मधेश आन्दोलनमा पहाडीको समर्थन
Advertise Here Book Now

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, २२ आश्विन । सिन्धुलीका अनिल कार्की विगत दुई महिनादेखि चलिरहेको मधेश आन्दोलनका प्रत्यक्षदर्शी हुन् । उनी भन्छन्, “मधेशी जनताले लामो समयदेखि अधिकार प्राप्तिको लडाइँ लड्दै आइरहेका छन् । अफसोस, हालसम्म उनीहरुको यो अधिकार प्राप्तिको लडाइँले सार्थकता पाउन सकिरहेको छैन । विगतमा भएका थुप्रै ठूला–साना मधेश आन्दोलनको बलमा कयौं नेताजी हरुलाई सत्तामा पुर्यायो, तर जनताले केवल खोक्रो आश्वासन बाहेक केही पाउन सकेनन् । त्यसैले नेताहरुले मधेशी जनताको भावनासँग खेलेर आफ्नो स्वार्थ मात्र पुर्ती गर्ने गर्दछन भन्ने छाप जनतामा पर्नगयो र उनीहरुप्रति जनविश्वास न्यून बन्दै गयो ।”

कार्की अगाडि भन्छन्, “क्षेत्रीय दलहरूप्रति यस्तै प्रवृत्ति हावी बन्दै गएका कारण नै हुनुपर्छ, दोस्रो संविधानसभा निर्वाचनमा मधेशी जनताले कांग्रेस–एमालेलगायत दलहरुलाई आफ्नो भावना समेटिने विश्वासका साथ अत्यधिक मतले विजयी गराएर पठाए । यतिसम्म की नेपालका प्रमुख नेतामध्येका एक प्रचण्ड, जो पहाडी मुलका हुन्, तिनलाई पुर्ण विश्वासका साथ विजयी बनाएर पठाए । बदलमा उनीहरुले जनतालाई के दिए ? भोट माग्न जाँदा गरेको वाचा कति पुरा गरे कति गरेनन् ?”
जारी मधेश आन्दोलनलाई विश्लेषण गर्दै कार्की अगाडि भन्छन्, “मलाई लाग्छ जनताले यसको समिक्षा पक्कै गरिसके । संविधानले सबैभन्दा बढी मधेशी जनताको भावना समेटेको बताइरहेका प्रचण्ड लगायतका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर किन भनिरहेका छैनन् कि यो संविधानमार्फत तपाईहरुलाई अधिकार दिलाएका छौँ भनेर । लामो समयदेखि मधेश जलिरहँदा राजधानीमा बसेर हामीले यति सिट जितेका हौं भनेर एकोहोरो छाती पिटेर मात्र बस्न मिल्छ ? आधासय जनताले ज्यान गुमाइसक्दा पनि किन काठमाडौं कानमा तेल हालेर बसिरहेको छ ? आखिर यस्तै अवस्था कहिलेसम्म रहने हो ? पुरा गर्नै नसकिने माग यदि मधेश आन्दोलनले उठाइरहेको छ भने प्रष्ट भनिदेउ कि तिमीहरुको माग पुरा गर्न सक्दैनौ । होईन भने जनताको जायज माग तत्काल पुरा गरिनुपर्छ । हुनेखानेलाई त खासै असर नहोला तर हुँदा खाने जनताको दैनिकी दुई–दुई महिनासम्म बन्द हुँदा कस्तो भएको होला ? अलिकति विवेक खर्च गरी सोचियोस ।”
मधेशी दलहरुले उठाईरहेका मागका बारेमा कार्कीको भनाई यस्तो छ, “जहाँसम्म अहिले मधेशमा उठिरहेको एउटा मुद्दा अङ्गिकृत नागरिकलाई कार्यकारी पद दिइनुपर्छ भन्ने छ, यसमा चाहिँ म सहमत छैन र मलाई लाग्छ यो मुद्दासँग बहुसंख्यक मधेशी जनता नै सहमत छैनन् । मुलुककै आधा जनसंख्या भएको मधेशमा शासन गर्न प्रसस्तै योग्य मधेशी नेताहरू हुनुहुन्छ । अङ्गिकृत नागरिकको जरुरी छैन भन्ने मेरो ब्यक्तिगत बुझाइ हो र यस्तो चलन अन्य देशहरूमा पनि भएको पाइदैन । यसबाहेक मधेशी जनताले उठाएका अन्य मागहरुप्रति मेरो पुर्ण समर्थन छ । हिजो जुन भावनाले भूकम्पमा मधेशी जनताले पहाडलाई हेरे, आज पहाडी जनताले पनि त्यहि भावनाले मधेशलाई हेर्नुपर्दछ, मधेश, हिमाल, पहाड सबैले नेपाल आमा मेरी आमा हुन् भन्न पाउनु पर्दछ, अनि पो हुन्छ सबल र समृद्ध नेपाल र मजबुत राष्ट्रियता ।”
आन्दोलन सशक्त बनाउन हामी पनि लड्छौं
टंक प्रसाद उपाध्याय भण्डारी
टंक प्रसाद उपाध्याय भण्डारी
मधेश आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका धनुषा महेन्द्रनगरका टंक प्रसाद उपाध्याय भण्डारी भन्छन्, “मधेशमा जारी आन्दोलन आज ५४ औं दिनमा पुगेको छ । आन्दोलनप्रति यी खसवादी सरकारले केही चासो दिएको छैन । तसर्थ अब यस आन्दोलनमा मधेशी मात्र होइन, मधेशमा बसेको पहाडी समुदाय पनि चुप लागेर बस्न सक्दैन । किनभने हामी हाम्रो पुर्खाहरु बर्षौंदेखि मधेशमा बस्दै आईराखेका छांै र मलाई लाग्छ हाम्रो जीवन पनि मधेशमै बित्छ । त्यही भएर यो मधेशको अधिकारको आन्दोलन हो । यसले मात्रै मधेशीले अधिकार पाउँदैन, मधेशमा बस्ने पहाडीले पनि पाउँछन् । यो आन्दोलन उत्कर्षमा पुगिसकेको छ । जबसम्म हाम्रा मधेशी दाजुभाईले हकअधिकार पाउँदैन, तबसम्म यो आन्दोलनलाई थप सशक्त बनाउन हामीले पनि लड्नुपर्छ, यो खसवादी सरकारबिरुद्ध । आन्दोलनको सुरुवातमा पनि मेरै नेतृत्वमा धोती र्याली, मसाल जुलुसलगायतका प्रदर्शनहरु भएको थियो । म सँधैदेखि खसवादीहरुको बिरोधमा छु र जबसम्म भेदभाव अन्त्य हुँदैन, तबसम्म मधेशी दाजुभाईको लागि लड्नेछु ।”हामीलाई पहिले मधेश कि पहाड ?
खगेन्द्र प्रसाद पोखरेल
खगेन्द्र प्रसाद पोखरेल
महेन्द्रनगरकै खगेन्द्र प्रसाद पोखरेलको भनाई यस्तो छ, “पहाडमा बस्ने मधेशी पनि पहाडी सरह नै हुन्छन् र मधेशमा बस्ने पहाडी पनि मधेशी सरह नै हुन्छन् । हामी मधेशमा बस्छौं । हामीलाई केही भए मधेशीले नै जस्तो पनि सहयोग गर्छन् । त हामी के बुझ्ने ? म पहाडी कि मधेशी ? हामीलाई पहाडी बुझेपनि वा जे बुझेपनि यो आन्दोलनमा हामी मधेशीको साथ छौं र मधेशीको हकअधिकारको लागि भईरहेको आन्दोलनमा हामी ज्यान दिन पनि पछि हट्दैनौ । हामीलाई पहिले मधेश कि पहाड ? त्यसैले पहिले हामी जहाँ बसेका छौं, त्यो ठाउँ बनाउनुपर्छ, त्यसपछि देश । पहिले आफ्नो घर बलियो बनाउनुपर्छ अनि अगाडि बढनुपर्छ ।”




म जहाँ बस्छु मलाई त्यही प्यारो छ
विषण श्रेष्ठ
विषण श्रेष्ठ
महेन्द्रनगरका बिषण श्रेष्ठको धारणा यस्तो छ, “एउटा कहाबत छ कि जुन थालमा खान्छ त्यो थालमा कदापि छेद गर्नु हुँदैन । त्यस्तै हामी जहाँ जन्मियौं, जहाँ हुर्कियौं पहिले त्यहाँको हेर्नुपर्छ । मधेशीले केही गलत माँगेको छैन । म मधेशमा बस्छु, पहाडी भएपनि हामीलाई यस्तो लागेको छैन कि म मधेशमा बसेको छु । धेरै सुन्छु धेरै हेर्छु कि मधेशबाट मधेशीहरु काठमाडौं जाँदा उनीहरुलाई धोती भन्छन् । बिहारी भन्छन् । भैया भनेर अपमान गर्छन् । हामी मधेशमा बसेर हामीलाई यस्तो केही अनुभव भएको छैन कि तिमि पहाडे छौ । म जहाँ बस्छु मलाई त्यहि नै प्यारो छ र जुन अहिले मधेशमा आन्दोलन भईरहेको छ त्यो कुनै नाजायज मागको लागि होइन । जायज मागको लागि भईरहेको छ । त्यसैले यो आन्दोलनमा अब मधेशी हैन हाम्रो समुदाय पनि मधेशको लागि लड्न तयार छ ।”
 ढाका टोपी दाउरा सुरुवाल लगाएर मात्र नेपाली हुँदैन
सुदर्शन पोखरेल
सुदर्शन पोखरेल
महेन्द्रनगरका सुदर्शन पोखरेल भन्छन्, “म, हामी र मेरो पुर्खा पनि मधेशमा बस्दै आइरहेको छ । मेरो पनि बुढेसकाल भयो । मेरो लागि यो मधेश नै प्यारो छ । पहाडमा बस्ने पहाडीले यो जायज मागका लागि भएको आन्दोलनको बिरोध गरे पनि म, हामी र मधेशमा बस्ने हाम्रो सम्पुर्ण पहाडी दाजुभाईले सहयोग गरेका छन् र गर्छन भने मलाई आशा छ । कतिपयले गर्दैन होला, त्यो पनि त्यहि खसवादी पहाडी सोच भएको होला । जो आफ्नै स्वार्थ चाहन्छन् र एक नेपाली मधेशमा बस्छन, त्यसलाई बिहारी, धोती र भैया भनेर अपमान गर्छन् । मेरो फोटो हेर्दा मलाई ढाका टोपी लगाएर पहाडी खसवादीको बिरोध गरेको हो भन्छ । गाली गर्छन् । अपशब्द प्रयोग गर्दै यो पनि मधेशमा बसेर धोती, भैया भयो भन्छन् । त्यसलाई म के भन्न चाहन्छु भने ढाका टोपी, दाउरा सुरुवाल लगाएर र नेपाली मात्र बोलेर नेपाली हुन सक्दैन । यो मन नेपाली हुनुपर्छ ।”

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्