वटा चेक चोरी गरी साहूको हस्ताक्षर मिलाएर पैसा निकालेका थिए।

ढुगेधारामा बस्दै आएका देवकोटा गत मंसिरदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। सुरुमा मासिक सात हजार तलब पाउँदै आएका उनलाई साहू शिव श्रेष्ठले विश्वासिलो ठानेर दुई हजार तलब बढाई नौ हजार रुपैयाँ पुर्‍याइदिएका थिए।
मदिराको डिलर सञ्चालन गर्दै आएका श्रेष्ठ देवकोटाको विश्वासमा कार्यालयमा पैसा र चेकको खासै ख्याल गर्दैनथे।
गत चैत ३० गतेदेखि देवकोटाले श्रेष्ठको विश्वासमाथि खेलबाड गर्दै खाली चेक चोर्न थालेका थिए। पटकपटक गरी १५ वटा चेक चोरी गरेका देवकोटाले चेकमा श्रेष्ठको हस्ताक्षर मिलाउनसमेत अनेक हर्कत गरेका थिए। अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।
श्रेष्ठले अन्य कागजातमा गरेका हस्ताक्षरलाई चेकमाथि राखेर देवकोटाले डोब मिलाएर हस्ताक्षर गर्ने गरेका थिए। बैंकले थाहा पाउला भनेर देवकोटाले विभिन्न व्यक्तिको नाममा चेक काटेर पैसा झिक्न भ्याएका थिए।
१४ वटा चेक साट्न भ्याइसकेका देवकोटा १५ औं चेक साट्ने क्रममा आइतबार पक्राउ परेका थिए। चेक साट्ने क्रममा नबिल बैंकको कान्तिपथ शाखाले शंका लागेर श्रेष्ठलाई फोन गरेपछि देवकोटा प्रहरीको नियन्त्रणमा परेका थिए।
१९ वर्षका देवकोटा शर्मा थरकी एक किशोरीसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएका थिए। देवकोटा चेक चोरेर पनि कार्यालयमा भने काम गर्दै आएका थिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्