केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौती
Advertise Here Book Now
सिरहा र धनुषासहित मधेशको अधिकांश जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुँदा केपी ओली प्रमुख अतिथि बनेका थिए । तर मधेशीहरु ओलीको विरोधमा भाटा लिएर सडकमै ओर्लिदा ओली विमानस्थलबाटै फर्किएका थिए ।
अहिले मधेशमा जारी आन्दोलन दबाउन एमालेले युवा संघलाई खटाएको छ । सोही अनुरुप युवा संघले विभिन्न ठाउँमा मधेश कब्जा गर्ने धम्की दिँदै आएको छ । तर कुनै पनि मधेशको जिल्लाको मधेशी बाहुल्य क्षेत्र वा आन्दोलनरत क्षेत्रमा युवा संघ पुग्न सकेको छैन ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी युवा संघले मधेश कब्जा गरेर असोज तीन गते दिपावली मनाउने दावी गरे । तर यता मधेशी युवाहरुले युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई नै मधेशमा कुट्टा टेकेर देखाउन चुनौती दिएका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय एवं तराई मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष सुरेश मण्डलले केपी ओलीलाई मधेशमा प्रबेश गरेर देखाउन चुनौति दिए ।
हुलाकी न्यूजसँग मण्डलले भने,‘युवा संघ जस्ता अपराधी संगठनले मधेश कब्जा गर्ने सुने पछि मलाई हाँसो उठ्यो । म युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौति दिन्छु ।’
यता मधेश अधिकार संघर्ष समिति (मास) जनकपुरधामका संयोजक सरोज मिश्राले केपी ओलीलाई मात्र होइन काँग्रेस–एमाले–माओवादीका मधेशबाट जितेका सभासद्हरुलाई आफ्नो क्षेत्रमा आएर देखाई दिनसमेत चुनौति दिए । मिश्रले हुलाकी न्यूजसँग भने,‘म केपी ओली, प्रचण्ड र सुशील कोइरालालाई चुनौति दिन्छु मधेशमा खुट्टा टेकेर देखाउन । युवा संघ जस्ता दस्ताले मधेशमा हिंसा भड्काउने काम गरिरहेको छ । उनीहरु मधेश त कब्जा गर्न सक्दैन बरु सुरक्षित भएर फर्किने छैन ।’
मिश्रले आफुहरु हिंसाको पक्षमा नरहे पनि सर्वोच्चले गोली नचलाउन आदेश दिएलगतै मधेशीहरु मारिएको भन्दै राज्यले हिंसा चाहेको दाबी गरे । साभार :हुलाकी न्यूज


