आन्दोलनमा मान्छेलाई मर्न उक्साउँदै मधेशी मोर्चा
Advertise Here Book Now

upendraकाठमाण्डौ, भदौ १ । सीमाङ्कनको विरोध गर्दै प्रदर्शन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका नाममा मान्छेलाई मर्न दुरुत्साहन गर्ने निर्णय गरेको छ । मोर्चाको बुधवार बसेको बैठकले मान्छेलाई ‘आन्दोलनमा आउ, मर र परिवारलाई पैसा दिलाउ’ आशयको निर्णय गरेको छ । मोर्चाको बैठकले गठबन्धनले आह्वान गरेको बन्दका क्रममा कसैले ज्यान गुमाए  मृतकका परिवारलाई प्रादेशिक सरकारले ५० लाख रुपैयाँ दिने विवादास्पद र भड्काउ निर्णय गरेको हो । यस्तै मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षा दिने मोर्चाले बताएको छ ।
‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’  मोर्चाका शीर्ष नेताहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले हस्ताक्षर गरेका छन् ।
‘तपाइँहरुले किन मान्छेलाई मर्न दुरुत्साहन गर्ने र उक्साउने निर्णय गरेको ?’ भन्ने एभरेष्ट दैनिक डटकमको प्रश्नमा मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले त्यसलाई अस्वीकार गरे । ‘उक्साएको होईन, अहिले पनि आन्दोलनमा मान्छे मरेका छन । आन्दोलनमा लाग्ने र ज्यान गुमाउनेको परिवारको व्यवस्थापन गर्नु हाम्रो दायित्व हो ।’ श्रेष्ठले भने–प्रादेशिक सरकार बनेपछि हामी त्यो काम गर्छाैं । ’ श्रेष्ठले प्रमुख चार दललाई सशक्त जवाफ दिने तयारीमा रहेको पनि प्रष्ट पारे । ‘चार दलीय सिण्डिकेटलाई हामी सशक्त जवाफ दिन्छौं , नदिई भएन ।’ उनले भने ।
मोर्चाले आन्दोलनमा घाइते हुनेहरुको उपचारका लागि कोष खडा गर्ने र केन्द्रीय उपचार समिति बनाउने निर्णय पनि गरेको छ । मोर्चाको यो निर्णयले आन्दोलन सशक्त बनाउने स्पष्ट संकेत गरेको छ भने आन्दोलन हिंसात्मक पनि हुन सक्ने अनुमान गर्न थालिएको छ । बैठकले समान धारणा बोकेका अरु संस्था र समुदायसँग गठबन्धन गर्ने पनि निर्णय गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्