भगवान् पुकार्दै गाडी चलाउँदै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /लहान-भदौ १५ गते बिहान ५ः३० बजे । ना४ख ६६९० नम्बरको मालबाहक ट्रक प्रहरी एस्कर्टिङमा पश्चिम आउँदै थियो । सप्तरीको भारदह कटेर पोर्ताहा लाग्नेबित्तिकै ढुंगा बर्सियो । पर्शुराम प्रजाको टाउको लाग्यो । उनले ट्रकमाथिको नियन्त्रण गुमाए । ट्रक दुई सय मिटर दक्षिण खेतमा जोतियो ।
'कोसी ब्यारेज पार गरेपछि भारदह गाउँ कति बेला पार हुन्छ भनेर डराइरहेका बेला अचानक ढुंगाको वर्षा सुरु भयो,' हेटौंडा–७ घर भएका चालक प्रजाले सुनाए, 'ढुंगाले सिसा फुटाएर मेरो टाउकोमा लाग्यो । धन्य, बाँचेछु ।'

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सो ट्रकमाथि ढुंगा प्रहार गरेका थिए । 'अहिले पनि भारदहदेखि सिरहाको मिर्चैयासम्म भगवान् पुकार्दै गाडी चलाउनुपर्ने अवस्था छ,' उनले भने ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आमहडतालका कारण अलपत्र पर्ने गाडीहरूलाई आउजाउनिम्ति प्रहरीले एस्कर्टिङ गरिदिन्छ । तर, एस्कर्टिङकै बेला पनि आन्दोलनकारीले ढुंगामुढा गर्ने भएकाले पूर्व–पश्चिम राजमार्गमा प्रजाझैं चालकहरू जोखिममा गाडी चलाउन बाध्य छन् ।

पूर्वपश्चिम राजमार्गको सुनसरी झुम्कादेखि महोत्तरीको बर्दीवाससम्मको खण्डलाई यस क्षेत्रका प्रहरी अधिकारीले संवेदनशीलको सूचीमा राखेका छन् । यस खण्डमा आउजाउ गर्ने सवारी साधन निर्धक्क गन्तव्यमा पुग्न पाउँदैनन् ।

आन्दोलनकारीको आक्रमणबाट सवारी साधन र यात्रुलाई सकुशल गन्तव्य पुर्याउन सुरक्षाकर्मीले एस्कर्टिङ गरे पनि गाडीका सिसा जोगिँदैन । लुकेर बसेका आन्दोलनकारीले सुरक्षा एस्कर्टिङका बीचमा रहेका यात्रुवाहक बसलाई लक्षित गरी ढुंगा बर्साउँछन् जसका कारण चालकदेखि यात्रुसम्म बसको फुटेको सिसाले घोचेर र सिसा छेडेर आएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।

आन्दोलनकारीले हानेको ढुंगाबाट बढी क्षति बसलाई हुने गरेको सुरक्षाकर्मीहरू बताउँछन् । 'बसको संख्या पनि धेरै, सिसा पनि बढी हुने भएकाले जोखिम बसका यात्रुलाई नै हुन्छ,' एक प्रहरी अधिकारी भन्छन्, 'एउटा बस चालकको हातमा करिब ४० जना यात्रुको ज्यान हुन्छ ।'

आन्दोलनकारीले हानेको ढुंगा टाउकोमा नलागोस् भनेर चालकहरू हेलमेट लगाउने गरेका छन् । मोटरसाइकल चालकले लगाउने हेलमेट बस, ट्रक, जिप, कारका चालक र बसका यात्रुले लगाउने गरेका छन् ।

यो राजगमार्गमा चल्ने अघिकांश बसमा अगाडिको सिसा बन्दकर्ताले प्रहार गरेको ढुंगाबाट फुटेका छन् ।

'आन्दोलनकारीले हानेको ढुंगा कतिबेला सिसा छेडेर टाउकोमा बजारिने हो पत्तो हुँदैन, त्यसैले सुरक्षाका लागि हेलमेट नलगाई हुँदैन,' यती बसका चालक नन्द श्रेष्ठ भन्छन्, 'सिरहाको मिर्चैया र सप्तरीको भारदह, कञ्चनपुर क्षेत्रमा बढी डर लाग्छ ।'

'संवेदनशील' क्षेत्रमा गाडी पुग्नेबित्तिकै चालकदेखि यात्रुसम्ममा मनोवैज्ञानीक भय पैदा हुन्छ । त्यसले कतिपय यात्रु पनि हेल्मेट लगाउँछन्, हेलमेट नहुनेहरू सतर्क भएर बस्छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्