‘मधेसी जनता भन्छन्–नुनमा रोटी चोबेर खाँदै छौं, त्यो पनि नपाइने भो’
Advertise Here Book Now

महेन्द्रनगर (धनुषा) कात्तिक  २४  । तराइमा जारी बँद हड्तालको कारण दैनिक राजगारी गरेर खाने परिवारको दैनिकी चौपट भएको छ ।
रिक्सा, ठेलालगायतका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धेरै दिनदेखि पेटभरी खान नपाएको गुनासो गर्दै भन्छन्–‘“नुनमा रोटी चोबेर खाँदै छौं, त्यो पनि नपाइने भो” रिक्सा चालक लालबाबुु महराले भने ।
जनकपुर–४ का रिक्सा मजदुर  महराले ८८ दिनदेखि रिक्सा लिएर चोकचोक चहारे पनि यात्रु नपाएको गुनासो गरे । “पन्ध्र वर्ष भो रिक्सा चलाएको, यस्तो दुःख कहिल्यै पाएको थिइनँ,” उनले भने– “अहिले बन्दले गर्दा त हामीलाई दशाले घेरेझैं भएकाे छ ।”
मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ ।

बन्दका कारण बजारभाउ आकासिएको छ । सुरुसुरुका दिन मजदुरले ऋण पैँचो गरेर पनि परिवारलाई खुवाए । तर बन्द हड्ताल खुल्ने संभावना नभएकोले मजदुरको हालत चौपट भएको मजदुर बताउँछन् ।

क्षीरेश्वर नगरपालिका– ५ महेन्द्रनगरका ठेला चालक चौठी साहले लगातारको बन्दले रोजगारी गुमेको गुनासो गर्दै भने– आठ जनाको परिवार पाल्नै कठिन भयो । “नेताहरुको कामै आन्दोलन गर्ने हो, माग पूरा गराउँछन्, अर्कोतिर हिँड्छन्, हामीजस्ता निमुखा जनताको जीवनयापन भने खस्किदै गएको छ ।” सुरुका ८–१० दिन ऋण गरेर धानिए पनि बन्द लम्बिदा खाना जुटाउनै गाह्रो भएको उनले बताए ।

बन्द हड्ताल खुल्ने छाँटकाँट नदेखिँदा धनुषासहित सम्पूर्ण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । दसैं यस्तै बन्दमा बित्यो । तिहार र छठ पर्व ढोकामै आइपुगेको बेला पनि बन्द नखुल्दा जनता निकै निराश भएका छन् । मधेसी मोर्चाले ४८ दिनदेखि भन्सार नाकामा दिएको धर्ना र भारतको अघोषित नाकाबन्दीले उपभोग्य वस्तु अभाव हुँदा यहाँको जनजीवन पूर्णरुपले प्रभावित बनेको छ ।

बन्दको अवधि बढ्दै जाँदा र भन्सार नाका ठप्प भएपछि बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य समानको अभावसँगै मूल्य आकासिएको छ । अनिश्चितकालिन बन्द, हड्ताल र निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले पिरोलिएका उपभोक्ताले अनावश्यक भण्डारण गर्न थालेकाले समेत अभाव झनै बढेको छ ।

घरमा खाना पकाउने ग्यास सकिएपछि भुसमा पकाउन सुरु गरेको महेन्द्रनगर– ६ की रितादेवी यादवले बताउनुभयो । “एक महिनादेखि भुसको चुलोमा खाना पकाउँदै आएकी छु” उहाँले भन्नुभयो ।

बिरामीलाई चाहिने औषधि र अक्सिजनको समेत अभाव भएको छ । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार महोत्तरी, सर्लाही, सिन्धुली, धनुषा, रामेछाप र दोलखामा औषधिको चरम अभाव हुनथालेको छ । “बिरामी निकै मारमा परेका छन्” उनले भने– ‘रक्तचाप, मधुमेह र मुटुका बिरामीले नियमित रुपमा प्रयोग गुर्नपर्ने औषधिको अभाव भएको छ ।’

Advertisement

बन्दको उद्देश्य र राजनीतिसँग कुनै सम्बन्ध नरहेका मिथिला नगरपालिका– ५ ढल्केवरका ठेलाचालक श्रीनारायण मण्डल र छोरा हरिनारायण मण्डल पनि निराश छन् । बाबुछोरा मिलेर १४ जनाको परिवार धान्नु छ । बन्दको शृङ्खला सुरु भएपछि उनीहरू एकछाक मात्र खान थालेका छन् । “अब अति भयो, बन्दकर्ताले हामी जस्ताको बारेमा पनि ध्यान दिनुप¥र्यो” मण्डलले भने ।

जनकपुरमा करिब ५०० रिक्सा मजदुर छन् । बन्दपछि उनीहरू सबै मारमा छन् । बन्दले विपन्न वर्गलाई बढी सास्ती दिएकाले माग पूरा गराउने वैकल्पिक उपाय खोज्न उनीहरूले प्रदर्शनकारीलाई अनुरोध गरेका छन् ।

सबैको एउटै प्रश्न छ, ‘आखिर यो बन्द कहिले खुल्छ ?’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्