कुमार घैँटेको ‘स्पोट डेथ’
Advertise Here Book Now
काठमाडौँ, ३ भदौ ।
महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका गुण्डाविरुद्ध सुरु गरेको अप्रेसनमा कुख्यात डनको मृत्यु भएको छ ।
महाशाखाले डन कुमार घैंटे भनिने कुमार श्रेष्ठमाथि गोली हानेको हो । उनको मृत्यु भएको बताइएको छ । यद्यपि प्रहरीले औपचारिक पुष्टि गर्न बाँकी छ । प्रहरीले घैँटे गम्भीर घाइते भएको बताए पनि घैंटेका साथीले भने उनको मृत्यु भइसकेको जानकारी दिए ।
महाशाखाको टोलीले कपुरधारास्थित घैँटेकै घरमा उनलाई गोली हानेको थियो । भाग्न खोजेको भन्दै प्रहरीले गोली हानेको हो । उनको टाउकोमा गोली लागेको छ । घाइते भएको भनिएका उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । महानगरीय अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनालको सरुवा भएपछि उनले गुण्डागर्दीविरुद्ध अप्रेसन थालेका हुन् । तर हत्या नै गर्नु पर्ने अवस्थाबारे भने प्रहरीले बताउन बाँकी छ । राजनीतिक संरक्षणमा गुण्डागर्दी फस्टाउदै गएपछि प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेकामा सर्वसाधारण खुशी भए पनि नियन्त्रणमा लिन पर्ने अवस्था हुँदाहुँदै मारिएकोमा आलोचना खेप्नु पर्ने पक्का छ ।
को हुन् घैंटे ?
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका छन् । नेपाली काँग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका गणेश लामा, चक्रे मिलनसँग दुश्मनी रहेका घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो ।
प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए। २०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए ।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो । मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो । हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए ।
यसअघि पनि धादिङका दिनेश अधिकारी चरीलाई प्रहरीले भीमढुंगामा इन्काउन्टर गरेको थियो ।

