कतै भारतीय च्यानल त कतै नेपाली च्यानल बन्द : मधेशमा किन हुँदैछ उल्टो प्रतिक्रिया ?
Advertise Here Book Now
केबल टेलिभिजन अपरेटरहरुको राष्ट्रिय संस्थाले भारतीय टेलिभिजन संस्था बन्द गर्ने निर्देशन दिए पनि त्यसको असर तराई मधेशका जिल्लामा आंशिक रुपमा परेको छ ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केबल टेलिभिजन महासंघ, डिसहोम प्रालि र सिम्पल मिडिया प्रालिले भारतीय टेलिभिजनको प्रसारण मुलुकभरि नै रोक्ने निर्णय गरेलगत्तै राजधानीसहित पहाडका जिल्लामा हिन्दी भाषाका टेलिभिजनहरुको प्रसारण रोकिएको थियो ।
सञ्चारमन्त्रीले केबल टेलिभिजन अपरेटर संस्थाहरुलाई स्पष्टीकरण सोधेपछि विवाद बढेको छ । यस विषयमा विभिन्न कोणबाट प्रश्न उठेको छ र यस्तो निर्णयले अन्धराष्ट्रवादतिर धकेल्ने त होइन भन्ने आलोचना पनि हुन थालेको छ ।
भारतीय टेलिभिजनको प्रसारण बन्द गर्ने निर्णय पहाडमा एक दिन लागू भएको छ भने आन्दोलनरत तराई मधेशका जिल्लामा त्यस निर्णयको कार्यान्वयन आंशिक रुपमा मात्रै भएको ती जिल्लाबाट जानकारी प्राप्त भएको छ ।
भारतको विरुद्धमा पहाडमा ‘गो अफ इन्डिया’ भन्ने विरोध अभियान चलेजस्तै धनुषाकै छिमेकी जिल्ला महोत्तरीमा भने ‘वेलकम इन्डिया’ भन्ने अभियानै चलेको छ । कतिसम्म भने त्यसको पक्षमा नारा र जुलुस नै निकालिएको छ । यस्तो अवस्थामा भारतीय टेलिभिजन बन्द गरिने कुरै आउँदैन ।
तराईको पूर्वी जिल्ला झापामा भारतीय टेलिभिजनको प्रसारण रोकिएको छ भने मोरङको विराटनगर र सुनसरीको सदरमुकाम इनरुवालगायतका दक्षिणी सहरहरुमा हिन्दी टेलिभिजनका प्रसारण यथावत् छ ।
केबल टेलिभिजन अपरेटरहरुले गरेको निर्णयलगत्तै सोमबार विराटनगरमा केही समय भारतीय टेलिभिजनको प्रसार रोकिए पनि सोमबार साँझदेखि नै सुचारु गरिएको विराटनगरका पत्रकार जितेन्द्र ठाकुरले बताए ।
यस्तै, सुनसरीका पत्रकार फुलचन्द्र मेहताले केबल अपरेटरहरुले गरेको निर्णयबाट सुनसरीको सदरमुकाम इनरुवा र दुहबीलगायतका दक्षिणी सहरमा कुनै असर नपरेको जानकारी दिए ।
सप्तरी र सिरहा जिल्लामा पनि भारतीय टेलिभिजन प्रसारण निर्वाध रुपमा संचालनमा छ । सप्तरीका पत्रकार श्यामसुन्दर यादव र सिरहाबाट एउटा राष्ट्रिय दैनिकका लागि काम गर्ने पत्रकारले दिएको जानकारीअनुसार मधेशी समुदायको अत्यधिक बहुलता र सम्पूर्ण जिल्ला नै आन्दोलित रहेको अवस्थामा भारतीय टेलिभिजन रोक्ने निर्णयको ती दुई जिल्लामा कुनै असर परेको छैन ।
धनुषा र महोत्तरी जिल्लामा पनि भारतीय टेलिभिजनको प्रसारण अवरुद्ध गरिएको छैन । जनकपुरबाट प्रकाशित जनकपुर टुडे दैनिकका पत्रकार लक्ष्मण यादवका अनुसार डेढ महिनादेखि जारी मधेश आन्दोलनमा भारतले समर्थन र सद्भाव देखाएकोले भारतीय टेलिभिजनको प्रसारणको रोकबारे भिन्न प्रतिक्रिया देखिएको छ । त्यहाँ भारतीय टेलिभिजनको प्रसारण रोक लगाइएको विरोधमा ठूलो जनमत तयार भएको देखिन्छ ।
पश्चिम तराई प्रमुख सहर नेपालगञ्जमा भारतीय टेलिभिजनको प्रसारण निर्वाध रुपमा चालू छ । बुधबार साँझसम्म भारतीय टेलिभिजनको प्रसारण यथावत् रहे पनि प्रसारणमा रोक लगाउन पहाडी समुदायको दबाब बढिरहेकोले भोलि के हुन्छ भन्ने विषयमा भन्ने नसकिने अवस्था छ ।
कुनै पनि क्रियाको प्रतिक्रिया हुन्छ भनेझैं भारतीय टेलिभिजनको प्रसारणमा रोककै पनि उल्टो प्रतिक्रिया भएको पनि छ । ‘भारतको विरुद्धमा पहाडमा ‘गो अफ इन्डिया’ भन्ने विरोध अभियान चलेजस्तै धनुषाकै छिमेकी जिल्ला महोत्तरीमा भने ‘वेलकम इन्डिया’ भन्ने अभियानै चलेको छ । कतिसम्म भने त्यसको पक्षमा नारा र जुलुस नै निकालिएको छ । यस्तो अवस्थामा भारतीय टेलिभिजन बन्द गरिने कुरै आउँदैन ।’ पत्रकार यादवले बताए ।
यस्तै, सर्लाहीको सदरमुकाम मलंगवा र रौतहटको सदरमुकाम गौरलगायतका दक्षिणी भेगमा भारतीय टेलिभिजन बन्द गर्ने निर्णयको कुनै प्रभाव नपरेको गौरमा अवस्थित एफएममा कार्यरत पत्रकारले बताए ।
उनका अनुसार मधेशका सम्पूर्ण जनता नै आन्दोलित भइरहेको अवस्था र आन्दोलनकारीको दबाबको कारण स्थानीय केबल अपरेटरहरुले भारतीय टेलिभिजनको प्रसारण रोक्ने आँट गर्न सकेका छैनन् ।
गौरमै बुधबार बसेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले भारतीय टेलिभिजनको प्रसारणमा रोक लगाउने निर्णयको विरोध गरेको छ । मधेशी मोर्चाको बैठकले कम्तीमा तराई मधेशका जिल्लामा भारतीय टेलिभिजनको प्रसारण नरोक्न मधेशका स्थानीय केबल अपरेटरहरुलाई आग्रह गरेको छ ।
सर्लाहीका एक जना केबल अपरेटरले आफूहरु पनि मधेश आन्दोलनमा लागेको र यो आन्दोलनलाई भारतले खुलेरै समर्थन गरेकोले भारतीय टेलिभिजनको प्रसारण बन्द गर्ने विषयमा सोच्न पनि नसकिने बताए ।
यस्तै, बारा जिल्लाको सदरमुकाम कलैयासहितका दक्षिणी भेगमा भारतीय टेलिभिजनको प्रसारण सुचारु छ भने उत्तरी भेगमा पर्ने सिमरामा रोक लगाइएको छ ।
त्यस्तै, पर्सा जिल्लामा भारतीय टेलिभिजनको प्रसारण रोक्ने निर्णय कार्यान्वयन गरिएको छैन भने त्यस निर्णयको विरोधमा नेपाली भाषाका टेलिभिजनहरुको प्रसारणमा बन्द गरिएको छ । वीरगञ्जका केबल अपरेटर अशोक सर्राफले मधेशी आन्दोलनकारीको दबाबका कारण नेपाली भाषाका टेलिभिजनको प्रसारण रोक्न बाध्य भएको बताए ।
यस्तै, पत्रकार सलमान खानका अनुसार रुपन्देहीको भैरहवा र बुटवलमा भने भारतीय टेलिभिजनको प्रसारणमा रोक लगाइएको छ । भैरहवा मधेशी आन्दोलनकारीको प्रभाव क्षेत्र रहे पनि केबल अपरेटर गैरमधेशी समुदायका रहेकाले भारतीय टेलिभिजनको प्रसारण रोकिएको छ । भारतीय टेलिभिजनको प्रसारण रोक्ने स्थानीय केबल अपरेटरको निर्णयले मधेशी मोर्चाका आन्दोलनकारी रिसाएको र अवरुद्ध प्रसारण फुकुवा गर्न दबाब दिइरहेको पत्रकार खानले बताए ।
यस्तै, पश्चिम तराई प्रमुख सहर नेपालगञ्जमा भारतीय टेलिभिजनको प्रसारण निर्वाध रुपमा चालू छ । बुधबार साँझसम्म भारतीय टेलिभिजनको प्रसारण यथावत् रहे पनि प्रसारणमा रोक लगाउन पहाडी समुदायको दबाब बढिरहेकोले भोलि के हुन्छ भन्ने विषयमा भन्ने नसकिने स्थानीय पत्रकार आलम खानले जानकारी दिए ।

