बोक्सीको आरोपमा कुटपिट
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
जनकपुर, असोज ७ – धनुषामा बोक्सीको आरोपमा एक परिवारमाथि कुटपिट भएको छ । धनुषाको गिद्धाबेलापट्टी– ८ निवासी राजकुमार मण्डलका ३५ वर्षकी श्रीमती ईन्दुदेवी मण्डलसहित उनका छोराछोरीलाईसमेत छिमेकीहरुले बोक्सीको आरोपमा बुधबार राति घरमै पसेर कुटपीट गरेको पीडितले बताउनुभएको छ ।
निर्घात कुटपिटबाट घाईते भएकी ईन्दुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । पीडितकाअनुसार बुधबार साँझ छिमेकीहरु रामभजन मण्डल, रामसिया मण्डल, संजिव मण्डल, शैलेन्द्र मण्डल, सुनिल मण्डल, छेदिया मण्डल लगायतले घरभित्र पसी कुटपीट गरेका हुन् । डेढ महिनाअघि छिमेकी रामभजन मण्डलका १८ वर्षका छोरा उमेश मण्डलले घरायसी विवादका कारण विष सेवन गरि आत्महत्या गरेपछि आफूले नै टुनामुना लागाएर मारेको भन्दै कुटपिट गरेको पीडितको भनाई छ ।
छिमेकीहरुले सोही आरोपमा बुधबार आफूमाथि पञ्चायत बसाएको र पञ्चहरुले हकारेपछि होहल्ला गरेर आफू भागेको मण्डलले बताउनुभयो । उनीहरु घरभित्रै पसेर आफ्नो जेठाजु राजकिशोर मण्डललाई हातखुट्टा बाँधी आफूसहित छोरी जितु मण्डल, छोराहरु अभिनय र अभिशेषलाई कुटपीट गरेको मण्डलले बताउनुभयो । आफ्नो श्रीमान विदेशमा भएको मौकाछोपी आफूहरुमाथि छिमेकीहरुले बोक्सीको आरोपमा अन्याय गरेको उहाँको भनाई छ ।
प्रहरीहरु घटनास्थाल पुगेपछि कुटपिट गर्नेहरु फरार भएकोले घटना स्पष्ट भइनसकेको सई राजेश सिंहले बताउनुभयो । पीडित परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । स्रोत :उज्यालो

