सशस्त्रले भन्यो–छ एकाइ मात्र सारिएको हो, अनर्गल प्रचार किन ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अजय शाह भदौ १०/ सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यममा सशस्त्र प्रहरी बलको पोस्ट सारिएको भनी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सशस्त्रले विहिबार विज्ञप्ति जारी गरेर देशभर गरी हालसम्म छ ठाउँमा रहेको सुरक्षा बेस तथा अस्थायी पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई मात्रै संवेदनशील स्थानमा ड्युटी गर्ने गरी परिचालन गरिएको जनाएको हो । सोअनुरुप महोत्तरीको लक्ष्मिनिया र सर्लाहीको लच्कामा रहेको अस्थायी पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपिएफ एकाइमा खटाइएको जनाइएको छ । जङ्गलकाे बीचमा रहेका ती ठाउँमा सामान्य छाना लगाई घाम र पानीबाट जोगिने गरी अस्थायी पोस्ट बनाएर प्राकृतिक विपद् परेमा तत्काल परिचालन भई सेवा तथा सुरक्षा प्रदान गर्ने अभिप्रायले ड्युटी गर्ने गरी राखिएकामा हाल सवारी आवागमनको चाप नभएका कारण त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्यत्र संवेदनशील ठाउँमा खटाइएको विज्ञप्तीमा उल्लेख छ । यस्तै, सिरहाको सुरक्षा बेस चिकनाभेडिया र भवननिर्माण सुरक्षा बेस कर्जना सिरहा तथा सप्तरीको सुरक्षा बेस हनुमाननगर सप्तरी र रौतहटको चपुरमा रहेको फरवर्ड बेसमा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपिएफ एकाइमा तैनाथ गरिएको बताइएको छ । ती सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई स्थिति सामान्य भएपछि पुनः सोही एकाइमा तैनाथ गरिने सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कम चुनौतीपूर्ण ठाउँ तथा पाँच–सातजनाको संख्यामा नियमित ड्युटी गर्ने गरी खटिएकालाई अन्यत्र सारिएको हो । छ वटा बाहेक हालसम्म अन्य कुन पनि एकाइलाई अन्यत्र नसारिएको जनाइएको छ । सशस्त्रले सुरक्षासम्बन्धी संवेदनशील विषयमा समाचार प्रकाशन गर्नुपूर्व ध्यान दिन सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।


